बाह्रसिँंगाको सबैभन्दा ठूलो झुण्ड नेपालमा

संरक्षित वन्यजन्तुको सूचीमा रहेको बाह्रसिँंगाको सबैभन्दा ठूलो झुण्ड नेपालमा रेकर्ड गरिएको छ । पश्चिम नेपालको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा यो झुण्ड रेकर्ड गरिएको हो । नेपालको तराई भूपरिधीको सबैभन्दा ठूलो घाँसे मैदान रहेको यो आरक्षमा दुई हजार तीन सय भन्दा बढी बाह्रसिँंगा एकै झुण्डमा भएको रेकर्ड भएपछि नेपाल बाह्रसिंगाको संरक्षणमा उत्कृष्ट देश मानिएको छ ।


आरक्षका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार सन् २०१६ मा गरिएको बाह्रसिँंगाको गणना अनुसार दुई हजार तीन सय भन्दा बढी बाह्रसिंगाको एउटै झुण्ड देखिएको थियो । अहिले त यो संख्या बढेर कम्तिमा दुई हजार पाँच सय भन्दा बढी रहेका छन् । हरेक वर्षको अनुगमनको प्रतिवेदनले यो संख्यामा वृद्धि भएको देखाइरहेको छ ।

बाह्रसिँगाको संसारकै सबैभन्दा ठूलो झुण्ड शुक्लाफाँटामा ।
बाह्रसिँगाको अध्ययन, अनुसन्धान स्थल बन्दै शुक्लफाँटा ।
तराई भूपरिधीको सबैभन्दा ठूलो घाँसे मैदान बाह्रसिँगाको सुरक्षित बासस्थान ।”


व्यावसायिक शिकारका पारखीको लागि अत्यन्तै राम्रो जनावर मानिन्छ । बाह्रसिंगाको ठूलो झुण्ड लहरै सँग चरेको दृश्य हेर्दा निकै आकर्षक लाग्ने भएकाले पर्यटकीय विकासमा समेत यसले टेवा पुर्याइरहेको छ । प्रमुख संरक्षण अधिकृत ढकालले भन्नुभयो, विश्वमा यति ठूलो संख्यामा एकीकृत ढंगले एउटै झुण्ड बनाएर हिड्ने गरेको अरु देशमा भेटिदैन । सानो सानो संख्यामा बाह्रसिंगा भेटिएपनि शुक्लाफाँटामा भेटिएको दृश्य संसारकको दुर्लभ र अत्यन्तै आकर्षक मानिन्छ । विश्वका संरक्षित स्तनधारी वन्यजन्तुको अनुसूची २ मा सूचीकृत गरिएको महत्वपूर्ण जनावर हो ।
तराईको सबैभन्दा ठूलो क्षेत्रफल रहेको यो फाँटामा काँस फुल्दा सेतो देखिने भएकाले यो फाँटालाई शुक्लाफाँटा नामाकरण गरिएको बताइएको छ । शुक्लाफाँटामा प्रशस्त मात्रामा बाह्रसिँगा देखिने भएकाले यही प्रजातिको वन्यजन्तुको संरक्षणका लागि आरक्ष स्थापना गरिएको हो । बि. सं. २०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना भएको थियो । तत्कालिन अबस्थामा यसलाई केही समय शिकार आरक्षको रुपमा राखिएपनि बि. सं २०३२ सालमा शिकार आरक्ष वरीपरीको थप केही भूभाग समेटेर आरक्षको रुपमा विकसित गरिएको हो । बाह्रसिँगा लगायतका अन्य विश्वमै दुर्लभ तथा संकटापन्न वन्यजन्तुको बासस्थानका लागि निकै उपयोगी भूगोल भएकाले बि स २०३६ सालमा आरक्षको पूर्व तर्फको १५० वर्ग किलोमिटर जग्गा समेत बिस्तार गरिएको हो । हाल आरक्ष कुल ३०५ वर्गकिलोमिटर रहेको छ । यो आरक्ष बाह्रसिँगा मात्र होइन, नेपालमा सबैभन्दा बढी बाघको घनत्व भएको संरक्षित क्षेत्र हो । यो आरक्षको कुल क्षेत्रफलको झण्डै १७ प्रतिशत भूभाग घाँसे मैदानले ओगटेको छ । सन् २०१४ को गणना अनुसार यहाँ बयस्क बाघको संख्या १७ रहेको छ । हाल यो संख्या बढेको अनुमान गरिएको छ ।
शुक्लाफाँटामा देखिएको बाह्रसिँगा प्रजातिलाई तराईका अन्य संरक्षित क्षेत्रमा पनि विस्तार गर्ने योजना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बनाएको छ । विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार शुक्लाफाँटामा रहेको बाह्रसिँगालाई बर्दिया र चितवनमा पनि स्थानान्तरण गर्ने योजना अनुरुप यो वर्ष बर्दियामा पाँच वटा र चितवनमा २५ वटा बाह्रसिँगा छाडिने भएका छन् । गत वर्ष बर्दियामा पाँच वटा बाह्रसिँगा छाडिएका थिए ।
महानिर्देशक खड्काले भन्नुभयो, नेपाल बाह्रसिँगाको लागि प्रख्यात स्थल हो । यसको अध्ययन, अनुसन्धान गर्ने अनुसन्धानकर्ता, वैज्ञानिक तथा विज्ञले नेपाललाई अध्ययन स्थलको रुपमा लिंदै आएका छन् । यसले गर्दा नेपाललाई वन्यजन्तु संरक्षणमा थप टेवा पुगेको छ भने पर्यापर्यटमा समेत सहयोग भइरहेको छ ।


विश्वका सबैभन्दा ठूलो झुण्ड बाह्रसिँगाको बासस्थान शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई सरकारले हालै निकुञ्जमा रुपान्तरण गर्ने निर्णय गरेको छ । निकुञ्जमा परिणत भएपछि बाह्रसिँगा बाहेक बाघ र गैंडाका लागि सुरक्षित बासस्थान बनाउने योजनामा विभाग रहेको छ । काँसको घाँस खान मन पराउने बाह्रसिँगा घाँसे मैदान र दलदल क्षेत्रमा बढीजसो बस्ने रुचाउन्छन् । चुरे क्षेत्रका फेदीमा रहेको यो फाँटामा चित्तल, घोरलले जस्तै स्वादिलो रुखको मुनालाई समेत आहारका रुपमा प्रयोग गर्ने गरेको प्रमुख संरक्षण अधिकृत ढकालले बताउनुभयो ।
तराई भूपरिधिको मध्यबिन्दुमा पर्ने यो आरक्षले नेपाल र भारतका गरी ११ वटा संरक्षितलाई जोड्ने काम गरेको छ । जैविक प्रणाली र जैविक विविधताका दृष्टिले निकै धनी मानिएको यो आरक्षभित्र दर्जनौ प्रजातिका पंछी, जडिबुटी तथा वन्यजन्तु पाइने गरेका छन् । प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार ११८ परिवारका ६६५ प्रजातिका वनस्पति यहाँ पाइन्छन् । जसमध्य ५२ प्रतिशत सालको मात्र जङ्गल रहेको छ । आरक्ष भित्र १० प्रतिशत सिमसार क्षेत्र रहेको छ । जुन बाह्रसिँगाका लागि अत्यन्तै उपयुक्त मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here