‘बेदागि’ ओली बाहिरिए सिंहदरबारबाट

लक्ष्मीप्रसाद उपाध्याय

५१ वर्षको उमेरमा विश्वविद्यालयमा प्राध्यापक तथा अदालतमा न्यायधिश नियुक्ति हुने प्रचलन विश्वका कतिपय मुलुकमा अझै छ । जुन पदहरु राजनीतिक होइनन्, करिअरलाई निरन्तरता दिने र एक्टिभ हुँदै व्यावसायिक रुपमा काम गर्ने अवसरका रुपमा ती पदहरुलाई लिइन्छन् । नेपालमा पनि ६५ वर्षमा सम्म काम गर्ने व्यवस्था भएका पदहरु अझै छन् । मानिसहरुले काम गरिरहेका छन् ।

२०२७ साल बैशाख २९ गते चितवन जन्मिनु भएका डा. विश्वनाथ ओली ५१ वर्ष पनि नपुग्दै निवृत जीवन बिताउन थाल्नुभएको छ । हालको वन तथा वातावरण मन्त्रालयको सचिवमा २०७४ साल चैत २६ गते सचिव पदमा खटिएका डा. ओलीले तीन वर्ष ११ दिन सो पदमा बसेर सोमवार नेपालको निजामति प्रशासन सेवाबाट बिदा लिएका छन् । स्थानीय भण्डारा माध्यामिक विद्यालयबाट २०४२ सालमा एसएलसी पासका गरेका ओलीले छिमेकी जिल्लामा रहेको हेटौडास्थित वन विज्ञान अध्ययन संस्थानबाट आइएस्सी, पोखराबाट बिएस्सी गर्नुभएको हो । कलेज पढ्दा पढ्दै ओलीको सिंहदरबारको यात्रा २०४६ साल जेठ १० रेञ्जर पदबाट सुरु भएको थियो ।

वन मन्त्रालय अन्तर्गतको वन अनुसन्धान तथा सर्वेक्षण विभागमा रेञ्जर पदमा छ वर्ष काम गरेका ओली २०५२ सालमा अधिकृत पदमा पदोन्नती हुनु भएको हो । निजामति किताबखानाको ढड्डा पल्दाउदा २०६१ सालमा सोही विभागको उपसचिव पदमा पदोन्नती हुनु भएका ओली वन मन्त्रालयभित्र खासै चर्चा नपाएका तर इमान्दार कर्मचारी हुनुहुन्थ्यो ।

जसका विषयमा मैले दुई शब्द लेख्ने आज दृष्टता गर्दैछु । उहाँ उपसचिव हुँदासम्मको अवधिसम्म मैले ओलीलाई चिन्दैनथे । तत्कालिन अवस्थामा वन मन्त्रालय भनेको वन विभाग मात्रै हो भन्ने तरिकाले काम हुन्थे । मेरो पेशाका जे जति चलनचल्तीका मुद्धा हुन्थे ती सबै वन विभागसँग सरोकार राख्थे । वन अनुसन्धान विभाग मेरो लागि पनि ओझेलमा परेको ठाउँ जस्तै थियो । सायद त्यो एकमात्र कारण हो, उहाँसँग मेरो यो अवधिसम्म साक्षात्कार हुने साइत जुरेको थिएन ।

म बिए पढ्दै थिए । कान्तिपुरमा इन्टर्नशिप गर्ने मौका पाए । तिहारपछिको समय थियो । वन सचिव थिए, रबिबहादुर विष्ट र वन विभागका महानिर्देशकमा इन्द्रसिँह कार्की । पुसको अन्तिमतिर हरेक विकास क्षेत्रमा आयोजना हुने क्षेत्रीय योजना तर्जुमा गोष्ठीमा तिनै डिजी कार्कीको गाडीमा पूर्वाञ्चलको बिराटनगर, पश्चिमाञ्चलको पोखरा र सुदूरपश्चिमाञ्चलको धनगढीमा आयोजना भएका तीन वटा गोष्ठीमा हुइकिने मौका पाए । तीन ठाउँको बसाईले मलाई वनको विषयमा थोरै भएपनि साक्षात्कार हुने अवसर मिल्यो । तत्कालिन अवस्थामा वन मन्त्रालयको भन्दा वन विभागको ‘क्या गज्जबको रबाफ’ अहिले म झल्झल्ती सम्झिने गरेको छु । त्यो बेलाको वन विभाग र मन्त्रालय, अनि अहिलेको विभाग र मन्त्रालयको कोल्टे फेराई । मेरो एकलकाँटे अनुभवनले यति मात्र भन्छ, बख्त बख्तकी बात हे ।

यो लामो अवधिमा वन, वातावरण क्षेत्रमा काम गर्ने क्रममा दर्जनौ पात्र, कुपात्रसँग मुलाकात भयो । आफ्ना स्मरण धेरै पटक लेख्ने कोशिस गरे तर सकेको थिएन । पछिल्लो पटक प्रशासनिक पृष्ठभूमिका वन सचिवमा पदासिन नविन घिमिरेका बारे लेख्ने जमर्काे गरेको थिए तर फेद बिनाको टुप्पोमा मात्र के लेख्ने भन्ने भयो र छाडेका हुँ । घिमिरेले धेरै जिल्लामा सिडियो भएर काम गर्नुभयो, जागिरको उत्तरार्धमा वन मन्त्रालयमा आउँदा असल काम गर्ने मध्येका घिमिरे पनि एक थिए । तर विगतका असल खराब पानाहरुका बारेमा खासै जानकारी नहुँदा नविन घिमिरेको अधुरो यात्रा लेख्ने मन मारे ।

सरकार फेरबदलसँग २०६८ सालमा भानुभक्त जोशी वन तथा भूसंरक्षण मन्त्रीमा नियुक्त भए । देशभरी काठको कारोवार रोकिएको थियो । काठ व्यवसायीको लामो उठान बसान पछि तत्कालिन मन्त्री जोशीले काठ खोल्ने निर्णय गराए क्याबिनेटबाट । यस्को पनि ‘रामकहानी’ छ । काठ खुलाउन देशभरीबाट काठ व्यापारीले संकलन भएको ‘मोटो भेटी’ लाई बीचका काम गरिदिने दलाले भ्याए तर मन्त्री रहे चिल्लै । दलालले थोरै खर्चमा काठ व्यापारीको काम फत्तै पारि दिए । काठ खुलाउन देशभरीबाट संकलन गरिएको भेटी सबै खर्च भएन । व्यापारीले अपेक्षा गरेको भन्दा कम रकममा कुरो मिल्यो । बढी भएको नगद नारायणले काठ व्यापारीले काठ व्यवसायी महासंघको कार्यालयको लागि जग्गा किने र मज्जाको घर बनाए पूर्व प्रधानमन्त्री माधबकुमार नेपालको घर छेउमा ।

लामो समयपछि खुलेको काठको बिक्री वितरण गर्दा क्षेत्रीय निर्देशकको संयोजकत्वमा बनेको समितिले घाटगद्धीको स्थिति जाँचबुझ गरेर सिफारिस गर्ने अनि मात्र लिलाम गर्न पाइने निर्देशन जारी भयो ।

अनुसन्धान विभागका उपसचिव ओली जनरल फरेष्ट्री तर्फ २०६५ मा सहसचिवमा पदोन्नती हुनु भएको थियो । सहसचिव भएपछि मध्यपश्चिम वन निर्देशनालयको निर्देशकमा जानु भएका उहाँसँग यही क्रममा मेरो पहिलो पटक २०६७ सालमा टेलिफोनमा कुरा भएको हो । टेलिफोन वार्तामा आफुले सक्ने र भ्याए जतिको ठाउँमा आफै उपस्थित भएर देखेको कुरा मात्र सिफारिस गर्छु, हेर्न नसकेको ठाउँको मैले सिफारि गर्न सक्दिन भनेको मलाई अझै ताजै छ ।

निकै रस्साकस्सीका बिच भएको सरकारी निर्णयले त्यतिबेला देशभरीका धेरै वन कर्मचारीको जागिरलाई धरापमा पुर्यायो । सुदूरपश्चिममा त्यही बेलाको घटनाले वन कर्मचारी, वन उपभोक्ता तथा ठेकेदार मित्रहरुलाई अख्तियारले तान्यो अरु विकास क्षेत्रमा पनि थुप्रै घटना सार्वजनिक भएका तर ओली भने मध्यपश्चिमबाट २० महिना बसेर सुरक्षित साथ मन्त्रालय फिर्ता भए ।

वन मन्त्रालयका सचिव रबीबहादुर विष्ट, वन विभागका डिजी इन्द्रसिँह कार्की देखि अहिलेका सचिव डा. ओलीसम्मको अवधिमा मैले वनमा निकै धेरै पानी बगेको देख्ने अवसर पाए । वन के हो ? वनका कर्मचारी के के गर्छन् ? कस्तो नैतिकतामा बाँचेका हुन्छन् र दृश्यमा के देखिन्छन् ? भन्ने कुराका ‘वनशास्त्र भित्रको सबै बेद’ को अध्ययन गर्ने मौका मैल पाए । पान चपाउने पैसा देखि छोरीको बिबाहमा दाइजोको समेत जोहो गर्ने वन कर्मचारी यही आँखाले देख्यो । जिल्लामा डिएफओ नभएका कारणले छोरीको बिबाह पोष्टपोन्ड गरेको एकाध घटनाका पात्र त कहिलेकाँही फेसबुकमा मैले अझै पनि देख्ने गरेको छु ।

तत्कालिन डिजी दिव्यदेब भट्टको सुर्खेत सरुवाका लागि भएका तिक्डम्, पछि अर्का डिजी जमुनाकृष्ण ताम्राकारको खल्तीमा भेटिएको भनिएको घुस बापतको ५० हजार काण्ड, डा. केशब कँडेल डिजी हुँदा भएको ललितपुरको रक्तचन्दन काण्डमा संलग्न हाकिम साफहरुलाई नजिकबाट हेर्ने मौका मलाई मिल्यो । वन भित्र इमान्दार व्यक्तिको खडेरी त थिएन तर इमान्दारको स्थिति निकै कमजोर भएको वन विभाग मैले देखेको हो त्यो बेला देखि यो बेलासम्म ।

२०४६ सालमा रेञ्जर पदमा प्रवेश गरेका डा. ओली सरकारको विशिष्ट श्रेणीको पदबाट बाहिरिँदासम्म दाग बिनाको ‘बेदागी’ भएर निस्किनु र कसैको आँखाको तारो नबन्नु नै ओलीको सक्षमता हो भन्ने ठानिन्छ ।

वन क्षेत्रलाई नजिकबाट हेर्न र अनुभव गर्न थालेको मेरो मानसपटलले डोटीको बिपीनगर सल्ला काण्ड, डडेल्धुराको जोगबुडाको साल काण्ड, उदयपुर र धनकुटाको काठ काण्ड, अखिलेश्वर लाल कर्ण पढ्न गएपछि निमित्त भएका वन कर्मचारीले कैलालीको बाह्रबनमा कति रुख साल र खयर ढले, छानविन प्रतिवेदनमा के लेखियो ? ती घटना के कसरी मिलाइयो भन्ने कुराको थोरै जानकारी राख्ने अवसर प्राप्त भएको थियो ।

२०६९ साल असोज ५ गते मन्त्रालय हाजिर भएका ओलीलाई २०७० साल जेठ १ गते वन विभागको महानिर्देशकको जिम्मेवारी दिइयो । २०७१ साल भदौ १९ गतेसम्म विभागको नेतृत्व लिँदा एक दिन पनि बिदामा नबसकेका ओलीले तत्कालिन रुपमा २४ ‘घ’ को कर्मचारी व्यवस्थापनलाई सहजका साथ पार लगाउनुभयो । जापान सरकारबाट प्राप्त ३४ वटा सवारी साधनलाई एउटा पनि विभागमा नराखेर जिल्लामा पठाउने ओलीको निर्णयको तत्कालिन विभागका कर्मचारीले बिरोध गरेका थिए तर ओलीले मानेनन् । सडक पुगेका सबैजसो जिल्लामा सवारी साधन पुगे । साझेदारी वनको पहिलो राष्ट्रिय गोष्ठी गराउन सफल ओलीले महानिर्देशक भएकै बेला कबुलियति वन, सामुदायिक वन र जिल्ला वन अधिकृतहरुको राष्ट्रिय गोष्ठी सञ्चालन गर्न भ्याए । ७०० जना वन रक्षकको भर्नाको कामलाई ओलीले सुरुवात गरे पछि फत्ते बनाएर विभागबाट हिडे । मैले माथि उल्लेख गरेका सबै घटनासँग ओलीको अनुहार दाँजे । नितान्त फरक पाएँ र त्यो अवस्था पछि मैले ओलीलाई मेरो व्यक्तिगत सूचीमा ‘अच्छा मान्छे’ को दर्जामा राख्न सुरु गरेको हुँ । यो भनिरहँदा ओलीको बखान गर्ने नियत मेरो होइन । अस्ताउँदो सूर्यको के बखान गर्नु ? रिटायर्ड हुन थालेको व्यक्तिसँग के स्वार्थ लिनु छ र मैले ? जे देखे त्यही कोर्न दृष्टता मात्र गरेको छु ।

वन विभागबाट ‘बेदागी’ भएर मन्त्रालय फर्केका ओलीलाई वैदेशिक सहायता समन्वय महाशाखामा राखियो । अध्ययन अनुसन्धानमा रमाउने खालको स्वभावका ओलीले झण्डै २० महिना त्यहाँ बिताए जस्तो लाग्छ । एमएस्सी नर्वेबाट र डेनमार्कको कोपनहेगन विश्वविद्यालयबाट पिएचडी सक्नुभएका डा. ओलीले यही समयलाई सदुपयोग गरे । उहाँले पिएचडी उपाधी प्राप्त गरेको समाचार लेख्ने मौका मलाई नै मिल्यो ।

२०७२ साल भदौ महिना हो जस्तो लाग्छ । मजाले पानी परिरहेको थियो । म सिंहदरबार तिरै थिए । लोकसेवाले सचिवको बढुवाको डा. ओलीको नाउ सिफारिस गरेको खवर पाए । लु त बधाई दिन जाउ भनेर मन्त्रालय छिर्दा डा. ओली भारतको दिल्लीको कार्यक्रममा गएको थाहा पाए । अनि लाग्यो सचिव हुने मान्छे किन बिदेश गएका होलान् ? भोलिपल्ट बसेको क्याबिनेटले पहिलो नम्बरमा फुलगेन प्रधान र तेस्रो नम्वरमा सिफारिस भएका ओलीलाई सचिव बनाइएन दोस्रो नम्बरका उदयचन्द्र ठाकुर सचिव बने । ठाकुरको पछि वन मन्त्रालयमा पोष्टिङ भयो । त्यतिबेला प्रधानमन्त्रीमा केपी शर्मा ओली नै थिए । उहाँले कम्मर कसेको भए, मलाई लाग्छ, उहाँ त्यतिबेलै सचिव हुन सक्ने परिस्थिति थियो । २०७२ साल चैततिरको कुरा हो । डा. ओली पहिलो नम्वरमा दोस्रो नम्बरमा कृषिका डा. सुरोज पोखेरल र डा. युवकध्वज जिसी सिफारिसमा पर्नुभयो र बैशाख ७ गतेको क्याबिनेटले डा. ओलीलाई सचिव बढुवा गर्यो । बैशाख ८ गते वन मन्त्रालयको बैदेशिक महाशाखामा काम गर्दै भेटिएका डा. ओलीलाई मैले सोधेको थिए, सचिव बढुवा भएपनि फेरी यहाँ ? उहाँको जवाफ थियो, आफुले गर्नु पर्ने केही काम सकेर जान थालेको हो । आउने साथीलाई सहज हुन्छ होला भनेर । उहाँको यो इमान्दारितासँग मैले अघिल्ला केही सचिवसँग दाँजे । रिटायर्ड हुने केही दिन अघि ‘वन देवीको प्रसाद’ भन्दै जिल्ला जिल्लामा गएर भेटी उठाएको कथाका पाना पल्टाए । मनमनै सोचे, योङ्ग अनि करिअर भएको मान्छेको चाला नै बेग्लै ।

डा.ओलीको पदस्थापना तत्कालिन जनसंख्या तथा वातावरण मन्त्रालयमा भयो । बहुजन पार्टीका बिशेन्द्र पासवान, नेकपा संयुक्तका जयदेव जोशी र मिथिला चौधरी मन्त्री भएका बेला सचिवको भूमिकामा रहनुभएका ओलीले प्रशासनिक काम थुप्रै गरे होलान् तर मलाई लाग्छ उहाँको एउटा सम्झन लायक काम भनेको मन्त्रीको अंग्रेजी भाषाको भाषणलाई नेपालीकरण गर्नुपर्ने समस्या झेल्नु भयो होला । सिंहदरबारभित्र अंग्रेजी पढ्न नआउने मन्त्रीलाई अंग्रेजी भाषाको भाषण नेपाली शब्दमा लेखेर पढाउनुपर्ने अनुभव धेरै सचिवको हुने गर्छ । यो नौलो घटना त होइन पनि ।

डेढ वर्ष सो मन्त्रालयमा बस्दा डा. ओलीले गरेको प्रयास देखिने रुपमा हाल काठमाडौँ जिल्ला प्रशासन कार्यालयको अगाडि जल तथा मौसम विज्ञान विभागको गगनचुम्बी भवन हो । जसका लागि विश्व बैँकसँग उहाँले ठूलै पहल गर्नुभयो र साकार पनि भयो ।

बिचको अवधिमा डा. ओली तत्कालिन पशु पंक्षी मन्त्रालयमा जानुभयो । बढो रोचक कुरो २०७४ साल चैततिरको छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ३ गते शपथ लिनुभयो र १० गते मन्त्रीपरिषद बिस्तार गर्नुभयो । वन मन्त्रीमा शक्ति बस्नेत नियुक्त भए । स्वभाविकै रुपले नयाँ मन्त्रीलाई भेट्न जानुभएका डा. ओलीले वन मन्त्रालयमा आफू आउने इच्छा जाहेर गरे होलान् । त्यतिबेला प्रकाश माथेमा र डा. ओली वन समुहका सचिव थिए । तर वनमा सचिव थिए कृषि समुहका डा. युवकध्वज जिसि । मन्त्री नियुक्त भएको केही दिनपछि बस्नेतले एक साँझको कार्यक्रममा सचिवका लागि आउन कसरत गरिरहेका व्यक्तिको खुलासा गर्नुभयो र आफूले हेरौँ एक/ दुई महिना पछि सरुवाका लागि सोचौँला भनेर टारिरहेको म्यासेज पत्रकार सामु फालेका थिए । त्यसको भोलीपल्ट प्रधानमन्त्री भोलीपल्ट भारत जाँदै हुनुहुन्थ्यो । प्रधानमन्त्रीले बिहानको क्याविनेटमा सचिवको सरुवा गरे । जसमा वन सचिवमा डा. ओलीको भयो । त्यसको एक हप्तासम्म मन्त्री बस्नेतले पत्रकार नजिक पर्ने कोशिस पनि गरेनन् र फोन पनि उठाएनन् । सायद मन्त्री बस्नेतसँग सचिव सरुवाको जवाफ नभएर नै होला ।

तीन वर्ष ११ दिन मन्त्रालयमा बसेर सेवा निवृत हुँदै गर्दा डा.ओलीले वन मन्त्रालयमा के गरे त भन्ने जिज्ञासा सबैमा हुनु स्वभाविकै हो । वन विज्ञान अध्ययन गरेको सचिवले जागिरे जीवनको उत्तरार्धमा वैज्ञानिक वन व्यवस्थापनको कार्यविधिलाई निरन्तरता दिन नसक्नु ठूलो कमजोरी ठानिने गरिन्छ । किन सक्नु भएन त ? यो कामलाई रोक्न ? मेरो एक जिज्ञासामा सोमवार डा. ओलीले यसरी आफ्ना कुरा राख्ने जमर्काे गरे । यो विषयमा मैले दुई पटक प्रधानमन्त्री ज्यूसँग छलफल गरे । मन्त्रीलाई हरेक दिनजसो भनेको हुँ मेरो कुराको सुनुवाई भएन । मेरो कमीकमजोरी भएको भए म त्यो कुरा स्वीकार गर्छु । मैले उहाँहरुलाई कन्भिन्स गर्न सकिन ।

यो विषयमा बाहिर जे चर्चा छ । यथार्थता त्यस्तो होइन । वन सचिवले गर्ने प्रयासले यो रोकिने अवस्था थिएन । सुदूरपश्चिमका भीम रावल र वर्तमान मन्त्री प्रेम आले र सहयोगी काठ व्यापारीको भिडन्तमा यो मुद्धा बढी पेचिलो भयो र सचिवको भूमिका गौण हुन गयो । परिणाम वन विज्ञानको सिद्धान्त भन्दा निकै फरक देखियो ।

२०६७ सालमा टेलिफोनमा भएको बोलचाल देखि आजको मितिसम्म मैले डा. ओलीलाई जे पाए, बेदागी, सादगी अनि इमान्दार व्यक्तिको रुपमा पाए । हुन त उहाँलाई कम्युनिष्टलाई बढी काखमा च्याप्ने गरेको आरोप लाग्ने गरेको छ । केही डिएफओहरुले डा. ओलीसँगको सम्बन्ध देखाएर फाइदा पनि लिए । काठ ठेकेदारलाई निचोरे अनि राजनीतिक व्यक्तिसँग पाखुरा ठोकेको घटना पनि सतहमा आएका छन् ।

२०४६ सालमा रेञ्जर पदमा प्रवेश गरेका डा. ओली सरकारको विशिष्ट श्रेणीको पदबाट बाहिरिँदासम्म दाग बिनाको ‘बेदागी’ भएर निस्किनु र कसैको आँखाको तारो नबन्नु नै ओलीको सक्षमता हो भन्ने ठानिन्छ । यद्धपी उहाँले खासै काम गर्न सकेनन् भन्नेको पनि कमी छैन । तर तिनै व्यक्तिहरुको मुखबाट सुनिने गर्छ, ओलीले केही गर्न नसकेपनि बिगार्न पनि त बिगारेनन् ।

यो यथार्थमा डा. ओलीको जीवन र कार्य प्रति नकारात्मक टिप्पणी गर्नेहरुको एक झुण्ड पनि उत्तिकै ठूलो छ । जसको आवाजमा व्यक्तिगत स्वार्थका घटनाहरु चाहिएको ठाउँमा सरुवा, विदेश भ्रमण, काज सरुवा, भ्रमण आदेश, स्पष्टीकरणमा कडा भएको यस्तै यस्तै गन्ध आउने गर्छ । तर आर्थिक मामिलामा उहाँलाई कसैले पनि औलो ठड्याउ नसक्दैन । घुस मागेको, खाएको, खुवाएको यी शब्दको ओलीको साइनो जोडिदैन ।

डा. ओलीलाई बुझ्ने मान्छेले यति धैर्यताका साथ जानकारी राख्न सक्नुपर्छ कि एक राष्ट्रिय दैनिकमा वन मन्त्रालयका कर्मचारी विदेशमा भ्रमणमा मस्त भन्ने समाचार आएपछि पोल्याण्डमा भइरहेको कोप सम्मेलनमा लिएको टिकट पनि रद्ध गरेर बसेका ओलीले त्यसपछिका आधा दर्जन विदेश भ्रमणमा जान मन गर्नुभएन । तर केही लुच्चा लोभीहरु तीन/चार वटा संस्थाको दाम बुझेर महिनौँ दिनसम्म बिदेशमा सयर गरेको उदाहरण पनि छन् । जसले दिनभरी डा. ओलीको कोठामा बसेर चाँडकी गरे बाहिर निस्किदै गर्दा भर्याङमा भेटिएका कर्मचारीसँग ‘ओलीजीले बोलाएर आएको महाशाखाको काम त्यसै बाँकी छ, सचिवले बोलाएपछि आउनै पर्यो हेर्नुहोस भन्दै हिडेका व्यक्ति समेत देखिए । दुई जिब्रे प्रवृतिका व्यक्तिले डा.ओलीबाट फाइदा लिए, लिए अर्काेतिर तिनै व्यक्तिले बदनाम समेत गरेको कुरा वन तथा वातवारण मन्त्रालयका भित्ताले समेत अनुभव गरेको छ ।

(वन, वातावरणका समसामयिक विषयमा कलम चलाउने अधिवक्ता उपाध्याय वकालत र प्राध्यापन पेशामा पनि संलग्न हुनुहुन्छ । )


प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here