तीन वटा गैँडा अझै भारतमै

काठमाडौँ । दुई वर्ष अघि राप्ती नदीमा आएको बाढीले बगाएर भारत पुर्याएका गैँडा अझै नेपाल फर्काउन सकिएको छैन । चितवन राष्ट्रिय निकुञ्जबाट बगाएर भारतको बाल्मिकी टाइगर रिजर्भ क्षेत्रमा पुगेका एक दर्जन भन्दा बढी गैँडाको उद्धार र फिर्ता भएपनि तीन वटा गैँडा पछि जिवित फेला परेका छन् । ती गैँडा भारतबाट अझै नेपाल ल्याउन सकिएको छैन ।

बाढी आएपछि तत्कालै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले उद्धार गरिएका गैँडा नेपाल फर्काउन संरक्षण साझेदार संस्थाहरुसँग सहकार्य गर्दै नौ वटा गैँडा उद्धार गरी नेपाल फर्काउने कार्य भएको थियो । त्यति बेला वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले नेपाल स्थित भारतीय राजदूतावास तथा भारतीय सरकारसँग गरेको विशेष पहलले ती गैँडा नेपाल फर्काउन सहज भएको थियो ।

तत्कालिन अवस्थामा नेपालबाट बाढीले कति गैँडा बगाएर भारत पुर्यायो ? कतिको मृत्यु भयो ? भन्ने एकिन तथ्याङ्क अझै थाहा हुन सकेको छैन । यसै वर्ष गैँडाको गणना गर्ने कार्यक्रम रहेको छ । गणना पछि मात्र बाढीले पुर्याएको क्षतिको बारेमा यथार्थ थाहा हुनेछ । हाल भारतको बाल्मिकी टाइगर रिजर्भ क्षेत्रमा रहेको तीन वटा गैँडा नेपाल फर्काउनका लागि नेपाल सरकारले भारत सरकारसँग पत्राचार गरिसकेको छ । विभागले वन तथा वातावरण मन्त्रालय मार्फत परराष्ट्र मन्त्रालयमार्फत पनि पहल गरिरहेको छ । यद्यपि भारतीय पक्षबाट जवाफ नआएकाले गैँडा ल्याउन नपाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो ।

भारतीय अधिकारीहरुले तीन गैँडा रहेको जनाएपछि निकुञ्जले पहल शुरु गरेको थियो । बाढीका कारण गैँडासँगै अन्य धेरै जनावर पनि बगेर भारत पुगेका थिए । सो क्रममा साना धेरै वन्यजन्तु मरेको जनाइएको थियो ।

पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् । यसै आर्थिक वर्षमा पुनः गैँडाको गणना गर्ने भनिए पनि दाताको टुङ्गो नलाग्दा गणनाको मिति तय भएको छैन । चालू आर्थिक वर्षको हालसम्म राष्ट्रिय वन क्षेत्रमा दुईसहित ४१ गैँडा प्राकृतिक कारणले मरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here