कालीगण्डकी करिडोरका सडक चौडा हुँदै

काठमाडौँ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकलाई चौडा पार्ने काम सुरु भएको छ ।
सो कामका लागि नेपाली सेनाका टोली परिचालन भइसकेको छ । सो सडकलाई डबल लेनका बनाउनका लागि २० करोड रुपियाँ बजेट विनियोजन गरिएको सरकारी अधिकारीले बताएका छन् ।

कालीगण्डकी करिडोरका सडकलाई १० मिटर कायम गर्न बागलुङ सडक खण्डमा १० करोड रुपियाँ र गुल्मी सडक खण्डमा १० करोड रुपियाँ विनियोजन गरिएको छ । नेपाली सेनाले २०७५ माघ १९ देखि २०७६ असार महिनासम्म काम सम्पन्न गर्ने गरी कामलाई अगाडि बढाएको छ । बागलुङ खण्डको ३८ किलोमिटर र गुल्मी जिल्लाको ४२ किलोमिटर सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले सम्पन्न गरी चौडा पार्ने माग अगाडि बढाएको हो । यस अघि यो करिडोरमा नेपाली सेनाले ८ मिटर ट्रयाक खोलेको हो भने हाल त्यसलाई बढाएर १० मिटर चौडा गर्ने काम पनि नेपाली सेनालाई नै दिइएको छ ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्र्तगत बागलुङ–गुल्मी सडकको ट्राक खोलेपछि स्थानीयले उत्पादन गरेका कृषि सामग्रीले बजार पाउन थालेका छन् । गाउँघरमा उत्पादित कृषि सामग्री बिक्रीको लागि सदरमुकाममा लैजान र ल्याउन निकै सहज भएको स्थानीय बासिन्दा महेन्द्र चौलागाईले बताउनुभयो ।

सडकको ट्रयाक खुलेसँगै जैमनीघाट, बिनामारे, अर्जेवा, छिस्ती लगायतका क्षेत्रमा किसानले उत्पादन गरेका खाद्यान्न, तरकारी टाढा टाढासम्मका बजारसम्म जान पाएका छन् । चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने छोटो दुरीको यो सडक आयोजनालाई त्रि–देशीय व्यापार तथा पारबहनमा महत्वपूर्ण नाकाको रुपमा लिइएको छ । करिडोर सडक सुनौलीदेखि मुस्ताङको केरालासम्म चार सय १७ किलोमिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here