निकुञ्ज विभागले भन्यो, हामी चितवन हिँड्यौँ

काठमाडौँ । सन् २०२२ को बाघको गणनाका लागि राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको उच्चस्तरीय प्राविधिक टोली बिहीवार चितवन प्रस्थान गरेको छ । यही मंसिर १९ गते आइतवारदेखि बाघको गणना चितवन पर्सा कलष्टरबाट सुरु गरिने भएकाले त्यसको अन्तिम तयारीका लागि टोली त्यसतर्फ हिँडेको हो ।

बाघ गणनाका लागि फिल्डस्तरको अन्तिम तयारीमा जुट्न विभागले प्राविधिक टोलीलाई त्यसतर्फ पठाएको हो । विभागका महानिर्देशक डा.रामचन्द्र कँडेलका अनुसार इकोलोजिष्ट तथा प्राविधिक समितिका संयोजक बेदकुमार ढकालको नेतृत्वमा प्राविधिक टोली बिहीवार चितवन हिडेको हो ।

ढकाल नेतृत्वको टोलीमा संरक्षण साझेदार संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहने भएको छ । प्राप्त जानकारी अनुसार डब्लुडब्लुएफका डा. कञ्चन थापा, जेडएसएलका डा. भगवान दाहाल र एनटीएनसीका डा. नरेश सुवेदी टोलीमा सहभागि हुने बताइएको छ ।

यस अघि विभागले पत्रकार सम्मेलनको आयोजना गरी बाघ गणनाका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा विभागका महानिर्देशक डा. कँडेलले पहिलो चरणमा पर्सा चितवन कम्प्लेक्समा गणना गरिने र क्यामराको संख्या कमी भएकाले दोस्रो चरणमा बाँके बर्दिया कलष्टर र शुक्लाफाँटा लालझाडी कम्प्लेक्समा गणनाको काम हुने जानकारी दिए ।
संरक्षण साझेदार संस्थाको सहयोग र समन्वयमा यस वर्षको बाघ गणना सरकारले गर्न थालेको समेत उनले जानकारी दिए ।


बाघको संख्या यस पटक बढ्छ
पत्रकार सम्मेलनमा विभागका महानिर्देशक डा. कँडेलले निकुञ्ज भित्र र बाहिर पनि सरोकारवालाहरुसँगको सहकार्य र सहभागितामा संरक्षणका काम ज्यादै सन्तोषजनक ढंगले भइरहेको हुँदा यस पटकको बाघ गणनामा बाघको संख्या वृद्धि हुने विश्वास व्यक्त गरे ।

उनले भने, चितवन पर्सा कम्प्लेक्समा बासस्थान सुधारको स्थिति राम्रो भएको छ । उता बाँके बर्दियामा पनि उत्साहजनक स्थिति छ । बर्दियाको बबई उपत्यकामा पनि बाघको संख्या बढ्ने स्थितिमा पुगेको छ ।

कार्यक्रममा डा. कञ्चन थापाले पछिल्ला दिनमा बाघको बासस्थान सुधार भएकाले बाघको संख्या वृद्धि हुने संकेत देखा परेको बताए ।


मानव वन्यजन्तु द्धन्द्ध घट्ला ?
बाघको संख्या बढ्दा सन्तोष मान्नु पर्ने अवस्था भएपनि मानव वन्यजन्तु द्धन्द्धका घटना पनि वृद्धि भइरहेको चुनौती थपिदै गएको छ । पछिल्ला वर्षमा बर्दियामा दर्जन भन्दा बढी व्यक्तिको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

लामो समयसम्म संरक्षणमा अनुभव हासिल गर्नुभएका शिवराज भटट्ले भने, हालसाल देखिएका जति पनि घटना छन् । ती सबै घटनाको प्रकृति अध्ययन गर्दा मानिस बाघको बासस्थानमा छिरेपछि द्धन्द्धका घटना भएका छन् । यसका लागि सचेतना जगाउन आवश्यक छ । संरक्षण क्षेत्र वरीपरीको बासिन्दाको वन जंगल भित्र छिर्नुपर्ने आवश्यकता अध्ययन गरी ती आवश्यकता परिपूर्ति गर्ने वैकल्पिक उपाय खोज्न सके यस्ता घटना कम गर्न सकिन्छ ।

विभागका महानिर्देशक डा. कँडेलका भनाईमा पनि बाघ आफै बस्तीमा आएर झम्टिने होइन, मानिस बाघको बासस्थानतिर गएपछि मात्र द्धन्द्धका घटना हुने गरेका छन् । यसका लागि स्थानीय तहमा व्यापक रुपमा सचेतना जगाउन जरुरी छ ।

समस्याग्रस्त बाघलाई उद्धार केन्द्रमा राखेर मात्र समाधान नहुने कुरामा जोड दिँदै इकोलोजिष्ट ढकालले सो अवसरमा भने, समस्याग्रस्त बाघलाई अब प्रदेशस्तरीय चिडियाखानामा व्यवस्थापन गरेर पर्यापर्यटनको विकासमा टेवा पुग्ने गरी सरकारले योजना बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here