कोशीमा सुरू भयो खरमजुरको गणना

पश्चिम कुसाहा । कोशी टप्पु वन्यजन्तु आरक्षमा विश्वमै दुर्लभ मानिएको खरमुजुरको गणना शुरु भएको छ ।

खरमजुरको संख्या कोशी टप्पु, चितवन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राम्रो देखिने गरेको छ । यद्धपीको यसको संख्या निकै कम रेकर्ड हुने गरेको छ । सन् २०१२ को गणनामा ४९ वटा तथा सन् २०१७ को गणनामा ४१ वटाको अभिलेख भएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार गणनाको काममा १५ जना दक्ष प्राविधिकलाई खटाइएको छ ।


प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा

यो कामका लागि कम्तिमा दुई हप्ता लाग्ने बताइएको छ । यो काममा आरक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्र, हिमाली प्रकृति, जेडएसएल नेपाल, नेपाल पंछी संरक्षण संघ, पोखरा पंछी समाज, कोशी पंछी समाज लगायतका संस्थाहरुको सहयोग र सहभागिता रहेको प्रमुख संरक्षण अधिकृत खतिवडाले बताए ।

खरमुजुर नेपाल लगायत भारत, कम्बोडिया र भियतनाममा मात्र पाइने गरेको बताइएको छ । यो प्रजातिको चरा तराईको हावापानीमा पाइने गरेको छ । तराई क्षेत्रको सिरु अथवा खरको झाडीमा बस्न रुचाउने खरमयूर नेपालमा तराईको सिमसार वरीपरी बढीजसो पाइने गरेको छ ।

यसले बच्चा कोरल्ने समयमा नेपालमा देखिने गरेपनि अरु बेला हराउने गरेकोले यसलाई नेपालको आगन्तुक पंक्षी भनेर पनि चिन्ने गरिन्छ । संरक्षणका हिसाबले विश्वमा अति सङ्कटापन्न अवस्थामा रहेको छ । नेपाल सरकारले यसलाई संरक्षित पंछीको सूचीमा राखेको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यस प्रजातिलाई रातो सूचीमा सूचीकृत गरेको छ ।

यो प्रजाति अत्यन्तै दुर्लभ, स्थान विशेष आवासीय रुपमा देखिन्छ भने पछिल्लो समयमा यसको बासस्थान खण्डिकृत हुँदै जाँदा थप संकटमा पर्न थालेको बिभिन्न अध्ययनहरुले देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here