काठमाडौँ । वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले आफुले बाघको शिकार खेलाएर मुलुक समृद्धि तर्फ जाने बिचार अगाडि सारेको बताएका छन् ।
शनिवार बाघ दिवस २०२३ अवसरमा ललितपुरको सदर चिडियाखानामा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री महतोले बाघको शिकार खेलाएर देशको आर्थिक विकास गर्ने प्रश्ताव आफूले राखेको तर त्यसैलाई बिबादमा तानेको बताए ।
उनले भने, मैले त्यो कुरा भनेकै हुँ । मैले त बिचार दिने हो । ठिक हुन पनि सक्छ गलत पनि हुन सक्छ । जे होस् बहस त पैदा भयो नि मेरो भनाईले ।
मन्त्री महतोले कार्यक्रममा भने, नेपालमा हरेक दिनजस्तै बाघले मान्छे मारिरहेको छ । मानिसको जीवन ठूलो कि बाघ ठूलो ? त्यसैले बाघको शिकार गरेर केही उपलब्धी हुन्छ भन्ने मेरो कन्सेप्ट हो ।
बाघ बढायौँ तर चुनौती थपिएका थपिएै छन् । खै त समाधान ? वन मन्त्रालयको नेतृत्व समालिरहेको मन्त्री महतोले उल्टो प्रतिप्रश्न गर्दै भने । कार्यकारी पदमा उनी आफै बसिरहेको बेला यो प्रश्न कसलाई इङ्गित गरेर भनेको हुन भन्ने स्पष्ट भने उनले पारेनन् ।
निकुञ्जको क्षेत्रफल सानो छ, क्षेत्रफल बढाउन सकिने अवस्था छैन । बाघ बढाएर धेरै बनाइसक्यौँ, बाघको संख्या झन बढ्दै जानेबाला छ, निकुञ्जभित्र पानी छैन, आहार छैन अनि त्यो जनावर बस्तीमा नआएर कहाँ जान्छ ? मन्त्री महतोले प्रश्न गरे । यद्धपी उनले समालेको वन मन्त्रालयबाट बाघको आहार तथा बासस्थान व्यवस्थापनको हाल भइरहेका प्रयासहरु र उनले चाल्न खोजेका आगामी कार्ययोजना भने सुनाएनन् ।
उनले बाँदरको समस्यालाई हल गर्न कि विदेश निर्यात गर्नुपर्ने कि बन्ध्याकरण गर्नुपर्ने सुझाव पनि दिए । मन्त्री महतोले भने, बाँदरका कारणले अब केही वर्षपछि कृषि प्रधान देश भन्न गाह्रो होला जस्तो भइसक्यो । बाँदरको समस्या समाधानका उपाय भएन भने मुलुकको कृषि कहाँ पुग्छ ?