असुरक्षित गर्भपतनले महिलाको स्वास्थ्य कमजोर

केही शर्त राखेर १२ हप्तासम्मको गर्भपतनलाई कानूनीरुपमा मान्यता दिएपछि यस्तो सेवालाई परिवार नियोजनको विकल्पका रुपमा प्रयोग गर्ने प्रचलन बढिरहेको छ ।
अफ्ठ्यारा परिस्थितिमा महिला अधिकारलाई प्रवद्र्धन गर्न सरकारले यस्तो सुविधा दिएको विज्ञहरुले बताए पनि परिवार नियोजनका साधनहरु प्रयोग नगरी विकल्पमा गर्भपतनलाई रोज्न थालिएको पाइएको छ ।
सुरक्षित गर्भपतन सेवा लिन आउने महिलाले श्रीमानका कारण परिवार नियोजनका साधन प्रयोग गर्न नसक्दा अन्तिममा आएर गर्भपतन गर्न बाध्य भएको बताउने गरेको धनगढीस्थित सेती अञ्चल अस्पतालका स्वाथ्यकर्मीहरुले बताएका छन् । सेती अञ्चल अस्पतालको सुरक्षित गर्भपतन सेवामा विगत दश वर्षदेखि कार्यरत सिनियर स्टाप नर्स भगवती बडालका अनुसार नचाहँदा नचाहँदै गर्भ बसेका महिला गर्भपतन गर्न आउने गरेका छन् । परिवार नियोजनका साधनको बारेमा जानकारी नपाएर गर्भ रहेनेको संख्या थोरै भएपनि थाहा पाएर पनि प्रयोग नगरेका कारण गर्भ रहेर गर्भपतन गर्न आउनेको संख्या बढी रहेको उहाँले बताउनुभयो ।
सेती अञ्चल अस्पतालमा ६ देखि १० हप्ताको गर्भपतन गर्न आउनेको संख्या बढी छ । बडालका अनुसार दुर्गम क्षेत्रबाट आउने महिलाहरु १२ हप्तासम्मको गर्भपतन गर्न आउने गरेका छन् । गर्भपतनसँगै परिवार नियोजनका साधनको बारेको जानकारी दिन खोज्दा श्रीमानले मान्नुहुन्न भन्ने गरेको बडालले बताउनुभयो । एक पटक श्रीमानलाई नसोधेरै नरप्लान्ट राखेकी एक महिलाले श्रीमानले थाहा पाएपछि एक हप्तामै झिक्न लगाएको अनुभव सुनाउँदै स्वास्थ्यकर्मी बडालले भन्नुभयो–‘परिवार नियोजनका साधनको प्रयोग बारे पनि चेतना बढाउन आवश्यक छ ।’
गर्भपतनलाई परिवार नियोजनको विकल्पका रुपमा अपनाउँदा प्रजनन् स्वास्थ्यमा गम्भीर समस्या देखा पर्ने वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. गणेशवहादुर सिंहले बताउनुभयो । महिलाहरु त्यसैपनि तनावमा हुने भएकोले पुरुषको दबाबका कारण गर्भपतनलाई परिवार नियोजनको विकल्पमा अपनाउँदा उनीहरुमा मानसिक समस्या देखिन सक्ने पनि उहाँको भनाई छ । जसका कारण शारीरिक रुपमा पनि रगत धेरै बग्ने, सेतो पानी बग्नेसँगै पछि गर्भ नरहने सम्मका समस्या देखिने गरेको चिकित्सकहरु बताउँछन ।
सन्तानको रहर पुगिसकेका र थप सन्तान जन्माउन नचाहने महिलाहरुले सुरक्षित गर्भपतन सेवा लिने गरेका छन् । गर्भमा रहेको बच्चाका कारण आमाको ज्यान जोखिममा पर्ने अवस्था, अपाङ्गगता भएको बच्चा जन्मिने अवस्थामा र अनइच्छित गर्भधारण भएमा १२ हप्तासम्मको गर्भपतन गर्न सकिने कानूनी व्यवस्था छ । यसबाहेक हाडनाता करणी र जबर्जस्ती करणीबाट रहन गएको गर्भ पनि १२ हप्तासम्मको अवधिमा गर्भपतन गर्न पाइने कानूनी व्यवस्था छ । विशेष परिस्थितिमा मात्रै तालिम प्राप्त चिकित्सकबाट १६ वा १८ हप्तासम्म अवधिको गर्भपतन समेत गरिन्छ ।
गर्भपतनलाई परिवार नियोजनको विकल्प नबउनाउन पुरुषहरुलाई नै चेतना दिनुपर्ने र महिलाको शरीरमा महिलाकै हक स्थापित गर्नेतर्फ पहल हुनुपर्ने स्वास्थ्य अधिकारकर्मी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here