नेपालगञ्ज । भारतीय क्वारेन्टाइनले ५४ प्रकारका विभिन्न जडिबुटीको भारत निकासीमा प्रतिवन्ध लगाएपछि गत दुई महिनादेखि नेपालगञ्ज नाकाबाट जडिबुटी निकासी बन्द भएको छ ।
नेपालगञ्जमा मात्रै भारत निकासी गर्न राखिएको २० हजार क्वीन्टल जडिबुटी गोदाम थन्किएको व्यवसायीले बताएका छन्
नेपाल जडिबुटी व्यवसायी संघले नेपालगञ्जमा पत्रकार सम्मेलन गरी गत ६ महिनादेखिनै निकासीमा समस्या आएको र हाल पछिल्लो दुई महिनादेखि पूर्ण रुपमा जडिबुटी निकासी बन्द भएको जानकारी गराएको छ । यो कार्यबाट व्यवसायी मर्कामा परेको गुनाशो समेत व्यवसायीले गरेका छन् ।
भारतीय क्वारेन्टाइनले बोजो, इलायची, अकरकरा, चुठोको जरा, ब्राह्मी, कपुर, दालचिनी, बेसार, ओखर, धूप, काउलो, पुदिना, तुलसी, कुटकी, पिपल, मजिठो, रिठा, गोखरु, मेथी, सिस्नुको पात, भmयाउ, सुगन्धवाल, टिमुर र सुठो लाई मात्र निकासीको अनुमति दिइएको छ । अन्य सबै जडिबुटीको निकासीमा रोक लगाएको छ ।
संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले भारत निकासी हुने सबै जडिबुटीलाई भारतीय क्वारेन्टाइनले प्रतिवन्ध लगाएपछि निकासी शून्यमा पुग्दा देशभरी १० अर्ब बराबरको १० हजार मेट्रिक टन जडिबुटी व्यवसायीको गोदाममा थन्किएको दाबी गर्नुभयो ।
नेपालगञ्जमा मात्रै डेढ अर्ब रुपैयाँको जडिबुटी व्यवसायीका गोदाममा थन्किएको छ भने अन्य स्थानमा पनि निकासी नहुदा थन्किन पुगेको बताइएको छ ।
अन्सारीले भन्नुभयो, ‘निकासी नभएर गोदामा थन्किएपछि रिठाको रंग उडिरहेको छ, टिमुरको सेन्ट हराईरहेको छ भने पदमचाल र पखानवेदमा किरा लाग्न थालेको छ । व्यवसायीको समस्या कसले बुझिदिने ?
जडिबुटीको निकासी ठप्प हुँदा खेती, संकलन र विक्री वितरणमा संलग्न करिब २५ लाख नेपालीहरु प्रत्यक्ष प्रभावित भएको संघको दावी छ ।
भारतमा सबैभन्दा बढी निकासी हुने जडिबुटीहरु मध्ये रिठा, टिमुर, बोजो, तेजपत्ता, कुटकी, दालचिनी र कपुर जाने गरेको छ ।
प्रधानमन्त्रीलाई ज्ञापन पत्र
९९ प्रतिशत जडिबुटी भारतमै निकासी हुँदै आएकोमा अहिले निकासी बन्द हुँदा किसान, संकलक र व्यवसायी सबै मारमा परेकोले नेपालगञ्ज आउनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि मंगलवार साँझ भेटेर व्यवसायीले ज्ञापन पत्र बुझाएका छन् ।
सबैभन्दा बढी भारतमा निकासी हुने तथा माग भएका जडिबुटीहरु पखानवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाई, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामासी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइल लगायतका विभिन्न तयारी तेललाई समेत निकासीमा प्रतिवन्ध लगाईएको छ ।