बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या २१७, अझै २८ जना वेपत्ता

काठमाडौँ । केही दिनअघि परेको अविरल वर्षाका कारण भएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या दुई सय १७ जना पुगेको छभने २८ जना अझै बेपत्ता रहेका छन् ।

देशका बिभिन्न घटनामा परी एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन्। बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको समेत उनले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने सडकमा रोकिएका सवारीसाधनहरु निकै लामो लाइन रहेको छ ।

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृहमन्त्रालयले जनाएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताएका छन् ।


एकतर्फी बाटो खुल्यो
धादिङस्थित पृथ्वी लोकमार्गमा सुख्खा पहिरो जाँदा अवरूद्ध भएको थियो तर अहिले एकतर्फी खुलेको जानकारी प्रहरीले दिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गजुरी गाउँपालिका २ परेवा भीरमा सुख्खा पहिरो खसेको हो। भर्खरै एकतर्फी बाटो खुला गरिएको धादिङ प्रहरीले जनाएको छ। सडक खुलाउन सम्पूर्ण सुरक्षा निकाय खटिएको कार्यालयले जनाएको छ।


दाउन्नेमा पनि अवरुद्ध

सोमबार रातीदेखि पश्चिम नवलपरासीको दाउन्नेमा बाटो भासिएपछि पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण बर्दघाट नगरपालिका ४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्वपश्चिम राजमार्ग भासिएसँगै यो बाटो अवरुद्ध हुँदा पूर्वपश्चिम जाने यात्रुहरु बाटोमा अलपत्र रहेका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने सडकमा रोकिएका सवारीसाधनहरु निकै लामो लाइन रहेको छ । हिजो बेलुका देखि सडक अवरुद्ध हुँदा यात्रुहरूलाई निकै कठिनाइ भएको छ ।

अवरुद्ध सडक खुलाउन चाइनिज कन्स्ट्रक्सनमार्फत गएराती ११ बजेदेखि माटो भर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।सडक भासिएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिएका छन् । उनका अनुसार सडक अनुमानित डेढ फिट भासिएको छ ।

बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युत्‌को ‘हाइटेन्स पोल’ पनि सडकमा ढलेको प्रहरी नायब उपरीक्षक बोहराले बताए । बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीको संयुक्त प्रयास भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here