काठमाडौँ । फाँपरको ढिडो, फाँपरको रोटी अनि लोकल कुखुराको झोल । प्रायः जसो सबै सहर बजारमा राम्रा र महंगा रेष्टुरेन्ट तथा होटलमा लेखिएको देखिन्छ । कुनै बेला फाँपर गरिवले खाने, जंगलमा सड्ने अनि हेपिएको चिज बस्तु मानिन्थ्यो । मानिसको खानपान फेरिएसँग फाँपरको प्रयोग पनि बढ्न थालेको छ । काठमाडौँमा पछिल्लो समयमा फाँपरको पाउरोटी पनि पाउन थालेको छ ।
फाँपरको रोटी, ढिडो पछि अहिले फापरको पाउरोटी उत्पादन सुरु भएको छ । उच्च हिमाली क्षेत्रमा पाइने फाँपरको बिभिन्न परिकार निर्माण गर्ने क्रममा हुम्लामा पाउरोटीको व्यावसायिक उत्पादन गरिन थालिएको हो । हुम्लामा प्रायः जसो भोकमरी हुने ठाउँ हो । यो ठाउँमा पनि हेलाको अन्नका रुपमा हेरिदै आएको फाँपरले हाल आएर महत्व पाएको छ । खासै भन्नुपर्दा यहाँ उत्पादन गरिएको पाउरोटी स्थानीय बासिन्दालाई भन्दा जिल्ला बाहिरबाट आएका कर्मचारी, पर्यटक लगायतले धेरै खोज्न थालेपछि पाउरोटीको उत्पादन हुन थालेको हो । पाउरोटीको माग बढ्न थालेपछि स्थानीय उत्पादनले काठमाडौँसम्म बजार लिएको छ ।
हुम्लामा उत्पादन भएको पाउरोटी काठमाडौँको व्यापारीले लिन थालेका छन् । विशेष गरेर ठमेल र दरबारमार्गका होटल तथा रेष्टुरेन्टमा यसको बजार रहेको छ । हुम्लाको सिमकोट खाद्य उद्योगका सञ्चालक मुकुन्द रोकायाका अनुसार हाल मासिक रुपमा १० लाख रुपियाँका फाँपरको पाउरोटी काठमाडौँ मात्र लग्ने गरिएको छ ।
रोकायाले टेलिफोनमा नेपालकथासँग भन्नुभयो, चैतको महिनाभरीका अर्डर आइसकेको छ । हामीसँग सानो उत्पादन क्षमताको भट्टी छ । माग निकै बढी भएकाले उत्पादन गर्न सकिन्छ कि सकिदैन भन्ने चिन्ता छ ।
कति उपयोगी छ फाँपर ?
मावन शरिरका लागि रक्तसञ्चार चुस्त, दुरुस्त राख्न, डायोबिटिज तथा प्रेसरका बिरामीलाई फाँपरको परिकार औषधी हुने चिकित्सकले बताएका छन् ।
डा. कपिल जोशीका अनुसार फाँपरको परिकार नियमित सेवनले पेटमा भएको कब्जियत, प्रेसरका विरामीलाई त रामबाण जस्तै हुन्छ । उहाँका अनुसार विदेशमा त विरामीले खानाका लागि पाउरोटी, चाउमिन, रोटी, बिष्कुट लगायतका परिकार पनि बनाएका भेटिन्छन् ।