काठमाडौँ । गत शुक्रबार बिहान ११ बजे सरकारी गाडीमा सवार भएर वन तथा वातावरण मन्त्रालयका कायममुकाय सचिवका रुपमा हाजिर भएका डा. रेवतीरमण पौडेलले बुधबारसम्म आइपुग्दा जलविद्युत् आयोजना, केबलकार निर्माणका फायल मात्र आफ्नो टेबलमा मगाउन भ्याएका छन् । यो अवधिमा मन्त्रालयको कार्यक्षेत्र, रणनीति, कार्यनीति तथा कार्यपद्धतिसँग खासै रुची नराखेका पौडेलले विगतमा पेन्डिङ बसेका फायलको अपडेटमा चाँसो मात्रै दिएका छन् ।
मन्त्रालयमा हाजिर भएको दिनदेखि दैनिक कार्यसूची अनुसार सचिव पौडेलले बुधबार बिहान नौ बजे नै मन्त्रालयका कर्मचारीलाई बोलाएर चन्द्रागिरी केबलकार प्रालिका मालिक चन्द्र ढकाल प्रवर्धक रहेका संरक्षित क्षेत्र भित्र पर्ने बिभिन्न जलविद्युत् आयोजना तथा केबलकार निर्माणका फायल र अरुण कुमार सुवेदी प्रवर्धक रहेको मुक्तिनाथ केबलकार आयोजनाको फायलका विषयमा खोजनीति तथा गम्भीर छलफल गरेका छन् । हालै सहसचिवमा बढुवा भएका रबिन्द्र महर्जन, दिपक ज्ञवाली लगायत चार जनाको पदस्थापनाको फायललाई थाति राखेर सचिव पौडेलले केबलकार र जलविद्युत् आयोजनाको विषयलाई प्राथमिकता दिएपछि मन्त्रालयका बरिष्ठ अधिकारी अचम्म परेका छन् ।
मन्त्रालयका सहसचिव धिरेन्द्र प्रधानलाई साथमा लगेर बुधबार बिहान ११ बजे उद्योग बाणिज्य मन्त्री दामोदर भण्डारीले बोलाएको बैठकमा पुगेका सचिव पौडेलले बाणिज्य मन्त्रालयको छलफलमा पनि खासै समय दिएनन् ।
बाणिज्य मन्त्रालयबाट फर्केर वन मन्त्रालयमा आएपछि चन्द्र ढकालद्वारा प्रवर्धित सिकलेस मुक्तिनाथ केवलकारको अदालतमा पेश गर्नुपर्ने कागजपत्र मिलाउन निर्देशन दिन समेत भ्याए ।
कृषि विभागको महानिर्देशकबाट कायममुकायम सचिव पाएर वन मन्त्रालयमा पदस्थापन भएका डा. पौडेलले गत शुक्रबारदेखि यो हप्ताको बुधबार दिउँसोसम्म जे जति छलफल, अन्तक्र्रिया तथा फायल अध्ययन गर्न भ्याए, ती सबै चन्द्र ढकाल र अरुणकुमार सुवेदीसँग सरोकार भएका फायल मात्र भएको कुरा मन्त्रालयका एक सहसचिवले नेपालकथालाई बताए ।
ती सहसचिवले नेपालकथासँग भने, ‘‘खै कुरो बुझ्नै गाह्रो छ । उहाँ वन मन्त्रालयमा एकाध फायल फत्ते गर्न मात्र आउनु भएको हो कि जस्तो लागेको छ । वन तथा वातावरणका यति ठूला मुद्धा र चुनौतीहरु छन् तर उहाँलाई केही व्यक्ति विशेषका फायल कता पुगे, किन रोकिए, ल चाँडै टुङ्ग्याउनु पर्यो भन्ने बाहेक अरु विषयमा खासै चाँसो छैन कि जस्तो लागेको छ । यही तरिकाले काम हुने हो भने त ती फायलहरुको काम सम्पन्न भएपछि उहाँ कृषि मन्त्रालयमा फर्किनु हुन्छ कि ?
मन्त्रालयमा प्रवेश गर्दा र काम गर्दा निकै हतार र टेन्सनका मुडमा देखिने गरेका डा. पौडेलले कृषि मन्त्रालयमा भने शान्त, शालिन र निकै सहज व्यक्तिको रुपमा परिचय स्थापित गरेका थिए । कामु पद पाउनु र वन मन्त्रालयमा नै लगिनुले उहाँलाई निश्चित टिओआर दिएको पनि हुन सक्छ । त्यस कारण उहाँ आएदेखि नै निकै हतार र टेन्सनको मुडमा देखिएको हुनुपर्छ, ती सहसचिवले भने ।
सञ्चारकर्मीसँग भाग्दै डा.पौडेल
वन तथा वातावरण मन्त्रालयमा मन्त्री होस् वा सचिव नयाँ नियुक्त भएपछि पहिलो चरणमा वातावरणमा विषयमा कलम चलाउने वातावरण पत्रकारसँग भेट्ने, वन तथा वातावरण विषयमा देखिएका चुनौती तथा समाधानका विषयमा आफ्ना एजेण्डा प्रस्तुत गर्ने विगतको चलनलाई वर्तमान कामु सचिव पौडेलले तोडेका छन् । सायद उनीसँग वन तथा वातावरण मन्त्रालय सुधारका लागि खास कुनै त्यस्ता ठोस योजना नभएर पनि हुनसक्छ । जसरी हिजो चलेको थियो, आज पनि त्यसरी नै चलाउने हो भन्ने मानसिकता पनि हुनसक्छ ।
वातावरण पत्रकारहरुले उनलाई सचिव पदमा पुगेको बधाई दिन खोज्दा समेत भेट दिएका छैनन् । मन्त्रालयमा भेट्ने समय दिन्छन् तर त्यो समयमा मन्त्रालय बाहिर हिडिसकेका हुन्छन् ।
सञ्चारकर्मीहरुबाट बधाई लिन पनि डराएका डा. पौडेलका बारेमा ती सहसचिवले भने, ‘उहाँको ध्यान अर्कैतिर छ । दैनिक प्रशासन, फिल्डको रिपोटिङ तर्फ खासै चाँसो छैन । यस्तो बेला तपाईहरुले तीनै फायलका बारेमा सोधखोज गर्नुहोला । त्यही डरले तर्किदै हिडेको होलान् ।
उनको सचिवालयका एक कर्मचारीले भने, खै सचिव ज्यूको कार्यतालिका हामीलाई पनि थाहा हुँदैन । नयाँ हुनुहुन्छ, सबै बानी व्यवहार थाहा नभएकाले केही भन्न सकिएन ।
मन्त्रालयका मातहतका निकायहरुको ब्रिफिङ समेत लिन नसकेका डा. पौडेलसँग यो अवधिमा सबैभन्दा बढी भेट्ने व्यक्ति चन्द्र ढकाल र अरुणकुमार सुवेदी नै छन् । चन्द्र ढकालको सिकलेस मुक्तिनाथ केबलकार सम्बन्धी अदालतमा परेको मुद्धालाई मन्त्रालयले दमदार ढंगले तावेदारी गरि देओस् भन्ने चाहनाका साथ मन्त्रालयको दैलो छाडेको छैनन् भने सुवेदीले पनि मुक्तिनाथ केबलकार सम्बन्धी अड्केको फायल छिटै अघि बढोस् भन्ने चाहनाका साथ मन्त्रालयमा डेरा जमाउन सफल भएका छन् ।
गत मंसिर १४ गते वन मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले अनिवार्य अवकाश पाएपछि निमित्त सचिव भएका शिवकुमार वाग्लेले ढकाल र सुवेदीका फायलमा खासै हात नहाल्ने अडान लिएका थिए । ‘धान खाने मुसो, चोट पाउने भ्यागुत्तो, मैले यस्ता फायलमा हात हाल्दिन, बिना सित्तिको टाउको मैले किन दुखाउने हो र ? वाग्लेले भन्दै आएका थिए ।
यो अवधिमा वाग्लेले आफू फसिन्छ कि भन्ने डरले ती बिबादित फायललाई पन्छ्याएर राखेपनि हाल कामु पाएर आएका डा. पौडेलको ध्याउन्न ति फायलमा मात्र पर्ने गरेको मन्त्रालयका कर्मचारीमा निकै चर्चा चलिरहेको छ ।
बधाई दिने भन्दा फायल बोक्नेको भीड
डा. पौडेल सचिव भइसकेपछि बधाई दिन वन तथा वातावरणसँग सरोकारवाला निकाय तथा संस्थाका प्रतिनिधिहरुले खासै रुची देखाएका छैनन् । विगतमा सचिवको पदवहाली भएको भोलिपल्टै बधाई तथा शुभकामना दिनेको भीड लाग्ने गरेको थियो तर यो पटक भने विगतको इतिहास तोडिएको छ ।
वन पैदावार, सामुदायिक वनसँग सम्बन्धित संघ, संस्था, वन प्राविधिकसँग सरोकार भएका आधा दर्जन जति संस्थाहरु नयाँ सचिव बहाली भएको हप्ता दिन पुग्न लाग्दा पनि मन्त्रालय छिरेका छैनन् । वन मन्त्रालयको अभिभावक मानिने सचिव पदमा बहाल भएको व्यक्तिको कार्यकालको शुभकामना तथा शुभेच्छा प्रकट गर्ने संघसंस्था हालसम्म मन्त्रालयमा प्रवेश नगर्नु अर्काे अचम्मको संकेत देखा परेको छ ।
चाख लाग्दो कुरो के छ भने, संरक्षित क्षेत्र भित्र विना प्रतिष्पर्धा पहुँचका भरमा जलविद्युत्, केबलकार लगायतका आयोजनाका नाउँमा लाइसेन्स लिने र जग्गा हत्याउने फायल बोकेका व्यक्तिहरुको भीड भने ठेलमठेल हुने गरी लाग्ने गरेको छ ।