कञ्जरभेसन, मोराल र डेडिकेसन : सेनाका एक मेजरसाप

रमेशकुमार थापा

कुरा २०५४ ̸̸ ०५५ सालतिर बर्दियाको हो । नेपालगञ्जमा सेनाको ४ नम्बर बाहिनि अड्डा थियो । बाहिनीपति अड्डा भएकाले गुल्मपति बेला बेलामा त्यहाँ गैराख्नु पर्ने हुँदोरहेछ । एकदिन बिहानै मेजरसाप पन्चु ओढेर आफ्नो गुल्मको पुरानो खुला महिन्द्रा गाडीमा बसेर गएको देखेको थिएँ ।
पानी पनि परेको थिएन तर पनि किन मेजर साव पन्चु ओढेर हिंड्नु भयो भनेर म अचम्मित भएको थिएँ त्यतिबेला । भोलिपल्ट उहाँसँग भेट हुनासाथ मैले पन्चु ओढेर गाडीमा बसेर गएको प्रसंग कोट्याएँ ।

उहाँले भन्नुभयो, बाहिनी अड्डामा जान थालेको थिए । त्यहाँ जाँदा यहाँबाटै युनिफर्ममा लगाएर जाने बिचार गरेँ । तर कच्ची बाटो भएकोले धुलोले कपडा बिग्रिने भएकोले धुलोबाट बँच्नका लागि पन्चु ओढेर गएको कुरा उहाँले मलाई सुनाउनुभयो ।
उहाँको कुरा सुनेपछि यस्तो अत्यावाश्यक काममा हाम्रो गाडी प्रयोग गरेको भए हुन्थ्यो, हाम्रो गाडी फुलबडी भएकोले धुलो कम छिर्छ भनेर सहानुभूति मैले देखाएँ ।


तर उहाँले निकुञ्जको समस्या बुझेर भन्नुभयो, त्यहाँ पनि एउटै गाडी छ, एक दिन भए पो काम चलाउनु । हरेक महिनामा तीन चार पटकसम्म बिहिनी अड्डा जानुपर्ने हुन्छ । त्यसैले निकुञ्जको काममा बाधा पारेर गाडी प्रयोग गर्न उचित लागेन, बरु अम्रेनीसम्म पन्चु ओढेर गएपछि उता त पक्की बाटो छ समस्या छैन भन्नु भयो ।

उहाँ गस्तीमा पनि साइकिल नै प्रयोग गर्नुहुन्थ्यो । साइकिलमा नै कर्णाली चिसापानी र रम्भापुरसम्म पुग्नुहुन्थ्यो । गुल्मपति भए पनि मेजर साव एन्टिपोचिङ्ग अपरेसनमा आफै खटिनु हुन्थ्यो । होइन कता कता मान्छे पस्यो भन्ने गाईगुई सुन्छु के हो ? भन्दै गस्तीमा निकै ध्यान दिनुहुन्थ्यो । प्रायः एन्टिपोचिङ्ग अपरेसन टोली निस्कने समय भन्दा प्रायः पाँच मिनेट पहिला नै उहाँ निकुञ्जको गेटमा पुगिसक्नु हुन्थ्यो ।

एकदिन एकजना सिपाहीले मेजरसापको लागि गाडी भित्रै पठाइदिनु रे भनेर खवर ल्याइ पु¥याए । हाम्रो टोली तयार भएर गेटमा निस्किंदा मेजरसाव गाडीमा बसिरहनु भएको थियो । निकुञ्जबाट म र नरेश सुबेदी सहितको टोली गाडीमा बसेर अगाडी बढ्यौं ।

हाम्रो साथमा गैंडा मारेको आरोपमा पक्राउ परेका ब्यक्ति पनि थिए । उनले गैंडा मार्न प्रयोग गरेको बन्दुक परेवाओडार नजिकै रुखको टोड्कोमा लुकाएको छु, देखाइदिन्छु भनेर बताएको हुँदा हामी त्यसतर्फ जाँंदै थियौं ।
हामीले यो मान्छेलाई पक्राउ गर्न जाँदाको सबै कथा व्यथा पनि मेजरसावलाई सुनाउदै गयौं । अँध्यारो भएपछि ठाकुरद्वाराबाट गाडीमा निस्किने, केहि पर गाडी राखेर पैदल गई मानिस पक्राउ गर्ने योजना थियो । तर साँझपख गाडी चलाउने साथी द्यक्ष्ऋए का लेखा अधिकृत सिपि भण्डारीको हजुरआमाको स्वर्गबास भएको खबर आयो । हामीले निकै गोप्य तरिकाबाट योजना बनाएकोले सिमित ब्यक्तिमा सूचना केन्द्रित गरेका थियौं ।

यो दुखदः खबरले हामी मर्माहत भयौं । हाम्रो योजनामा साथ दिइरहेका एक सदस्य तुरुन्त घर जानुपर्ने अवस्था आयो । तर सिपि भण्डारीले यो अपरेसन सकेर फर्केपछि मात्र घरतर्फ प्रस्थान गर्छु तर अपरेसनमा सहभागि हुन्छु भन्नुभयो । हामी भुरिगाउ पुगेर प्रहरीलाई साथमा लिएर अगाडी बढ्यौं । रात छिप्पिंदै थियो, जताततै अन्धकार थियो । मानिस पक्राउ गर्न जाने बाटोमा ठूलो घोल थियो । सानो डिलबाट हिंडेर घोल पार गर्नुपथ्र्याे ।

दिउँसो आउँदा जाँदा त सजिलै थियो तर रातीको समयमा बत्ती नबालिकन त्यहाँ हिंड्न नसकिने अवस्था थियो । जाँदा जाँदै हामीसंँग गएका प्रहरीसाथी डिलबाट पानीमा खसे । उनलाई त माथि तानियो तर उनको हतियार पानीमा खसेर अर्काे आपत लाग्यो । पानीमा डुब्दै छामेर हतियार फेला त प¥यो ।

यति हुँदा सम्म त गाउँका कुकुर भुकेर पुरै गाउँ थर्काइरहेका थिए । हामीले घर घेरिसकेका थियौं । निज व्यक्ति कुकुरको एकोहोरो भुकाइले शतर्क भैसकेका रहेछन । कपडा लगाएर भाग्ने तयारी गर्दागर्दै निजलाई पक्राउ गर्न सफल भइयो । निजलाई मध्यरातमा निकुञ्ज मुख्यालयमा ल्याएपछि भन्डारी आफ्नो घरतर्फ हिंडेको कुरा सुनाउदै गर्दा हामी परेवाओडार पोष्ट पुगिसकेका थियौं ।
हामीले पक्राउ परेका व्यक्तिलाई बन्दुक लुकाएको ठाउँ कति टाढा छ भनेर सोध्यौं । उनले बुढीखोलाको पुलबाट उत्तरतर्फ केहि अगाडी गएपछि सानो गोरेटो भेटिन्छ, त्यो गोरेटोलाई नछोडि गएपछि दाँया, बाँया दुईटा कुसुमका रुख छन्, पूर्वतर्फको कुसुमको रुखमा टोड्को छ भनेर भन्यो ।

उसले बताएको अनुसार हिड्यौँ । हामी गाडीबाट झर्दा मेजरसाव एउटा खुट्टामा जुत्ता लगाएको अर्काे सुन्निएर फुलेको खाली खुट्टालाई लठ्ठीको सहारा दिंदै गाडीबाट उत्रिनु भयो । हामी गाडीमा बसेकाले उहाँको यो अवस्था यति लामो बाटो काट्दा पनि थाहा भएको थिएन । उहाँले पनि हामीलाई भन्नुभएको थिएन ।

जब गाडी रोकेर ओर्लेन बेला आयो, उहाँको यस्तो अवस्था देखेर हामी अचम्मित भयौँ र उहाँलाई सोध्यौँ । यो के भएको हो भनेर ? उहाँले यो युरिक एसिडको समस्याले मलाइ दुःख दिएको छ भन्दै लठ्ठीको सहाराले अगाडी बढ्न थाल्नु भयो । हामीले उहाँलाई त्यहिं बस्न अनुरोध ग¥यौँ । तर उहाँले मान्नुभएन । उहाँले भन्नुभयो, यो शरीरलाई त जस्तो गरे पनि सुख छैन, थुपुक्क बसेर नदुख्ने र हिंड्दा दुख्ने होइन । बरु हिंडे पसिना आऊछ फाइदै हुन्छ । म सकि नसकि हिंडेर काम गरें भने मेरा अफिसर, जेसिओ, पदिक र जवानमा उर्जा पैदा हुन्छ ।

प्रकृति संरक्षणको काममा मेरा जुनियर र सहकर्माको मोराल र डेडिकेसन बढ्छ । म चुप लागेर बसें भने उनिहरु पनि ड्युटिको नाममा झारा टार्ने, दिन बिताउने बाहेक केहि गर्दैनन् । उहाँको संक्षणमा समर्पित यो उच्च भावनाबाट हामी पनि नतमस्तक भयौं ।

एउटा खुट्टामा बुट अनि अर्काे सुन्निएको खाली खुट्टालाई लठ्ठिको सहारामा लतार्दै उहाँ हामीसंँगै अगाडी बढ्नुभयो । करीब तीस मिनेट हिंँडेपछि कुसुमको रुख भएको ठाउँमा पुगियो । पक्राउ परेका व्यक्तिले बताए अनुसार हाम्रा साथीहरु रुखमा चढेर हेर्दा ठूलै टोड्को त भेटियो तर बन्दुक थिएन ।
पक्राउ परेका व्यक्तिले बन्दुक त्यहिं छ, तपाईहरुले राम्ररी हेनुभएन। म निकालिदिन्छु भनेर भन्न थाले । हामी पटक पटक रुखमा चढेर हे¥यौं तर बन्दुक थिएन । हामीले पक्राउ परेका व्यक्तिलाई रुखमा चढेर बन्दुक निकाल्न भन्यौं । उनी सरासर रुखमा चढेर टोड्को भएको ठाउँतिर नगइकन अर्काे हाँगोमा चढे र त्यहाँबाट फुत्त भुइमा हामफालेर भाग्ने कोसिस गरे । तर हामीले तत्काल नै निजलाई नियन्त्रणमा लियौं र झुठो कुरा गरेको भनेर रिसायौं ।

हामी त्यहाँ मुचुल्का उठाएर फर्किने तयारी गर्दै थियौं । पक्राउ परेका व्यक्तिले मेजर सावलाई देखाउँदै उहाँ नसकि नसकि यहाँ सम्म आउनु भयो बन्दुक नलिइ कसरी फर्किनुहुन्छ त ? अर्काे ठाउँमा पनि हेर्ने कि भनेर प्रश्न गरे । हामीले तपाई झुठो कुरा गरेर दुखः दिने मान्छेको कुरामा हामीलाई बिश्वास छैन, अब फर्किनु त भन्यौं ।

उनले एउटा बन्दुक त यहाँ नै राखेको हो । अरु साथीहरुले लगे होलान । बन्दुक राख्ने अर्काे ठाउँ पनि छ । त्यहाँ हेर्ने हो ? भनेर सोधे । हामीले हुन्छ भनेर सहमति जनायौं । उनकै भने बमोजिम अनुसार बबई पुल भन्दा केहि तल मुहान भएको कुलो पछ्याउदै गएपछि एउटा धुरपुल काठको बिममा हाँंगाबिगा राखेर माटोले पुरी आवागमन गर्न मिल्ने गरी बनाइएको पुल भेटियो ।

उनले पानीमा छिरेर पुलको पूर्वी किनारमा छामेपछि बन्दुक भेटिन्छ भनेर बताए । हामी उनले बताए अनुसार नै पानीमा पस्यौं । उनले भने अनुसार नै २ थान भरुवा बन्दुक फेला परे । ति बन्दुकहरु बरामद गरेर हामी ठाकुरद्वारा फर्कियौं ।

पक्राउ परेका व्यक्ति कानुन बमोजिमको दण्ड सजाय भोगेर सामान्य जीवनमा फर्किसकेका छन् । त्यसैले यहाँ मलाई ती व्यक्तिको नाम उल्लेख गर्न मुनाशिब लागेन । बर्दियामा गुल्मपति भएका बखत ती मेजरसापले एकजना बहालवाला सेनाको क्याप्टेनलाई बन्दुक लिएर निकुञ्ज प्रवेश गरेको अवस्थामा पक्राउ गरी थुन्नु भएको थियो भने संरक्षणको ड्युटिमा लापवाही गर्ने सेना केही अधिकारीलाई समेत कारवाही गर्नुभएको थियो । बर्दियाबाट गएपछि ती मेजरसावसँग कहिल्यै भेट पनि भएन र सम्पर्क पनि भएन । म आज पनि उहाँको जिम्मेवारी प्रतिको लगनशिलता र त्यो कञ्जरभेशनमा मोराल र डेडिकेसन भन्ने शब्दावली र उहाँको भावनाबाट अत्यन्त प्रभावित छु । जहाँ भए पनि म उहाँको सुस्वास्थ्य, सुख, शान्ति,समृद्धि र दीर्घजीवनको कामना गर्दछु । उहाँ हुनुहुन्थ्यो, मेजर पदमकुमार राई ।
१५ पुस २०७८
(संरक्षणमा लामो अनुभव भएका रमेशकुमार थापाको फेसबुक वालबाट हामीले यी शब्दहरु जस्ताको तस्तै राखेका छौँ । उहाँका यी अभिव्यक्ति र अनुभवले नेपालको संरक्षणमा थप बल पुग्ने र प्रेरणा जाग्ने विश्वास हामीले लिएका छौँ । सम्पादक )

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here