काठमाडौँ । नेपालको सौर्य ऊर्जामा अमेरिकी कम्पनीले हात हाल्न थालेको छ । केही दिन अघि अमेरिकाको अमेरिकी कम्पनी स्काई पावर कम्पनीको उच्च स्तरीय प्रतिनिधि मण्डलले ६०० मेगावाट गर्ने उद्धेश्यका साथ ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका पदाधिकारीलाई भेटेर सो इच्छा व्यक्त गरेको हो ।
नेपालका अर्बपति सूचीमा रहेका बिनोद चौधरी समुहले पनि सौर्य ऊर्जाका अनुमतिपत्र लिएको छ । चौधरी समूहले विद्युत् विकास विभागबाट महोत्तरीको ढल्केवरको वरपर सौर्य प्यानल राख्ने गरी १२० मेगावाट क्षमताको सौर्य परियोजना सञ्चालनका लागि सर्वेक्षणको अनुमति लिइसकेको छ ।
चौधरीले सुदूरपश्चिम प्रदेशमा ५० मेगावाट र पर्साको परवानीपुरमा ३० मेगावाट क्षमताको सौर्य परियोजना निर्माणका लागि सर्वेक्षणको अनुमति लिइ सकेको छ । झापा इनर्जीले १० मेगावाट क्षमताको झापा जिल्लामा सौर्य परियोजना सञ्चालन गर्न विभागबाट सर्वेक्षणको अनुमति दिइएको कुरा विभागले जनाएको छ ।
विद्युत् विकास विभागले हालसम्म ४६८ मेगावाटका उत्पादन क्षमताका ५७ वटा आयोजनाका लागि अनुमति पत्र प्रदान गरि सकेको छ । सरकारले ऊर्जा मिश्रणको अवधारणा अगाडि सारेपछि सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्यामा समेत वृद्धि भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य परियोजनाको काम शुरु गरिसकेको छ । सो आयोजनाको हाल निर्माण कार्य जारी छ । सरकारले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्न सौर्य ऊर्जा खरिद गर्ने नीति पनि लिएको छ । सोही नीतिका आधारमा प्राधिकरणले निजी क्षेत्रबाट उत्पादन हुने कूल ६१ मेगावाट क्षमताका सौर्य पयिरयोजनासँग विद्युत् खरीद सम्झौता पनि गरिसकेको छ ।
नविकरणीय ऊर्जाको रुपमा विश्वव्यापी रुपमा सौर्य ऊर्जा प्रति विकसित राष्ट्रहरुको पनि लगानी दिनप्रतिदिन वृद्धि भइरहेको छ । जलवायु परिवर्तनको असर विश्वव्यापी रुपमा परिरहेका बेला खनिज तेल र इन्धनका अरु स्रोतको प्रयोगलाई घटाउने जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता अनुसार विश्वका विकसित राष्ट्रहरु सम्भव भएसम्म नविकरणीय ऊर्जा उत्पादन तर्फ लागि रहेका छन् ।
पछिल्लो समयमा नेपालका छिमेकी मुलुक भारत र चीनले पनि सौर्य ऊर्जाको उत्पादनलाई प्राथमिकतामा राख्दै आएको छ । चीनले हालसम्म १३० गिगावाट र भारतले सन् २०१९ सम्ममा १४ गिगावाट सौर्य ऊर्जा उत्पादन गरिसकेको छ । भारतले सन् २०१९ को अन्तयसम्ममा सौर्य ऊर्जाको उत्पादन बढाएर ३८ गिगावाट पुर्याउने लक्ष्य राखेको छ भने चीनले १३० गिगावाट र सन् २०२० सम्ममा २०० गिगावाट पुर्याउने गरी कामहरु भइरहेको चिनियाँ सौर्य ऊर्जा केन्द्रले जनाएको छ ।
सौर्य ऊर्जाको उत्पादनमा अमेरिकामा अरु देशभन्दा अगाडि देखिएको छ । अमेरिकासँग हाल ६० गिगावाट र एसियाली मुलुक जापानले पनि सौर्य ऊर्जालाई प्राथमिकता राख्दै आएको छ । जापानले हालसम्म ४६ गिगावाट बराबरको सौर्य ऊर्जा उत्पादन गरेको बताइएको छ ।