काठमाडौँ । वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले आफ्नो पदीय मर्यादालाई भूलेर विदेशी संस्था तथा दाता निकायलाई अब डिक्टेट गर्ने बताए ।
शनिवार बाघ दिवस २०२३ अवसरमा ललितपुरको सदर चिडियाखानामा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री महतोले औला ठड्याएर भने, ‘‘हिजो तिमीहरुले हामीलाई डिक्टेट गरयौ, अब तिमीहरुले डिक्टेट गर्ने होइन, नेपालमा काम गर्छौ भने हामीले तपाईलाई डिक्टेट गर्ने हो । अब मैले डिक्टेट गर्छु ।’’
वन मन्त्रालय आफै आयोजक रहेको कार्यक्रममा बोलाएर यस्तो खालको अभिव्यक्ति दिँँदै अन्तर्राष्ट्रिय संरक्षण साझेदार संस्थाका प्रतिनिधिहरुको अपमान पनि गरे । लामो समयदेखि नेपालको संरक्षण साझेदारको रुपमा काम गरेका संयुक्त राष्ट्र संघीय विकासका कार्यक्रम, विश्व वन्यजन्तु संरक्षण र जेडएसएलको उच्च नेतृत्वलाई आमन्त्रण गरेर उनीहरुलाई डिक्टेट गर्छु भनेका मन्त्री महतोले उस्किँदै अगाडि भने, ‘‘संस्था अमेरिकामा दर्ता भएको छ, अनि उसको नीति, नियम मानेर हामीले काम गरिदिनु पर्ने ? किन हामीले गर्नै पर्ने केही छ र ? तिमीहरुका नियम र नीति मानेर हामीले कार्यक्रम गर्न जरुरी छैन ।’’
नेपालको संविधानले मन्त्री पदमा बस्दा पालना गर्नुपर्ने पदीय आचरणको व्यवस्था गरेको छ । मन्त्री पदमा बसेर द्विपक्षीय, बहुपक्षीय सन्धी, सम्झौताका बिरोधमा, दैत्य सम्बन्ध भएका मुलुक तथा त्यो मुलुकले प्रदान गर्ने आपसी सहयोगको बिरुद्ध हुने गरी र दुई देशका बीच आँच आउने गरी बोल्न नहुने पदीय मर्यादालाई भूलेर महतोले यस्तो भाषण दिएका छन् ।
नेपालमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले काम गर्न थालेको हिजो अस्ति देखि होइन, नेपाल सरकारसँग सम्झौता गरेर पचास वर्ष भन्दा बढी समय नेपालमा काम गरिरहेको संस्थालाई औलो ठड्याउँदै तिमीहरुलाई अब मैले डिक्टेट गर्छु भन्नु मन्त्री महतोको अबुझपनको पनि सीमा नाघेको हो ।
भाषणमा उनले त्यति मात्र भनेन् । उनले भने, ‘‘कनिका छरे जस्तै तिमीहरुले दुई÷दुई लाख दिने ? हिसाव हेर्दा बाफरे बाफ कति हो कति ? तर काम हेर्दा न घरको न घाटको जस्तै । न खल्तीमा हालौँ जस्तो न फालौँ जस्तो ? यस्तो नि हुन्छ । आइन्दा काम गर्ने बिचार छ भने देखिने गरी गर्नुहोस् । हामी अनि स्वागत गर्छाैँ ।’’
भाषणमा मन्त्री महतोले कड्किदै भने, ‘‘विदेशमा संस्था खोल्ने अनि नेपालमा सम्झौता गरेर काम गर्ने तर काम के छ भन्दा केही पनि छैन । त्यस्ता संस्थाको अब काम छैन । ’’ मन्त्री महतोले भने, ‘दुई÷चार पम्पलेट छर्ने । दिनभरीका पत्रिका अनि सञ्चारमाध्यम हे¥यो भने बाफरेबाफ कति हो कति काम भएको जस्तो लाग्छ तर सबै प्रचारप्रसार मात्रै । काम खै ?

नेपालमा संरक्षण साझेदार संस्थाका रुपमा डब्लुडब्लुएफले ३० वर्ष काम गरेको छ । केही महिना अघि मात्र ३० वर्ष पुगेको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बोलाएर कार्यक्रम आयोजना गरेको थियो । नेपाल सरकारसँग सम्झौता गरेर नै नेपालमा उसले वन्यजन्तु संरक्षणमा काम गरिरहेको छ । उसले हरेक वर्ष नेपाली विद्यार्थीलाई छात्रवृति दिने गरेको छ, संरक्षणमा लागेका नेपाली व्यक्तित्वलाई सम्मान गर्ने गरेको छ । वन मन्त्रालयका अधिकारीहरुलाई विदेश घुम्नका लागि वार्षिक रुपमा करोड रुपियाँ भन्दा बढी लगानी गर्ने गरेको छ । त्यति मात्र होइन, संरक्षणमा लागेको स्थानीय समुदायको जीविकोपार्जन, राहत वितरण लगाएको काममा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
प्रायः जसो वन मन्त्रालयका सचिव, सहसचिवको विदेश भ्रमणको लागि अन्तिम र आकर्षक सहयोगी निकाय यूएनडिपी हुने गरेको छ । यूएनडिपीले वन मन्त्रालयका हरेक सचिव, सहसचिवको विदेश घुमाईलाई आनन्दमयी बनाउने गरी भत्ता र टिकटका व्यवस्था गर्ने गरेकै छ ।
जेडएसएलले वन मन्त्रालयले भने, लाए, अह्राए अनुसारको पैसापानीको व्यवस्था गर्दै आएको छ । निकुञ्ज विभागले अघि सारेका कार्यक्रमलाई जेडएसएलले सहयोग गर्दै आएको छ । निकुञ्ज विभागका अधिकारीहरुलाई बेला बेला बिदेश घुमाउने काममा जेडएसएलको महत्वपूर्ण भूमिका रहेकै छ । तथापी तिनै निकायका व्यक्तिलाई आमन्त्रण गरेर मन्त्री महतोले सत्ता सरापे, शनिबार बाघ दिवसका कार्यक्रममा निकै त्रर्साए पनि ।
संरक्षण साझेदार संस्थाहरुमा ‘विदेशी संस्थाहरु’ भनेर किटानीका साथ उछिटो खन्ने काममा मन्त्री उत्रिनु र नेपालमै दर्ता भएको अर्काे संरक्षण साझेदार संस्था राष्ट्रिय प्रकृति संरक्षण कोषको नाम नलिनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ । विगत केही वर्षयता एनटीएनसीको व्यवस्थापनको नालायकीपनले कर्मचारी धमाधम जागिर छाडेर जान थालेका छन् । कोषमा भएको स्रोतको मनमर्जी तरिकाले दोहन गरिएको छ ।
बिभिन्न बहानामा अध्यक्ष लगायतका पदाधिकारी कोषको स्रोतका दुरुपयोग गर्दै कहिले अमेरिका त कहिले युरोपका मुलुकमा झुल्केका छन् । कोभिडका बेला तल्ला तहका कर्मचारीलाई आधा महिनाको तलब दिएर व्यवस्थापनले लाखौका खाजा खाएको बीलको भुक्तानी लिएका छन् । कोषमा भएका सवारी साधन के कामका लागि र कसका लागि प्रयोग गरिएका भन्ने तथ्याङ्क छैन । केही सीमित व्यक्तिले कोषको स्रोत आफ्नै पिताजीको सम्पत्ती जस्तै बह्रमलुट मच्चाउँदा समेत वर्तमान मन्त्री महतोले देख्न नसकेको आभास शनिवारको कार्यक्रममा देखियो ।
कार्यक्रममा उपस्थित एक जना सहसचिवले नेपालकथासँग भने, ‘‘मन्त्रीले किन यहाँ एनटीएनसीको नाम लिएन । ऊ पनि संरक्षण साझेदार संस्था हो । के ऊ दूधले धोएको धातु हो ? यहाँ मन्त्रीले विदेशी संरक्षण साझेदार संस्था मात्र किन उछिटो खनिरहेको छ ? अब थाहा पाउनुहोस् कि उसले अरु पार्टनर अर्गनाइजेसनका बारेमा मन्त्रीको कान कतिसम्म फुक्न भ्याएको रहेछ । यही ठाउँ रोजेर यो कार्यक्रम कसले गर्न लगायो ? यही आँगनबाट किन अरु पार्टनरलाई मुख नअटाउने गरी गाली र धम्की आयो ?

ती सहसचिवले भने, मन्त्रीले डिक्टेट गर्न सक्ने होइन, चित्त नबुझे कार्यक्रम सञ्चालनका लागि सम्झौता नगर भने भइगो नि । डिक्टेट भन्ने शब्द कुनै कोणले राम्रो भएन । मन्त्रीको स्तरले बोल्ने शब्द होइन । अर्काे कुरा नेपाल सरकारसँग काम गर्ने सम्झौता गरेर वर्षाैदेखि सहयोग गर्दै आएका संस्था तथा निकायलाई यस्तो शब्द प्रयोग गर्नु कुटनीतिक मर्यादा पनि होइन । नेपाललाई सहयोग चाहिन्न भने काम गर्न नदिए भइगो तर डिक्टेट गर्छु भन्ने सरासर गलत हो । यो कुटनीतिक मर्यादा विपरित छ ।
बाघ संरक्षणमा नेपाल सरकारको वार्षिक बजेटको हाराहारीमा संरक्षण साझेदार संस्थाहरुको कुल रकम खर्च हुने गरेको छ । यी सबै कुरालाई नजरअन्दाज गर्दै मन्त्री महतोले दिएको अभिव्यक्तिलाई उपस्थित कसैले पनि पचाउन सकेनन् । यी अभिव्यक्तिले संरक्षण साझेदार संस्थालाई फुटाऊ र राज गर भन्ने लाइनमा मन्त्री उभिएका हुन् वा संरक्षण साझेदार संस्थालाई तर्साएर काम गर्नका लागि अपठ्यारो पार्न खोज्दैछन् । त्यो आगामी दिनले देखाउनेछ ।
कार्यक्रममा वन सचिव डा. रेवतीरमण पौडेलले बाघको संख्या वृद्धिसँग देखिएका चुनौतीलाई समाधान गर्न सरकारलाई सहयोग गरिरहेका सबै संरक्षण साझेदार संस्थाको सह्राना गरे भने राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक डा.सिन्धु ढुङ्गानाले वर्तमान नेतृत्वको दृष्टि र बिचार अनुसार कार्यक्रमलाई विकास गर्न सकिने बताए । कार्यक्रमको सभाध्यक्षका रुपमा रहेका विभागका महानिर्देशक ढुङ्गानाले कुटिल रुपमा मन्त्रीका अभिव्यक्ति सच्याउँदै सरकारले एक्लैले केही गर्न नसक्ने भएकाले संरक्षण साझेदार संस्थाको आवश्यकता परेको र नेपालको आवश्यकता अनुसार संरक्षण साझेदार संस्थाले सहयोग गर्नु पर्नेमा जोड दिए । यस अघि बाघ दिवका अवसरमा बबरमहलस्थित वन परिसर अगाडि रहेको होडिङ बोर्डको अनावरण गरिएको थियो ।