काठमाडौँ । सुन्दर पोखरा उपत्यकाको वरीपरी हरियो वनजंगल देख्न पाइन्छ । यो प्राकृतिक सौन्दर्यता आफै भएको होइन । यहाँका बासिन्दाको संरक्षण प्रतिको लगावले तालको उपत्यका भनेर चिनिने पोखरालाई डाँडाकाँडाको हरियालीले थप सुन्दरता प्रदान गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्वर २५ क्षेत्रलाई हेम्जा भनिन्छ । हेम्जा क्षेत्रमा गैरीटोल, मेलबोट, ढडालथान, शहरथर, मिलनचौक, हारबारी, लाम्पाटा लगायतका बस्ती छन् ।
यी वस्ती नजिकै सुन्दर वन छ । कलकल बग्ने पानीको मूल त कति छन् कति । कास्कीका लागि मात्र होइन, नेपालकै लागि हेम्जा ठाउँ सबैको परिचित ठाउँ हो ।
११९ हेक्टर हेम्जाको वनलाई संरक्षणको जिम्मा सरकारले त्रिबे्रकोट सामुदायिक वनका रुपमा २०५९ सालमा स्थानीय बासिन्दालाई दिएको हो । यहाँको वन प्राकृतिक वन हो । कालान्तरमा उपभोक्ताहरुले तेजपात,अमला, कागतीको खेती पनि गरेका छन् । जसले यहाँका उपभोक्तालाई फाइदै पुर्याएको छ ।
अध्ययनको केन्द्र बन्दै
सामुदायिक वन क्षेत्रभित्र अम्रिसोको प्लट तयार पारिएको छ । जहाँ वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीले अध्ययन गर्ने थलो बनेको छ । सामुदायिक वनका उपाध्यक्ष कृष्णबहादुर कुँवरका अनुसार सो कामका लागि डेनमार्क सरकारले पनि सहयोग गरिरहेको छ ।
सामुदायिक वन भित्र प्रशस्त खालका जडिबुटी रहेका छन् । हर्राे,बर्राे,अमलाको खेती बिस्तार गरेर आम्दानी लिने योजना यहाँको समितिले बनाएको छ । जंगलभित्र प्रशस्त पानी भएकाले समितिको यो योजनाले साकार रुप लिन सक्ने सम्भावना उत्तिकै छन् । माटो राम्रो छ, पारिलो घाम लाग्छ, पानी छ, अनि के चाहियो र ? जडिबुटी खेतीका लागि उपाध्यक्ष कुँवरले भने ।
सुशासनका अग्रणी
यो सामुदायिक वनमा असल पक्ष भनेको सुशासनका हरेक उदाहरण यहाँ देख्न पाइन्छन् । फेकोफन, हरियो वन लगायतका संस्थाबाट भएको सहयोगले यहाँका उपभोक्ताको क्षमता अभिवृद्धि तथा सुशासनका लागि निकै धेरै काम भएको प्रतिफल यो सामुदायिक वनका हरेक हिसाव किताव कम्प्यूटराइज भएका छन् । आफ्नै सुविधा सम्पन्न भवन छ ।
यो सामुदायिक वनका पदाधिकारीहरु वनमा सुशासनका लागि प्रशिक्षक पनि हुन् । यहाँका पदाधिकारीहरु गएर अरु सामुदायिक वनका उपभोक्ता तथा पदाधिकारीलाई सुशासनका बारेमा प्रशिक्षण दिने गरेको कुरा उपाध्यक्ष कुँवरले बताए । यी बिबिध कारणले यो सामुदायिक वनलाई गणेशमान सिँह सामुदायिक वन राष्ट्रिय पुरस्कार वन तथा भूसंरक्षण विभागले पुरस्कृत पनि गरिसकेको छ ।
हेरालु हटाएर आफै सक्रिय
विगतमा सामुदायिक वनले हेरालु राखेको थियो । वन जंगल खुला सम्पत्ती भएकाले हेरालुको आवश्यकता पनि ठिकै हो । तर गत वर्षदेखि यो समितिले हेरालुलाई पनि हटाएको छ । उपाध्यक्ष कुँवरले भने, आफ्नो वन आफै जागाऔँ भन्ने कुरा सबै उपभोक्ताका बीचमा आयो । कुरो पनि ठिकै हो, वनजंगल आफ्नो हो भने कि हेरालु राख्ने ? कसैले पनि बदमासी नगर्ने हो भने जंगलको संरक्षण हेरालु बिनै हुन्छ भन्ने लागेर हेरालु हटाएका छौँ ।
हेरालु हटाउने निर्णय साधारण सभाले गरेपछि अहिले सबै उपभोक्ता वनजंगलमा हुने क्रियाकलापहरु प्रति सचेत भएका छन् । छिसिक्क पात हल्ले पनि सबैले कान र आँखा खोल्ने गरेका छन्, उपाध्यक्ष कुँवरले भने ।
वन्यजन्तु परेड खेल्दै
पछिल्ला दिनहरुमा चोरी शिकार शुन्य जस्तै छ यो सामुदायिक वनमा । उपाध्यक्ष कुँवरको भनाई सुन्ने हो भने केही वर्ष पहिले चोरी शिकारका एकाध घटना भएपनि अहिले भने कसैले चोरी शिकार गरेको छैन । पहिले भएका घटनामा उपभोक्ताले चोरी तस्करीमा संलग्न व्यक्तिलाई समातेर जिल्ला वन कार्यालयमा बुझाइ दिएपछि चोरी शिकारका घटना दोहोरिएका छैनन् ।
मृग,खरायो, दुश्मी, लोखर्के जंगलमा पसेपछि प्रायः जसो देखिने गरेका छन् । कहिलेकाँही चरिबाघ पनि देखिने गरेको छ तर चरिबाघले हालसम्म कसैलाई पीडा भने दिएको छैन ।
आयआर्जनसँग जोडिने प्रयास
उपाध्यक्ष कुँवरले निकै चिन्ता व्यक्त गर्दै भने, वन संरक्षण त मजाले भइरहेको छ । तर वन संरक्षण गरेर यहाँका उपभोक्ताले के पाए त ? महत्वपूर्ण प्रश्न यही हो । त्यसैले यहाँका उपभोक्तालाई वन स्रोतसँग जीविकोपार्जन जोड्न कसरी सकिन्छ भन्ने विषयमा मन्थन भइरहेको छ ।
उहाँका अनुसार जडिबुटीसँग सम्बन्धित सहकारी संस्थाको स्थापना गर्ने प्रयास भइरहेको छ । प्रशस्त पानीको मूल भएकोले त्यो पानीको सदुपयोग कसरी गर्ने भन्ने पनि उपभोक्ताबीच छलफल चलिरहेको उनले बताए ।
केही प्रयास जारी
समुदाय भित्र कम आय भएका, गरिव, विपन्न तथा केही उद्यम गर्न सक्ने उपभोक्ताको पहिचान र वर्गिकरण गरेर कृषि कार्यका लागि ट्याक्टर खरिदमा सामुदायिक वन उपभोक्ता समितिले सस्तो व्याजदरमा ऋण दिएको छ ।
आत्मनिर्भर हुन चाहने महिलालाई कस्मेटिक पसल तथा व्युटीपार्लर, तरकारी खेती, कुखुरा पालन, किराना पसल सञ्चालन गर्न सहयोग गर्दा धेरै जसो महिलाहरु आफ्नो खुट्टामा उभिन सफल भएको उपाध्यक्ष कुँवरले बताए ।