उत्तरी ध्रुबका आगन्तुक चराको संख्यामा कमी

यस पटक हिउँदे याममा नेपाली भूमिमा बिचरण गर्न आउने उत्तरी ध्रुबका आगन्तुक चराको संख्या कम देखिएको छ । नेपालमा मनसुन ढिलासम्म रहि भिजिविलिटि कम हुँदा उत्तरी ध्रुबका चराहरुले नेपाली आकाशमा उडान भर्न नपाएपछि यो अबस्था आएको हो ।
उत्तरी ध्रुब रसिया लगायतका देशका साइवेरियन जंगलमा बिचरण गर्ने विश्वकै दुर्लभ र संकटापन्न बिभिन्न प्रजातिका चराहरु हिउँदे याममा नेपाली भूमिमा विचरण गर्न आउने गर्छन् । यस पटकको मनसुन ढिलो गरी नेपालबाट हराएकोले साइवेरियन चराहरु नेपाली आकाशमा प्रवेश गर्न नसकेको पंक्षीविद्हरुले बताएका छन् । पंक्षीविद् डा. हेमसागर बरालका अनुसार यसपटक ढिलो सम्म मनसुनले प्रभाव पारेकोले नेपाली आकाशमा प्रशस्त मात्रामा साइवेरियन चराहरुले उडान भर्न पाएनन् । फलस्वरुप यो वर्ष सधैको झैँ उत्तरी ध्रुबको पंक्षीहरु नेपाली भूमिमा कम देखिने भएका छन् ।
उत्तरी ध्रुबमा हिउँ पर्न सुरु भएपछि त्यहाँका रैथाने चराहरुले बिचरण गर्नका लागि दक्षिणी देशको भूमिमा उडान भर्ने गर्छन् । पहिलो चरणमा दक्षिण एसियाली देशका लागि उडेका चराहरु यहाँका मनसुनका कारणले अन्यत्र गएका हुन सक्ने बताइएको छ । पंक्षीविद् डा. बरालले भन्नुभयो, यो समयमा नेपाली आकाशमा धेरै आगन्तुक चराहरु देखिन थालिसक्थे तर यस पटक त्यति देखिएका छैनन् ।
कात्तिकको दोस्रो सातासम्ममा नारायणी, कर्णाली र कोशी वेसिनमा बढी देखिने चराहरु यो वर्ष कपिलवस्तुको जगदिशपुरताल, बर्दियाको बडैया ताल, कैलालीको घोडाघोडी ताल, सुनसरीको चिमडी ताल, कोशी टप्पु र चितवको सौराहा क्षेत्रमा अलि अलि देखिन थालेका छन् । अघिल्ला वर्षमा संरक्षित क्षेत्र भित्रका घाँसे मैदान, सिमसार क्षेत्र, नदी किनारमा जताततै आगन्तुक चराहरु देख्न पाइन्थ्यो । डा. बरालका अनुसार यो वर्ष सिमसार पंक्षीहरु ताल क्षेत्रमा बढी देखिएपनि घाँसे मैदान र वनजंगलमा विचरण गर्न आउने पंक्षीको संख्या त्यति देखिएको छैन ।
उत्तरी ध्रुबमा हिउँ परेर अत्याधिक चिसो हुने हुँदा कतिपय प्रजातिका चराहरु बच्चा कोरल्न नेपालको भूमिमा आउने गरेका छन् । हिउँ पर्दा सुरक्षित बासस्थान नहुने, चारा पनि नपाइने, दिनभन्दा रातको समय लामो हुने हुँदा बिचरणको समय पनि छोटो हुने लगायतका समस्याले ती चराहरु बिचरण गर्न नेपाल, भारत र श्रीलंकाको भूमि प्रयोग गर्ने गरेको विज्ञको भनाई रहेको छ । हिउँदे याममा रसिया, मंगोलिया हुँदै चिनको उत्तरी क्षेत्रबाट १५० प्रजातिका पंक्षीहरु नेपाल प्रवेश गर्ने गरेको कुरा डा. बरालो बताउनुभयो ।

” यस पटक आगन्तुक चराहरुले नेपाली आकाशमा प्रवेश पाएनन् ।
सधैं हुलका हुल देखिने चराको संख्या कम देखियो ।
चरा अध्ययनका लागि नेपालको हिउँदे समय निकै उपयुक्त ।”


आगन्तुक चराहरुले बढी समय बिताउने कोशी टप्पु र चितवन राष्टिय निकुञ्जमा त्यति चरा देखिएका छैनन् । सधैं यो समयमा हजारौको संख्यामा आकाशमा हुलका हुल देखिने चरा यो वर्ष सयौँका हुल मात्र देखिन थालेका छन् । लामो समयमा कोशी टप्पु वन्यजन्तु आरक्षमा काम गर्नुभएका राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण अधिकृत अशोक कुमार रामका अनुसार कोशी टप्पु ५०२ प्रजातिका पंक्षीको बासस्थान मानिन्छ । हिउँदे याममा रैथाने चरा र आगन्तुक चराले सँगै बिचरण गरेको दृश्य नजिकबाट हेर्न सकिने भएकाले कोशी टप्पुमा पंक्षी सम्बन्धी अध्ययन अनुसन्धान गर्ने अनुसन्धानकर्ता तथा पर्यटकीय विकासका लागि राम्रो अवसर हुने उहाँको धारणा रहेको छ । हिउँदे याम चराको प्रत्यक्ष अवलोकन र अध्ययन गर्नेहरुका लागि नेपाल उपयुक्त स्थान मानिन्छ ।
पंक्षीविद् डा. बरालका अनुसार विश्वमै दुर्लभ मानिने महाचिल र चिलहरुले निकै उचाईबाट उडान भरेर नेपाली भूमिमा छ महिना जति बिचरण गरी भारत, श्रीलंकाका जंगल हुँदै अफ्रिकी जंगलसम्म यात्रा गर्ने गर्छन् । विश्वमै दुर्लभ मानिने एकदमै उत्तरी ध्रुबमा पाइने रणमत्ता महाचिल र जिवाहार महाचिल, दुर्लभ हाँस प्रजातिका चराहरुले हिउँदका छ महिना नेपाली भूमिमा बिचरण गर्ने गर्छन् ।
हिउँदे याममा तराईमा शितलहर चल्दा केही चराहरुको आहार र बिचरणमा समस्या पर्ने गरेको र त्यस्ता केही चराहरु नेपाली भूमि छाडेर भारत, पाकिस्तान र श्रीलंकातिर जाने गरेको समेत बताइन्छ । हिउँदका छ महिना नेपालका घाँसे मैदान,तालतलैया, सिमसार क्षेत्र र बनजंगलमा नेपालका रैथाने चराहरुसँग मिलेर आगन्तुक चराहरु बिचरण गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here