भिभिआईपीले मार्सी खाएपछि बझाङका खेतमा रातो मार्सी !

थलारा । भिभिआईपी अर्थात् शक्तिशाली मानिएका व्यक्तिले मार्सीको चामलको भात खाएको तस्विरले सामाजिक सञ्जालमा व्यापक चर्चा भएसँगै अलिअलि हुने खानेले पनि मार्सीको रातो चामलको माग गर्न थाले । सुदूरपश्चिममा मार्सीको धानलाई ‘मार्साे’ पनि भन्ने गरिन्छ । मार्साे धान रातो र कालो हुने गरेको छ । यो धानको जुँगा पनि हुन्छ । प्रायः जसो कालो मार्साे धानको गेडाको टुप्पोमा जुँगा पलाउने गर्छ र खान मिठो कालो मार्साे भन्दा रातो मार्साे लाग्ने गर्छ । कालो मार्साेको चामलमा ध्यू हालेर पकाउँदा त बासमति चामलको भन्दा पनि मिठो बास्नदार भात हुने गर्छ ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले एक जना स्वास्थ्य क्षेत्रका बिबादस्पद व्यक्तिसँग मार्सी चामलको भात खाएको फोटो भाइरल बनेपछि यसको महत्व पुनः जागेर आएको छ । मार्सीको चामलको माग अत्याधिक वृद्धि भएपछि बझाङको सेती नदीको दुबै किनारमा उब्जाउशिल खेतमा मार्सीले ढाक्न थाल्ने सम्भावना बढेको छ । अहिले बेर्ना राख्ने समय हो । यो समयमा सेती नदी र कालंगा खोलाका आसपासका गाउँमा मार्सीको बेर्ना राख्ने काममा किसानहरु व्यस्त देखिएका छन् ।

किसानहरूले कालीमार्सी र रातीमार्सी धानको बेर्ना राखेका छन् । मार्सी धान पुरानो भएकाले यसको कम उत्पादन हुने भन्दै यहाँका किसानहरुले यसको खेती गर्न छाडि सकेका थिए । थलाराका किसान कृष्णदेव जैशीले भन्नुभयो,पछिल्लो समयमा मार्सी हराइसकेको हो कि भन्ने लागि सकेको थियो, केपी ओली र प्रचण्डले मार्सी चामलको भात खाएको भन्दै मार्सी चामल खोज्ने व्यापारी आउन थालेपछि त किसानको पुनः यसको खेती गर्न थालेका छन् । अघिल्लो वर्ष खासै मार्सी लगाएको थाहा थिएन, यो पटक त सबैले लगाउन थाले ।

त्यसैगरी जुम्लामा पनि मार्सी धानको बेर्ना राखिएको छ । जुम्ला, हुम्लाको स्थानीय पुरानो संस्कारअनुसार चैत १२ गते बीउ पानीमा बोराहरूमा राखेर भिजाइन्छ, १६ गते बाहिर निकालिन्छ र २० गते बेर्नामा छरिन्छ । हरेक वर्ष चैत २० गते कर्णालीमार्सी धानको बीउ घरमै उत्पादन गरी बेर्नामा छर्ने गरिन्छ । चैत १२ लाई यहाँको संस्कारमा विच्छेति पनि भनिन्छ अर्थात धानको बिउ बोरामा पानीमा भिजाई राख्ने दिनलाई यहाँ धान उत्पादनको आरम्भ दिनको रूपमा लिइन्छ ।

यहाँको चलन अनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, कनकासुन्दरी, मष्टो, कालिका, मालिका देवतालाई र आआफ्ना कुल देवतालाई सम्झेर चैत १२ गतेबाट धान उत्पादन शुरु गरिन्छ । विशेषगरी जुम्लामा चन्दननाथ बाबाले दिएको उपदेशको आधारमा धान खेतीको शुरुआत गरेको पाइन्छ । श्री शाके ९६३ अर्थात विसं १०९८ सालमा जुम्लामा धान खेती शुरुआत गरेको पाइन्छ । पुरै विशाल खस सिञ्जा राज्यभरि विसं १११२ मा धानको खेती लगाएको इतिहास छ । चैत १२ गते विभिन्न तरिकाले बिउ राखी २० गते बेर्नामा लगरे छर्न तथा आफन्त र छोरी कुटुम्बलाई बोलाई मिठो भोजन गराउनु भनी चन्दननाथ बाबाले उपदेश दिएको भन्ने किंवदन्ती रहेको छ । चैत १६ गते भिजाएको धानको चिउरा कुटने र खाने चलन रहेको छ ।

मार्सी धानको खेतीको प्रक्रियासँगै यसको महत्व पनि उतिकै मानिदै आएको छ । मार्सी धानलाई विभिन्न रोगको औषधिको रूपमा पनि प्रयोग गरिन्छ । यसको रातो भातकोे खीर निकै स्वादिलो हुन्छ । इतिहासमा पहिला राजपरिवारमा पनि जुम्लाकै मार्सी धान पठाउने गरिन्थ्यो । अहिले पनि अधिकांश व्यक्तिहरूले यसको प्रयोग गरेको पाइन्छ । नेकपाका अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जुम्ली मार्सी धानको भात खाएको सार्वजनिक भएसँगै यसको लोकप्रियता एकाएक बढेको हो । अहिले नेपाली बजारमा यसको माग बढिरहेको छ ।

जुम्लामा धेरै पहिलादेखि मार्सी धानको खेती सुरु भए पनि विश्वकै अग्लो स्थानमा धान फल्ले छुम चौरमा यसको खेती कम हुँदै गएको स्थानीय कलीमान महताराले बतउनुभयो । पछिल्लो समय जुम्लामा कीटनाशक औषधिको प्रयोग र पानीका मुहान सुक्दै जानाले यसको खेतीमा ह्रास आएको छ । ऐतिहासिक कालीमार्सी धानलाई जोगाउन जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरिए पनि उचित सिँचाइको व्यवस्था नहुँदा यसको उत्पादन बढाउन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here