थारु गाउँमा भलमन्सा चयनको चटारो

माघी पर्वपछि थारु समुदायमा नेतृत्वकर्ता चयनको चटारो चलेको छ । कैलाली लगायतको जिल्लामा गाउँको भलमन्सा (बडघर), अघरिया, चिरकिया (चौकीदार), गाउँ गुरुवा, गाउँ सचिव चयनको कार्य धमाधम थालिएको हो ।
भलमन्साको नेतृत्वमा रहने गाउँका अगुवाको यो टिमले एक वर्षसम्म आफ्नो गाउँमा नेतृत्व गर्न पाउँछ । गाउँघरमा काम गरेको मूल्याङ्कनको आधारमा एक वर्षपछि पुनः पुरानै टिमलाई नेतृत्वको जिम्मा दिने वा नयाँ चयन गर्ने सम्पूर्ण अधिकार गाउँको भेलाबाट गर्ने गरिन्छ । नेतृत्व चयनका लागि थारु समुदायमा हुने यस प्रकारको भेलालाई ‘माघी डेवानी वा भुरा खेल’ भन्ने गरिन्छ ।


माघी डेवानीमा गाउँको नेतृत्व गर्नका लागि अघिल्लो वर्ष चयन भएका हरेक व्यक्तिको कामको समीक्षा, वर्षभरीको हरहिसाबको बारेमा सोधीखोजी गर्ने परम्परा थारु समुदायमा रहेको छ । त्यसपछि काम र पारदर्शिताको आधारमा पुरानै नेतृत्वकर्तालाई अनुमोदन गर्ने वा नयाँ चयन गर्ने निक्र्योल हुने गरेको थारु कल्याणकारिणी सभा कैलालीका पूर्व सभापति प्रभातकुमार चौधरी बताउनुहुन्छ ।
‘यदि, भलमन्सा सहित उहाँको टिमले राम्रो काम गरेको छ र वर्षभरिको हरहिसाब चुस्तदुरुस्त छ भने त्यहि टिमलाई नै गाउँवासीले अनुमोदन गर्न सक्छन्’, उहाँले भन्नुभयो–‘तर, काम चित्त बुझेन भने नयाँलाई पालो दिने गरिन्छ ।’ भलमन्सासहित गाउँको नेतृत्वकर्ता चयनको सम्पूर्ण अधिकार गाउँवासीको भेलालाई हुने गरेको चौधरीले सुनाउनुभयो ।
माघी पर्वको अन्तिम दिनबाट थारु समुदायमा नेतृत्व चयनको कार्य थालनी हुने गरेको छ । यसैक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १४ सी गाउँवासीको भेलाले पुरानै भलमन्सा छेदुराम चौधरीसहित उहाँको टिमलाई थप एक वर्ष काम गर्नका लागि अनुमोदन गरेको छ । यसअघि, उहाँले १० वर्षसम्म गाउँको नेतृत्व गरिसकेको जनाइएको छ ।
यस्तै, कैलारी गाउँपालिका वडा नम्बर ३ लालपुरका स्थानीयले भलमन्सा जगदीश चौधरीलाई फेरी पनि गाउँको नेतृत्व गर्ने अवसर प्रदान गरेका छन् । उहाँ १२ वर्षदेखि लगातार यो जिम्मेवारी बहन गर्दै आउनु भएको छ । तर, उहाँको टिममा रहने केहि पदाधिकारी भने फेरिएको स्थानीय बुद्धिजिवी मणिप्रसाद चौधरीले जानकारी दिनुभयो ।
‘उहाँले गाउँमा राम्रो काम गर्दै आएकाले फेरी पनि जिम्मेवारी सुम्पिएको छ’, चौधरीले भन्नुभयो–‘यद्यपि, उहाँको टिममा केही नयाँ अनुहारले पनि यो वर्ष काम गर्ने अवसर पाएका छन् ।’
लालपुरको गाउँभेलाले पुरानो अघरिया बिन्तीराम चौधरीलाई विदाई गरी मङ्गल चौधरीलाई जिम्मेवारी सुम्पेको छ । त्यसैगरी, गोदावरी नगरपालिका वडा नम्बर ८ फकलपुरमा फुलराम चौधरी, धनगढी उपमहानगरपालिका–९ बङ्गरा गाउँमा गोपीलाल चौधरी, गोदावरी नगरपालिका–८ मजगाउँमा खडक चौधरी, मजगाउँ कटानमा छटकबहादुर चौधरी भलमन्सामा चयन हुनु भएको छ ।
भलमन्सा लगायतका गाउँको नेतृत्व चयन गर्ने कार्य माघ महिना भरी हुने गर्दछ । गाउँवासीले आ–आफ्नो अनुकूलको उपयुक्त समयमा गाउँको नेतृत्व चयनको कार्य गर्ने गरेको जनाइएको छ । भलमन्साले गाउँमा बाटोघाटो, पानी पँधेरो निर्माण, विभिन्न सार्वजनिक संरचना निर्माण लगायत विकासका कार्यदेखि झैझगडा हुँदा मिलाउने, खेतीपाती, कुलोका सीमा साँध छुट्टयाउने, विवाह, मर्दापर्दाको बेला अगुवाको भूमिका निर्वाह गर्ने लगायतको कार्य गर्दै आएका छन् ।


यसैगरी, अघरियाले भलमन्साको सहयोगीको रुपमा जिम्मेवारी बहन गर्ने गरेका छन् । कथमकदाचित, गाउँमा भलमन्साको अनुपस्थिति भएमा अघरियाले कार्यबाहक भलमन्साको रुपमा काम गर्ने गर्दछन् । चिरकिया वा चौकीदारले गाउँमा सूचना सञ्चार गर्ने, गाउँ गुरुवाले पूजाआजा लगायतमा काम गर्ने र गाउँका सचिवले वर्षभरि गाउँको आर्थिक हरहिसाब राख्ने गरेको जनाइएको छ ।
थारु समुदायमा रहेको भलमन्सा प्रथा पूर्ण लोकतान्त्रिक अभ्यासमा चल्ने गरेको बताइन्छ । पछिल्लो समय गठित स्थानीय सरकारले पनि थारु गाउँमा विभिन्न विकासको काम गर्दा भलमन्सालाई सहयोगीको रुपमा लिने गरेको जनाइएको छ । भलमन्साले गाउँको विकास, विकास निर्माण, भोजभतेर, सामान्य घटनाको न्यायनिसाफ लगायतको काम गर्दै आएको थारु कल्याणकारिणी सभा कैलालीका कार्यबाहक सभापति माधव चौधरीले जानकारी दिनुभयो ।
‘यो पूर्ण लोकतान्त्रिक अभ्यासमा चल्ने प्रथा हो’, उहाँले भन्नुभयो–‘गाउँको विकासमा भलमन्सा र उहाँको टिमको महत्वपूर्ण भूमिका हुने गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here