लोप भएको अर्ना पुनः देखिने

लोप भएको झण्डै आधा शताब्दीपछि चितवनका जङ्गलमा जङ्गली भैंसी (अर्ना ) पुनः देखिने भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट एक जोडी अर्ना चितवन राष्ट्रिय निकुञ्जमा छाडिएपछि लोप भएको ६० वर्षभन्दा पछि यहाँ अर्ना देखिने भएका हुन् । १९५० को दशकका चितवनमा पनि अर्ना अस्तित्वमा रहेको अध्ययनले देखाएपनि पछिल्लो चरणमा नेपालमा कोशी टप्पुमा मात्र अर्ना पाइने गरेको छ ।
विश्वकै अन्यत्यै दुर्लभ वन्यजन्तु अर्नाको बस्ती विस्तार गर्नका लागि सरकारले कोशी टप्पुजस्तै बासस्थान भएको स्थानको अध्ययन गर्ने क्रममा चितवन सम्भाव्य स्थानको पहिचान भएकाले अर्नाको अर्काे बासस्थान विकास गर्ने उद्धेश्यले चितवनमा अर्ना स्थानान्तरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो ।
बिहीवार राती कोशी टप्पुबाट चितवन ल्याइ पुर्याइएको एक जोडी अर्नालाई शुक्रवार वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले चितवन राष्ट्रिय निकुञ्जमा पुर्नस्थापना गर्नुभयो । करिब ६० वर्षभन्दा पहिले अस्तित्वमा रहेको र हाल पुर्नस्थापना गरिएकोले अर्ना स्थानान्तरण कार्यलाई “अर्ना पुर्नस्थापना कार्य” भनेर विभागले घोषणा गरेको छ ।

“करिब ६० वर्षपछि चितवनमा जङ्गली भैंसी अर्ना पुर्नस्थापना ।
कोशी टप्पु बाहेक अन्य स्थानमा अर्नाको बासस्थान विकास गर्ने सरकारको योजना ।
२५/३० जोडी चितवनमा पुर्नस्थापना गरिँदै । “


विभागका महानिर्देशक खड्काले भन्नुभयो –“पहिलो चरणमा एक जोडी मात्र पुर्नस्थापना गरिएको हो, यो प्रजातिका वन्यजन्तु झुण्डमा बस्न रुचाउने भएकाले तत्काल २५÷३० जोडीलाई कोशी टप्पुबाट चितवन पुर्नस्थापना गरिने कार्यक्रम रहेको छ । जसले गर्दा अर्नाले एक्लो महसुस गर्न नसक्ने र चितवनका जङ्गलमा रमाउने स्थिति निर्माण हुनेछ । ”
विश्वभरी यसको कुल संख्या तीन हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । दक्षिण एसियामा नेपाल र भारतमा पाइने अर्ना घाँसे मैदान, स्वच्छ पानी र दलदले भूमिमा बस्न रुचाउन्छ । नेपालको कोशी टप्पु मात्र पाइने यो वन्यजन्तु भारतको सिक्किम, आसाम र मध्य प्रदेशका संरक्षित क्षेत्रमा पाइने गरेको छ ।
कोशी टप्पुमा अर्नाको विषयमा अध्ययन गर्नुभएको अशोक कुमार रामका अनुसार आठ सयदेखि एक हजार दुई सय किलोसम्मको वजन हुने अर्नाका आयु २५ देखि ३० वर्षसम्मको हुने गरेको छ । पहिलो पटक सन् १९७६ मा गरिएको अर्नाको गणनामा ६३ वटा मात्र भेटिएका थिए । कोशी टप्पु वन्यजन्तु आरक्षको घोषणासँगै अर्नाको संख्या वृद्धि हुने क्रम बढीरहेको छ ।
हाल पुर्नस्थापना गरिएको चितवनमा बासस्थान, आहार र भौगोलिक अबस्था अध्ययन गर्दा अर्नाका लागि उपयुक्त देखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । अर्नाको विषयमा विद्यावारिधि गर्ने क्रममा रहनुभएको प्रमुख संरक्षण अधिकृत कँडेलले भन्नुभयो, हामीले चितवनमा अर्नालाई बचाउन सक्ने थुपै्र आधारहरु भेटेर पुर्नस्थापना गर्ने योजना बनाएका हौँ । घाँसे मैदान, स्वच्छ पानी, भूवनोट लगायतका कुराको अध्ययन गर्दा कोशी टप्पु र चितवनको क्षेत्रमा समानता देखिएका छन् ।
काँस, सिरु, नर्काेट, बन्सो लगायतका घाँस प्रमुख चरनका रुपमा अर्नाले उपयोग गर्ने गरेको छ । विभागका महानिर्देशक खड्काले भन्नुभयो, सुरु सुरुका अवस्थामा अर्नाले अनुकुलन हुन गाह्रो हुने र अन्य ठूलठूला वन्यजन्तुले शिकार गरी मर्न सक्ने भएकाले २५ हेक्टरको क्षेत्रफलमा अर्नाका लागि विशेष संरक्षित क्षेत्र निर्माण गरिएको छ । त्यो क्षेत्र वरीपरी सौर्य तारवार लगाइएको छ । जसले गर्दा अन्य प्रजातिका वन्यजन्तु अर्नाको विशेष बासस्थान छिर्न नसक्नेभएकाले अर्नालाई सुरक्षित बनाइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले आगामी दिनमा निरन्तर अनुगमन गर्ने र कम्तिमा एक वर्षपछि अर्नाको बासस्थान, चरन लगायतका विषयमा अध्ययन गरी थप अर्ना कोशी टप्पुबाट ल्याउने वा नल्याउने र हाल पुर्नस्थापना गरिएका अर्नालाई खुला रुपमा जङ्गलमा छोडिने योजना बनाइने भएको छ । पछिल्लो चरणमा वन, वन्यजन्तु लगायतका जैविक विविधतामा जलवायु परिवर्तनको असर परिरहेका बेला एउटै स्थानमा मात्र बासस्थान बनाइदा ठूलो महामारी वा बाढी पहिरोले अर्ना लोप हुनसक्ने भन्दै विभागले बिभिन्न बासस्थानको विकास गर्न थालेको हो । केही वर्ष पहिले कोशी नदीमा आएको ठूलो बाढीमा परी कम्तिमा दुई दर्जन अर्नाको मृत्युभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here