काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशै ताका राजधानी उपत्यकामा फोहोर थुप्रिन सक्ने सम्भावना बढेको छ ।
काठमाडौँ महानगरपालिकालाई दशैँमा उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या हुने भएपछि दशैताका सडकमा फोहोर थुप्रिने सरकारी अधिकारीले बताएका छन् ।
बाटो निर्माण भइरहेकाले कामपालाई पछिल्लो समय काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या भएको हो ।
दुई सातादेखि नुवाकोटस्थित फोहर विसर्जन गरिँदै आएको स्थान सिसडोल जाने बाटो नागार्जुनमा मर्मतको काम भइरहेकाले फोहर व्यवस्थापनमा समस्या आएको कामपाको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
दशैँसम्म बाटो निर्माणको काम जारी रहने भएकाले दशँैमा फोहर व्यवस्थापन गर्न समस्या हुने उहाँ बताउनुहुन्छ । अन्य समयमा भन्दा वर्षात्को समय र चाडबाडमा काठमाडौँ उपत्यकामा फोहर बढी हुन्छ ।
काम नभएको समयमा थोरैको अनुपातमा फोहर व्यवस्थापन गरिँदै आएको भए पनि नियमित रुपमा फोहर व्यवस्थापन हुन सकेको छैन । “अहिलेदेखि नै फोहर थुप्रिदा दशैँमा थप समस्या हुन्छ”, श्रेष्ठले भन्नुभयो ।
दुई वर्षका लागि फोहर व्यवस्थापन गर्ने भने पनि १३ वर्षदेखि सिसडोलमा फोहर बिसर्जन गरिँदै आएको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर उक्त स्थानमा बिसर्जन गरिन्छ ।
उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिक टन फोहर सङ्कलन हुँदै आएको छ ।
हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी दुई सय गाडी फोहर फाल्न प्रयोग गरिँदै आएको छ । सिसडोलबाट दुई किलोमिटर टाढाको बञ्चरे डाँडामा सरकारले दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण गरिरहेको छ ।