सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले निकुञ्ज क्षेत्रभित्रका वन्यजन्तुबाट पीडित स्थानीय व्यक्तिलाई राहत रकम वितरण गरेको छ ।
चालु आर्थिक वर्षको अवधिमा निकुञ्ज क्षेत्र भित्रका वन्यजन्तुबाट भएको घरपालुवा जनावरलाई पुर्याएको क्षति बापतको राहत रकम वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले नेपालकथालाई बताउनुभयो ।
उहाँका अनुसार निकुञ्जभित्रका वन्यजन्तु ब्वाँसो र चितुवाले आक्रमण गर्दा यहाँका पशुपालक किसानका १०६ वटा घरपालुवा जनावरको मृत्यु भएको थियो । निकुञ्ज कार्यालयले दिएको तथ्याङ्क अनुसार नाक ३४ वटा, याक २८ वटा, चौरीगाई २६ वटा, जोक्पे १० वटा र गोरु ८ वटा मरेको थिए ।
वन्यजन्तुबाट पीडित ५४ घरपरिवारलाई कुल ३१ लाख ४५ हजार रुपियाँ राहत स्वरुप वितरण गरिएको छ ।
वन्यजन्तु सप्ताहका अवसर पारेर सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयलद्वारा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमका अवसरमा सो राहत रकम वितरण गरिएको हो । स्थानीय जनप्रतिनिधि, शमसेर गुल्म नाम्चेका गुल्मपति दिपेन्द्र न्यौपाने, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय समुदायको सहभागितामा राहत वितरण गरिएको हो ।