काठमाडौँ । जलवायु परिवर्तनको असरले नेपाल बढी जोखिममा रहेको मुलुक भएकाले नेपालले आगामी दिनमा जलवायु वित्तका लागि अझै कडा मिहिनेत गर्नुपर्ने कुरा संयुक्त राष्ट्र संघीय निकायहरुका प्रमुखहरुले बताएका छन् ।
नेपालमा जलवायु संकट र समाधानका उपाय बारे सञ्चारकर्मीहरुसँगको छलफलमा ती निकायका प्रमुखहरुले जलवायु वित्तसम्मको पहुँच बढाउन निकै मिहिनेत र नेपालको निरन्तर फलोअपको खाँचो रहेको कुरा औल्याएका छन् ।
सञ्चारकर्मीहरुसँगको अन्तक्र्रियामा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम नेपालका डेपुटी आवसीय प्रतिनिधि जुलियन चेभिलर्डले नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना भएकाले नेपालले हरित ऊर्जा तर्फ लाग्नु पर्ने बताए ।
उनले भने, बढ्दो तापक्रमले नेपालका हिमाली क्षेत्र बढी आक्रान्त छ । यूएनडिपीको सहयोगमा च्छोरोल्पा र इम्जा हिमतालको जोखिम न्यूनीकरण गरिएको थियो । आगामी दिनमा त्यस्तो खालको सहयोग गर्न यूएनडिपी तयार छ ।

सञ्चारकर्मीहरुसँगको अन्तक्र्रियामा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका आवासीय प्रतिनिधि केन सिमिजुले नेपालले जलवायु वित्तको लागि पहुँच बढाउनु पर्ने तर त्यसका लागि अहिलेकै प्रयास पर्याप्त नभएको बताए ।
उनले भने, क्लाइमेट फाइनान्सममा एक्सेस बढाउनका लागि नेपालले धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ । जसरी टापु मुलुकहरुले कडा मिहिनेत र एक्येवद्धताका साथ काम गरेका छन्, त्यो हेरेर पनि हिमाली मुलुकहरु नेपाल लगायतले साझा अवधारणा बनाएर काम गर्नुपर्ने देखिन्छ ।
सञ्चारकर्मीको एक जिज्ञासामा उनले भने, हामी दातृ निकायले त नेपालले जलवायु वित्तको बढी सदुपयोग गरोस भन्ने चाहाना राख्छौँ र त्यसको लबिङ पनि गरिहेका छौँ । नेपालका प्रधानमन्त्रीको लबिङले धेरै राम्रो काम गरेको देखिएको छ । अरु निकायले पनि त्यसरी नै सक्रिय हुनुपर्छ ।
कार्यक्रममा विश्व खाद्य कार्यक्रमका रोबर्ड कास्काले साना टापु मुलुकहरुले साझा एजेण्डाका रुपमा विश्व मञ्चमा जसरी कुरा उठाउने गरेका छन्, त्यसैगरी हिमाली मुलुकका आवाज पनि आउनुपर्नेमा बताए । केही दिन अघि नेपालमा भएको हिमाल, मानव र जलवायु विषयको अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललाई यो दिशामा डो¥याएको समेत उनले बताए ।

उनले भने, जलवायु वित्तमा पहुँच नै अहिलेको सबैभन्दा महत्वपूर्ण कुरो हो । त्यसमा नेपाल लाग्नुपर्छ । उनले जलवायु परिवर्तनको प्रभावलाई सधैँ नकारात्मक ढंगले मात्र हेर्न नहुने र कुनै स्थान विशेष जलवायु परिवर्तनको असरले सकारात्मक असर पारिरहेको पनि उनले दावी गरे ।
उनले जलवायु परिवर्तनले नेपालको कृषि तथा खाद्य प्रणाली निकै प्रभावित भइरहेको बेला स्थानीय ज्ञान र नयाँ प्रविधिको प्रयोगलाई नेपालले अवलम्बन गर्न सक्नुपर्ने पनि बताए ।

कार्यक्रममा युनिसेफका डेपुटी आवासीय प्रतिनिधि जी ह्युन रहले जलवायु परिवर्तन र बालबालिकाको अवस्था बारे बोलिन् । उनले भनिन्, जलवायु परिवर्तनका कारण नेपालमा बालबालिकाका नयाँ नयाँ खालका रोगहरु देखिन थालेका छन् । कुपोषण, पुड्कोपना लगायतका समस्याले गर्दा विद्यालय जाने बालबालिका पढाइबाट बञ्चित हुने गरेको बताउँदै उनले भनिन्, बालबालिकालाई वातावरणको च्याम्पिएन बनाउन कोशिस गर्नुपर्छ । ताकी बालबालिकाले पनि जलवायु परिवर्तनको असरका बारे भन्न, बोल्न र जान्न सक्ने हुनुपर्छ ।
अन्तक्र्रिया कार्यक्रममा नेपालमा वातावरण क्षेत्रमा काम गर्ने सञ्चारकर्मी तथा संयुक्त राष्ट्र संघीय बिभिन्न कार्यक्रमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।