कोहलपुर । पश्चिम नेपालमा बाघको संरक्षण गर्न बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरिएको हो । निकुञ्ज स्थापना हुनु अघि नै पूर्व पश्चिम राजमार्ग बनिसकेको थियो । निकुञ्जको योजना विना नै निर्माण भएको राजमार्ग अहिले वन्यजन्तुको ज्यान लिने ‘हट स्पट’ बन्न थालेको छ ।
निकुञ्जको उत्तरी चुरे क्षेत्रमा पानीको अभाव छ । पानी पिउन वन्यजन्तु राजमार्गको दक्षिणी भेगमा आउँछन् । राजमार्ग पार गर्न नपाउँदै सयौँ वन्यजन्तुको ज्यान गईसकेको छ ।
निकुञ्ज स्थापना भएयता साना ठूला गरी हजार भन्दा बढी वन्यजन्तुको अकाल मृत्यु हुने स्थल राजमार्ग भइसकेको छ । निकुञ्जका अनुसार गत सात वर्षको अवधीमा ३५४ वटा वन्यजन्तुले ज्यान गुमाएको तथ्याङ्क अध्यावधिक गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जको दुई तर्फ राजमार्गले घेरेको छ । निकुञ्जभित्र पूर्वपश्चिम राजमार्ग ७२ किलोमिटर र रत्नराजमार्ग ३० किलोमिटर क्षेत्र पर्छ । ५५० वर्गमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्ज बाँके, सल्यान र दाङ जिल्लासँग जोडिएको छ ।
निकुञ्ज जस्तो सम्वेदनशिल क्षेत्रभित्र दु्रत गतिमा सवारी साधन गुडाउँदा वन्यजन्तु मात्र होइन, सवारी साधन पनि दुर्घटना हुने दर बढेको छ । त्यसैले निकुञ्जभित्रको सडक खण्डमा सवारी साधनलाई गति सिमित गरेर गुडाउन निकुञ्जले अनुरोध गरेको छ ।
सवारी साधनको गति ४० किलोमिटर प्रतिघण्टा निर्धारण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताएका छन् ।
निकुञ्जमा वन्यजन्तुको आहारा बढाउने, पानीको व्यवस्थापन गर्ने, चोरी शिकारी नियन्त्रणका लागि निगरानी गर्ने, वन्यजन्तुको व्यवहार अध्ययन गर्ने कार्य पनि प्रभावकारी रुपमा भइरहेको साहले बताए ।