चितवन । गैँडाको लागि उर्वरभूमि मानिएको चितवन राष्ट्रिय निकुञ्जभित्र पश्चिमी क्षेत्रबाट पूर्वी क्षेत्रमा गैँडा आन्तरिक स्थानान्तरण गरिँदै छ ।
निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको घनत्व बढी भएसँगै केही समस्या सिर्जना भएका छन् । ती समस्या समाधान गर्न र पूर्वी क्षेत्रलाई गैँडाको बासस्थान बनाउनका लागि १० वटा गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । बिभिन्न अध्ययनले पूर्वी क्षेत्रलाई गैँडाको बासस्थान बनाउनुपर्ने देखाएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले भन्नुभयो, अब आन्तरिक स्थानान्तरणका लागि सबै तयारी पूरा भइसकेको छ । आजभोलीबाट काम सुरु हुन्छ । गैँडा स्थानान्तरण गर्नका लागि निकुञ्जका हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, नेपाली सेना, संरक्षण साझेदार संस्थाका प्रतिनिधि सहभागी हुने भएका छन् ।
सो कामका लागि विभागबाट इकोलोजिष्ट श्यामकुमार साहको नेतृत्वमा प्राविधिक टोली चितवन पुगिसकेको छ ।
यस अघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा गठित अध्ययन टोलीको दिएको प्रतिवेदन अनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । विभागका उपमहानिर्देशक वेदकुमार ढकालको नेतृत्वको अध्ययन टोलीले यस विषयमा प्रतिवेदन दिएको थियो । आठ वर्षदेखि माथि र २० वर्षभन्दा मुनिका गैँडालाई स्थानान्तरण गरिने भएको छ ।
वन तथा वातावरण मन्त्रालयले १० वटा गैँडा स्थानान्तरणको निर्णय गरेको छ भने पहिलो चरणमा छ वटा गैँडा स्थानन्तरण गरिने भएका छन् । बाँकी चार वटा गैँडा दोस्रो चरणमा स्थानान्तरण गर्ने कार्यक्रम रहेको छ । यस अघि चितवनबाट बर्दिया, शुक्लाफाँटा र कोशी टप्पुमा पनि गैडा स्थानान्तरण गरिसकिएको छ ।
चितवनमा एकै स्थानमा गैँडा केन्द्रित हुँदा रोगव्याध र प्राकृतिक विपदबाट गैँडा झन जोखिममा पर्न सक्ने देखिएपछि आन्तरिक स्थानान्तरण गर्नुपरेको हो । २०७४ सालमा बाढीका कारण धेरै गैँडा बगेर भारत पुगेका थिए । केही गैँडा उद्धार गरी फिर्ता ल्याइएपनि कति गैँडा बगे, कति मरे र कति उतै भारत तर्फ रहे भन्ने एकिन छैन । भविष्यमा कुनै रोगब्याधीले सबै गैँडामा असर पर्न सक्नेतर्फ विभाग सचेत रहँदै आएको छ ।
घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्वी भेगमा लैजान लागिएको निकुञ्ज विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गनाले बताए ।