काठमाडौँ । मकवानपुरमा स्क्वास फर्सी फल्न थालेको छ । मकवानपुरगढी गाउँपालिका ३ स्थित धमिलेफाँटमा किसानहरुले पहिलो पटक लगाएको स्क्वास फर्सी उत्पादन गरी बजार बिक्री गर्न थालेका छन् ।
फर्सी किसानकै बारीबाट प्रति केजी २५–३० रुपियाँसम्ममा बिक्री हुन थालेपछि किसानहरु निकै खुसी भएका छन् ।
खेतमा उत्पादन भएको स्क्वास (जुकिनी) फर्सी दोश्रो लट टिपेको बताउँदै मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाका संयोजक चन्द्रकान्त चौधरीले प्रत्येक ५–६ दिनमा फर्सी टिप्ने कार्य निरन्तर चलिरहेको बताउनुभयो ।
उहाँकाअनुसार स्थानीय किसानले पहिलो पटक गरेको फर्सी खेतीमा हालसम्म खासै समस्या नदेखिएको र फाटफुटरुपमा फल कुहिने समस्या रहेको छ । आगामी फागुनसम्म फल्ने र दुबैजनाको गरी करिव २० टन स्क्वास फर्सी उत्पादन हुने अनुमान गरिएको छ । किसानले फर्सीसँगै काक्रो, खुर्सानी र गोलभेँडा खेतीको तयारी थाल्नु भएको छ ।