सार्वजनिक शिक्षामा सुधार प्रयास


काठमाडौँ, माघ १४ गते । सामुदायिक विद्यालयमा अधिकारका साथै प्रधानअध्यापकलाई थप जिम्मेवार बनाइ सार्वजनिक शिक्षाको सुधार गर्ने तयारी गरिएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हालै प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा सार्वजनिक शिक्षाको केन्द्रविन्द्रको रूपमा सामुदायिक विद्यालयको प्रधानअध्यापकलाई राखिएबाट सरकार अब यसको नीतिगत तयारीका साथ अगाडि बढ्ने योजनामा जुटेको छ ।
आयोगले दिएको सबैभन्दा महत्वपूर्ण सुझाव भनेको सामुदायिक विद्यालयको सुधारको योजना हो । यसका लागि अव सबै माध्यमिक तहका विद्यालयमा प्रधानअध्यापकको छुट्टै दरवन्दी सिर्जना गर्नुपर्ने सुझाव दिइएको छ । सबै सामुदायिक विद्यालयमा दक्ष, उप्रेरित र अधिकार सम्पन्न प्रधानअध्यापकको व्यवस्थालाई प्राथमिकता दिने नीति अपनाइने भएको छ ।
प्रअको नियुक्तिका लागि कुनै पनि विषयमा स्नातकोत्तर तहमा प्रथम श्रेणीमा उत्तीर्णका साथै शैक्षिक व्यवस्थापन विषयमा समेत स्नातक वा विशेष तालिम हासिल गरेको हुनुपर्ने र कम्तीमा पाँच वर्षको माध्यमिक शिक्षकको अनुभव हुनुपर्ने सुझाव आयोगले दिएको छ । प्रअलाई नियुक्ति दिँदा पाँच वर्षको विद्यालयको सुधार योजनाका आधारमा नियुक्ति दिने तथा शिक्षकको कामकारवाही तथा शिक्षकहरुको कार्यसम्पादनमा आधारित भएर दण्ड र सजाय दिने अधिकारसमेत प्रअमा दिने व्यवस्था गरिनुपर्ने निष्कर्ष आयोगको छ ।
यसको खालको नीतिगत प्रावधान कार्यान्वयन गरिएको अवस्थामा हालको विद्यमान प्रावधानमा धेरै परिवर्तन हुनेछ र प्रअलाई जिम्मेवारीकासाथै अधिकार सम्पन्न बनाइनेछ । उच्चस्तरीय शिक्षा आयोगका सदस्य शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला सार्वजनिक शिक्षाको खस्कँदो गुणस्तर र पहुँचलाई पुन जगाउन प्रअलाई अधिकार र जिम्मेवारीपूर्ण बनाउने अवधारणा अघि सारिएको बताउनुहुन्छ । सामुदायिक विद्यालयमा जिम्मेवारी अधिकारी नभएको र प्रअ नै त्यसको उपयुक्त व्यक्ति भएको बुझाइमा आफूहरु पुगेको उहाँ उल्लेख गर्नुहुन्छ ।
आयोगमा यस खालको सुझाव समावेश गर्न विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको टोलीले आपत्ति जनाए पनि आफूहरुले त्यसमा सहमति गराएको उहाँउल्लेख गर्नुहुन्छ । आयोगको यो सुझाव कार्यान्वयनका लागि एक वर्ष पनि नलाग्ने कोइरालाको भनाइ छ ।
यो प्रावधान कार्यान्वयनका लागि शिक्षा ऐनमार्फत् स्पष्ट गरिनुपर्ने र शिक्षक सेवा आयोगले प्रअको छुट्टै दरवन्दी सिर्जना गरी पदपूर्ति गर्नुपर्ने हुन्छ । त्यसपछि प्रअले आफनो कार्ययोजनालगायतका विषयमा विद्यालय व्यवस्थापन समिति सित र प्रअले शिक्षकसित कार्य सम्पादन सम्झौता गर्दछन् ।
स्थानीय तहलाई यसको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । शिक्षाविद् कोइराला यो प्रावधान कति प्रभावकारी रुपमा कार्यान्वयन हुने भन्ने कुरा स्थानीय सरकार, शिक्षक महासंघ, व्यवस्थापन समितिको भूमिकामा निर्भर गर्ने बताउनुहुन्छ । प्रधानअध्यापकको दरवन्दीसिर्जना गरी खुलाप्रतिस्पर्धाका आधारमा नियुक्ति दिने नीति कार्यान्वयनमा ल्याउन राजनीतिक दलको पनि राम्र्रै इच्छा शक्ति चाहिन्छ, त्यो भएमात्र सार्वजनिक विद्यालय विद्यार्थीको आशाको केन्द्र बनाउन सकिन्छ, शिक्षाविद् कोइरालाले बताउनुभयो ।
राजधानीको विश्व निकेतन माविका प्रअ हेरम्वराज कँडेलले यस वर्षमात्रै २३ जना विद्यार्थी नाइटिङ्गल बोडिङ स्कुलबाट आफनो विद्यालयमा भर्ना आएको जानकारी दिदै प्रअलाई अधिकार दिने र जिम्मेवार समेत बनाउन सकिए सार्वजनिक शिक्षामा आमुुल रुपान्तरण गर्न सकिने बताउनुभयो ।
उहाँकाअनुसार विद्यालयको सुपरिवेक्षक नै प्रअ हो । प्रअले कुशल प्राज्ञिक नेतृत्व दिन सके विद्यार्थीको सिकाई उपलब्धि निकै बढ्छ । प्रअ राम्रो शिक्षक मात्र भएर हुँदैन कुशल व्यवस्थापक र समन्वयकर्ता समेत हुनुपर्छ प्रअ कँडेलले बताउनुभयो ।
शिक्षक सेवा आयोगले प्रअको नियुक्तिका लागि अलगै रोष्टर बनाएर अघि बढ्न सकेको अवस्थामा यस आयोगको सुझाव कार्यान्वयन गर्न सकिने उहाँ बताउनुहुन्छ । एक वर्षभित्र सबै विद्यालयमा प्रअको छुट्टै दरवन्दी बनाएर नियुक्ति प्रक्रिया पूरा गर्न सकिनेमा उहाँ आशावादी हुनुहुन्छ ।
राजधानीकै निलवाराही माविका प्रअ डा. जानुका पौडेल एक सय जना विद्यार्थी रहेको विद्यालयमा हाल झण्डै एक हजार विद्यार्थी अध्ययन गर्ने अवस्था आफूहरुकै पहलमा बनाएको उल्लेख गर्दै प्रअलाई अधिकार र जिम्मेवारी बनाउने नीतिगत निर्णय छिटो कार्यान्वयन गराइनुपर्ने बताउनुभयो ।
प्रअमा नियुक्तिका लागि स्नातकोत्तर तहमा प्रथम श्रेणीमा उत्तीर्ण व्यक्ति मात्र प्रअ हुन पाइने अवस्थाले यसको कार्यान्वयनमा समस्या केही जटिलता आउन सक्ने उहाँको भनाइ छ । शिक्षाविद् तथा आयोगका सदस्य कोइराला यसको कार्यान्वयनका लागि केही वर्ष लाग्ने कुरामा सहमति जनाउनुहुन्छ ।तत्काल कार्यान्वयनमा समस्या भए पनि यसको केही वर्षपछि सहज व्यवस्थापन हुन्छ र गुणस्तरमा सुधार आउँछ भन्नेनै अपेक्षा हो उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here