चरिकोट । आजभन्दा झण्डै सात वर्ष (सन २०१२) पहिले नै निर्माण सम्पन्न गरि सक्नुपर्ने दोलखाको सिंगटीदेखि सिन्धुपाल्चोकको लामोसाँगुसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन निर्माण कार्यले अझै गति लिन सकेको छैन ।
सन् २०१० मा दुई वर्षमा पूरा गर्ने गरी नेपाल विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग ठेक्का सम्झौता गरेरको थियो तर सो कम्पनीले बिभिन्न वहानाबाजी गर्दा गर्दै करिब नौ वर्ष बितिसकेको छ । यो अवधिमा करिब ८५ प्रतिशत काम मात्र सकिएको सिंगटी लामोसाँघु प्रसारण लाइन आयोजनाका प्रमुख राजन ढुङ्गेलले बताउनुभयो ।
१३२/३३ को सव स्टेशन सहित १३२ केभी प्रसारण लाइन निर्माणमा एक सय २४ वटा टावर निर्माण गर्नुपर्नेमा ३७ वटा टावर मात्र हालसम्म बनेका छन् । ७६ वटाको फाउन्डेसन सकेर टावर जडानको काम भइरहेको छ भने ११ वटाको फाउन्डेसनको काम भईरहेको छ ।
दोलखाको उत्तरी क्षेत्रमा उत्पादन हुने जलविद्युतलाई व्यवस्थापन गर्ने गरी प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सवस्टेसनका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करिब ४२ करोड रुपैयामा ठेक्का सम्झौता गरेको थियो । तर प्रसारण लाइन निर्माणमा भइरहेको ढिला सुस्तीले जिल्लामा उत्पादित करिब ७ मेघावाट बिद्युत खेरा गइरहेको छ । उत्पादित बिद्युतको अनुपातमा पर्याप्त प्रसारण लाइन बन्न नसक्नु र बन्दै गरेको एकाध आयोजनामा समेत ठेकेदार कम्पनीले लापरवाही गर्दै ढिला सुस्ती गर्न थालेपछि उत्पादित विद्युत खेर गएको हो । ओभर लोडकै कारण जिल्लामा छिनछिनमा विद्युत कट्ने समस्या बढ्दै गएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख अमृत बावु अधिकारीले जानकारी दिनुभयो ।
तर पछिल्लो ३ महिना यता भने सिंगटी–लामोसाँगु प्रसारण लाईन निर्माण कार्यले गति लिएको छ । सिंगटी र लामोसाँघुमा दुई ठाउमै बनाउनुपर्ने सवस्टेसनको काम पनि ९० प्रतिशत सकिएको छ । टावर निर्माणका लागि जग्गा अधिग्रहणदेखि मुआब्जा वितरण लगाएका काममा समेत खासै अवरोध नरहेको निर्माण कम्पनीले जनाएको छ ।
प्रसारण लाइन बनेपछि ११ मेगावाटको सिप्रिङ जलविद्युत् आयोजना र निर्माणको अन्तिम चरणमा रहेका ४० मेगावाटको खानीखोला, २५ मेगावाटको सिँगटीखोला, ११ मेगावाटको तल्लो खारेखोला, ५ मेगावाटको घट्टेखोलाबाट उत्पादित विद्युत् प्रसारण लाइनमा जडान गरिनेछ ।
यो प्रसारण लाइन समयमै निर्माण हुन नसके यी सबै विद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर जाने प्रवद्र्धकहरुले बताउँदै आएका छन् ।