दार्चुला जिल्लाको महाकाली क्षेत्र अर्थात ब्यास गाउँपालिकादेखी लेकम गाउँपालिकाको लाली सम्म सिमा वारपार गर्न स्थानीयले अझैपनि तुइन र ट्युबको जोखीमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्न सकेको छैन । बर्षैदेखी आधादर्जन स्थानमा तुइन र ट्युब राखेर दुहु, ब्यास, मालिकार्जुन र लेकम गाउँपालिका क्षेत्रका स्थानीयले दैनिक नदी वारपार गर्ने गरेका छन् ।
हाल महाकाली नदी माथि बिशेषगरी ४ स्थानमा तुइन र दुई स्थानमा ट्युबको यात्रा हुने गरेको छ । धौलाकोटको स्याकु मल्कइ, डोकटको क्युतोला, सुनसेराको बर्तीघाट र राप्लाको मालघाट क्षेत्रमा तुइन लगाएर दुहु र ब्यासका स्थानीयले सिमानदी वारपार गर्ने गरेको ब्यास गाउँपालिकाका स्थानीय सरस्वती भट्टले जानकारी दिनुभयो । बिगतमा आधादर्जन बढी स्थानमा तुइन राखेर यात्रा हुने गरेको भएपनि तिग्रममा झोलुङगे पुल र दुम्लीङमा काठेपुल निर्माण भएपछि केहि तुइन बिस्तापन भएको उहाँले बताउँनुभयो ।
धौलाकोट, हुती लगायत गाउँका स्थानीयले तिग्रम पुल भएर सहज आवागमन गरिहेका भएपनि तिग्रम भन्दा माथिको ब्यास क्षेत्रका स्थानीयले ज्यानमारा तुइनकै भर पर्नुको बिकल्प छैन, स्थानिय हरकसिह कार्कीले भन्नुभयो, नेपाल भारत जोड्ने बैकल्पीक पूलको रुपमा तुइनहरु सञ्चालनमा रहेका छन । दैनिक उपभोग्य सामाग्री ढुवानी देखी बिद्यार्थी केटाकेटी, बिरामी सबैले भगवान भरोसामा तुइनबाट जिल्ला सदरमुकाम खलंगा र भारतीय बजारसम्म आवतजावत गर्ने गरेका छन् ।
महाकालीमा तुइन र ट्युब तर्ने क्रममा नदीमा बगेर कति जनाले ज्यान गुमाए भन्ने एकिन तथ्याङक नभएपनि बर्षेनि मानिसले अकालमै मृत्युवरण गर्न बाध्य छन् । भारतसंग रोजिरोटी र रोटीबेटीको सम्बन्ध जोडीएका दार्चुला बासीले तुइनको साहारामा भारत नपुगी दैनीकि चलाउँन समेत मुस्कील हुने गरेको छ ।
नेपालतर्फ गाउँसम्म पुग्ने बाटो नहुँदा व्यासबासी भारतीय भूमि प्रयोग गर्दै जोखिमपूर्ण तुइन यात्राबाट गाउँ जानुपर्ने बाध्यता छ । दार्चुला र धारचुलाबाट गाउँसम्म सामान लैजाने बेला सिमानामा भारतीय प्रहरी बल एसएसबीले बेलाबेला दुःख दिने गरेको ब्यास गाउँपालिका वडा नम्बर ३ का स्थानीय राजेन्द्रसिंह कुँवरले गुनासो गर्नुभयो । सिमा क्षेत्रमा भारतीय प्रहरीले अपशब्द र दुव्र्यवहारसमेत गर्ने उनले स्थानीयको दुखेसो छ ।
दार्चुला सदरमुकामदेखी दुहु, ब्यास हुँदै त्रिदेशीय सीमानासम्म पुग्ने लक्ष्यकासाता एक दशक पहिले निर्माण शुरु भएको दार्चुला तिकंर सडक समयमै निर्माण नहुदा स्थानीय मात्र हैन, जनप्रतिनिधि, कर्मचारी, सासंद, मन्त्री सबै भारतको बाटो हुँदै तुइन तरेर व्यास पुग्ने गरेका छन् । चुनाबको बेला तुइन तरेर अन्तरराष्ट्यि सिमानदी महाकालीमा झोलुङगे पुल निर्माण गर्न पहल गर्ने नेताहरुको आश्वासन समेत बोलीमै सिमित हुदा स्थानीयको जोखीमपुर्ण दैनिकि फेरीन सकेको छैन् ।
तीन वर्ष अघि नेपाल सरकारको तुइन विस्थापन कार्यक्रम अन्तर्गत सस्पेन्सन व्रीज सव डिजिभन कार्याललयले महाकाली नदीमा तुइन विस्थापनको लागि भन्दै एकै पटक ८ ठाउँको लागि टेण्डर खोलेको थियो । सोही टेण्डर अनुसार तिग्रम र लालीमा पुल निर्माण सम्पन्न भएपनि अरु ६ ठाउँमा भारतिय पक्षको अवरोधका कारण पुल निर्माणकार्य अघि बढ्न सकेको छैन । भारतीय पक्षबाट सहमति आएपछि मात्रै सबै ठाउँमा पुल निर्माण गरेर तुइन बिस्थापन गर्न सकिने सम्भावना रहेको छ ।
यसैबिच लेकम गाउँपालिकाको लालीमा नेपाल भारत जोड्ने झोलुङगे पुल निर्माण सम्पन्न भएपनि पुलबाट नियमित आवागमन नहुदा अझैपनि लाली क्षेत्रका स्थानीय ट्युबको जोखीमपुर्ण यात्रा गर्न बाध्य भएका छन् । हाल मालिकार्जुन गाउँपालिकाको बाकु र लेकमको लाली गरि दुई स्थानमा ट्युबको बढी प्रयोग हुने गरेको छ । पुलसम्म पुगेर नदी पार गर्न बढी समय लाग्ने भएकोले स्थानीयहरुले ट्युबको साहारामा महाकाली नदी वारपार गर्ने गरेको स्थानीय केशबराज जोशीले जानकारी दिनुभयो ।