बाढी, पहिरोको बितण्डा, १९२ ले ज्यान गुमाए

काठमाडौँ । तीन दिनसम्म भएको अविरल वर्षाले भएको बाढीपहिरो र डुबानमा परी सोमबारसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना अझै बेपत्ता छन् ।

गृह मन्त्रालयका अनुसार प्राकृतिक विपदमा एक सय ९४ जना घाइते भएक छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपदबाट प्रभावित भएका व्यक्तिको उद्धार गरिएको छ ।

तिवारीले बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिए । यद्दपी यो पटकको विपदमा गृह मन्त्रालयको सक्रियता अपेक्षाकृत नभएको टिप्पणी चौतर्फी भइरहेको छ ।


दुई जिल्लाका सिडियो फेरिए
गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले आइतबार काभ्रेपलाञ्चोक र धादिङका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको हो । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई गृह मन्त्रालयमा तानिएको छ भने मन्त्रालयका सहसचिव उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा तानिएको छ भने उनको ठाउँमा मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ ।


कोरिया जान लागेका दम्पत्तीको मृत्यु
पहिरोका विपत्तिमा परेर बुटवल उपमहानगरपालिका–वडा नं १६ सेमलारका ३७ वर्षीय प्रकाश कुँवर, उनकी श्रीमती ३४ वर्षीया अनु मल्लले विवाह गरेको डेढ महिनामै सँगै ज्यान गुमाएका छन् । दुई महिनाअघि कोरियाबाट नेपाल फर्केका प्रकाशले काठमाडौंकी अनुसँग साउन २७ गते विवाह गरेका थिए ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोटदह पुर्ख्यौली घर भएका उनीहरू विवाहपछि घुम्न गुल्मी पुगेका थिए । गुल्मीबाट फर्किएर प्रकाश र अनुले विवाह दर्ता गराएर केही आफन्त भेटघाट गरे भने केही ठाउँ सँगै घुमेर विवाहपछिको जिन्दगीका योजना बनाएका थिए ।

तर ती योजना डेढ महिनामै बिलाएका छन् । शक्रबार राति धादिङको झ्याप्लेखोला पहिरोमा पुरिएको लु १ ज ४५७८ नम्बरको वींगरमा सवार प्रकाशको २० दिनपछि अर्थात अक्टोबर १८ गते कोरिया फर्किने टिकट रहेको थियो । यही गाडीमा च्यापिएर प्रकाश र अनुको दुःखद अन्त्य भएको हो । उनीसँगै गएकी प्रकाशकी बहिनी सिजनाको पनि पुरिएर मृत्यु भएको छ ।

प्रकाश केही समयमा हिँड्ने भएकाले र अन्य परिवार काठमाडौंमै रहेकाले भेटघाट गर्ने र उतैबाट कोरिया फर्किने उद्देश्यले उनीहरुले शुक्रबार बिहान टिकट काटेर हिँडेका थिए । दाजु–भाउजूले आग्रह गरेपछि बहिनी सिर्जना पनि सँगै काठमाडौं हिंडेकी थिइन् ।

उनले पनि भारतको बेंग्लोरबाट बीएस्सी नर्सिङ उत्तीर्ण गरेर बेलायत जानका लागि भाषा कक्षा पढ्दै थिइन् । भाषा कक्षाको परीक्षा दिनुपर्ने भएकाले काठमाडौंबाटै दिने गरी दाज–ुभाउजूसँगै गएको दाजु गोविन्द कुँवरले बताए । उनी सबै पीडा बोकेर पारिवारिक जिम्मेवारीअनुसार शव बुझ्न काठमाडौं गएका छन् ।

‘दैवले खोजेर लैजान्छ भन्थे त्यस्तै भयो मेरो परिवारमा, खै के भयो भयो, मैले भन्ने सक्दिनँ’, उनले पत्रकारसँग भनेका छन् । शुक्रबार बिहान घरबाट हिँडेका उनीहरू चढेको गाडी पुरिएको भन्ने खबर शनिबार साँझ मात्रै परिवारले खबर पाएका थिए ।यही गाडीमा गुल्मीको गुल्मी दरबार गाउँपालिकाको चारपालाका विवेक रायमाझीले परिवारका तीन सदस्य गुमाएका छन् । उनका ६३ वर्षीय बुवा जुद्धबादुर रायमाझी, उनकी श्रीमती २८ वर्षीया प्रमिता रायमाझी र २ वर्षका छोरा क्रिस रायमाझीको मृत्यु भएपछि विवेकले अत्यन्तै पीडादायक अवस्थामा मलाई मात्रै किन छाडेको भनेर सामाजिक सन्जालमा लेखेका छन् । ‘सबै खुशी एकएक गरेर लगिस्, अब मलाई मात्रै लग्न बाँकी छ’ विवेकले फेसबुकमा लेखेका छन् ।

उनीहरू तीनै जना काठमाडौंमा प्रमिताका श्रीमान् विवेकले मोटरसाइकलको व्यवसाय गर्ने भएकाले उतै बस्ने गरी हिँडेका थिए । शुक्रबारदेखि अविरल वर्षापछि आएको बाढीपहिरोले यस्ता धेरै विपत्ति ल्याएको छ । यो गाडीमा तीन परिवारका तीन तीन सदस्यको एकैपटक निधन भएको छ । १४ जना सवार भएपनि एक चालक र अन्य एक यात्रुको पहिचान खुलेपनि बाँकीको पहिचान खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here