तीन सय बिघा वन बगि सक्यो, कसले कारवाही गर्ने ?

टीकापुर । दुई तिहाई बहुमतको सरकार छ, सिंहदरबारभित्रका दर्जनौँ दरबारका ढोका — ढोका अगाढि म भष्ट्राचार गर्दिन र हुन पनि दिन्न भन्ने नारा लिपिबद्ध गरिएका छन् । कोठे बैठकदेखि लिएर आम जनताको भेलामा शुन्य सहनशिलताको नारा घन्काईदै छ । तर यही देशमा एउटा ठेकेदारले समयमै काम नगरिँ दिँदा तीन सय विघा जमिन र जंगल बगिसकेको दृश्य कसैले देख्दैन । ती ठेकेदार काँधी ठाडो गरेर त्यहि सिंहदरबार भित्र बस्ने मन्त्री र मन्त्रालयका उच्च अधिकारीको अगाडि खुट्टमाथि खुट्टा राखेर गफ चुटिरहेका भेटिन्छन् । बिडम्बना यो देशको कथा हो वन जंगल नोक्सानीको ।

कर्णाली नदीमा तटबन्धको ठेक्का लिएको हाई ग्रिभा–सिद्धी शाही प्रकाश जेभी सामाखुशी काठमाडौँले सम्झौता अनुसारको अवधिका जमिन, जमिनमा रहेको बहुमूल्य जंगल मात्र बगाएको छैन नजिकको बस्तीतिर कर्णाली नदी सोझिन लागेको छ । वस्ती नै असुरक्षित हुन थालेपछि ठेकेदारलाई कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् । काम नगर्ने ठेकेदारको लिष्ट पठाउन सिडिओलाई आदेश दिने गृह मन्त्रालय र लिष्ट तयारी गर्ने स्थानीय प्रशासनमा स्थानीय बासिन्दाले दर्जनौँ पटक लिखित निवेदन दिँदा समेत कसैको कानमा यो कुरो छिर्न नसकेपछि अबको परिणाम थप वनजंगल नोक्सान हुँदै कर्णाली नदी बस्तीको सिरानतिर सोझै हानिने भएको छ ।

समयमा काम पूरा नगर्दा सत्ती कर्णाली सामुदायिक वन क्षेत्र कटान भएको छ भने लाखौँ मूल्यको बेत, बाँसको जङ्गल बगिसकेको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट वि.सं २०७२ चैतमा एक हजार ७०० मिटर तटबन्धको काम पाएको जेभीले तीन वर्षसम्म आधा काम पनि पूरा गरेको छैन । “समयमै तटबन्ध गरेको भए त्यस क्षेत्रको करीब ३०० बिघा वन जोगिन्थ्यो, हेर्दा हेर्दै सबै जंगल नदीले बगाएर लग्यो । पोहोर पूरा गरेको भए बाँकी रहेको आठ बिघा बेत बाँसको वन जोगिने थियो, त्यो पनि अब रहला भन्न सकिने स्थिति छैन ।”, सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले भन्नुभयो, “यस वर्ष पूरा भएन भने जङ्गल त जान्छ नै बस्ती पनि खतरामा पर्नेछ ।’

तत्काल काम शुरु नगरे निर्माण कम्पनीलाई कालोसूचीमा राखी कारवाही चलाउन र यसैवर्ष तटबन्धको बाँकी काम पूरा गर्न सिँचाइ आयोजनालाई अनुरोध गरेको अध्यक्ष साउदले बताउनुभयो । स्थानीयका कुरा सुनुवाइ नभए आन्दोलनमा जानुपर्ने बाध्यता रहेको अर्का स्थानीय मनिराम ढुङ्गानाले बताउनुभयो ।

टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले वर्षौँदेखि बाढी प्रभावित भइरहेको वडामा तटबन्ध हुने भएपछि खुशी भए पनि समयमा काम नहुँदा निराश भएको बताउनुभयो । उहाँले वडा नं ८ को ९९४ र वडा नं ९ का चार घर प्रभावित हुने जानकारी दिनुभयो । हुलाकी राजमार्गमा बनेको कर्णाली पुल पनि खतरामा पर्ने उहाँको भनाइ थियो ।

ठेक्का लागेको वर्ष २०७२ यता कर्णाली नदीले ३०० बिघा वन क्षेत्र कटान गरिसकेको छ । गत वर्ष तटबन्ध गरेको क्षेत्रमा कटानी रोकिए पनि बाँकी क्षेत्रमा आठ बिघा जति वेतको जङ्गल बगेको वन अध्यक्ष साउदले जानकारी दिनुभयो । तटबन्धमा ससाना ढुङ्गा प्रयोग गरेको र एक तह मात्रै तटबन्ध गरेकाले जाली भत्किन थालेको छ ।

आयोजनाका डिभिजनल इञ्जिनियर रणबहादुर बमले गत फागुन २५ गते पत्रिकामै सूचना जारी गरिसकेको र फागुन ३० मा सम्पर्कमा आई काम गर्छु भनेको तर कार्यस्थलमा नआइसकेको जानकारी दिनुभयो । । निर्माण कम्पनीसँग रु १४ करोड नौ लाख १४ हजारको ठेक्का सम्झौता भएकामा रु पाँच करोड १७ लाख २९ हजारको काम भइसकेको र रु एक करोड ७९ लाख पेश्की रहेको आयोजनाका सहायक सूचना अधिकारी शङ्कर थापामगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here