रैथाने थारु आलुको संरक्षण कार्यक्रम

धनगढी । कैलाली र कञ्चनपुर जिल्लामा पछिल्ला वर्षहरूमा रैथाने जातको ‘थारू आलु’को खेती गर्न बीउ नपाउने समस्या देखिन थालेपछि प्रदेश सरकारले यसको संरक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

अरु विकासे आलुको तुलनामा खानामा स्वादिलो हुने यो आलुको खेती गर्न बीउ नपाउने समस्या बढ्दै जान थालेपछि यसको संरक्षण सम्वद्र्धन कार्यक्रम सञ्चालन गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव यज्ञराज जोशीले बताउनुभयो ।

यी दुई जिल्लामा बसोवास गर्ने थारू समुदायको खानपान, संस्कृति एवं पहिचानसँग पनि यो आलु जोडिएकाले पनि यसको संरक्षणको प्रयास गरिएको उहाँले बताउनुभयो । यो आलुको खेती गर्ने वर्षेनी घट्दै जान थालेपछि यसको बीउ पनि नपाउने समस्या किसानले व्यहोर्दै आएका थिए ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरमार्फत् यो आलुको संरक्षण सम्वद्र्धन कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमअन्तर्गत यस वर्ष यी दुवै जिल्लामा १८ वटा पकेट क्षेत्र बनाई प्रतिपकेट क्षेत्रमा आलु खेती गर्न चाहने सम्बन्धित कृषक समूहलाई रु एक लाख ५० हजारसम्मको नगद प्राविधिक र वस्तुगत अनुदान सहयोग पु¥याइएको छ ।

अठार पकेट क्षेत्रको झण्डै ६० हेक्टर जग्गामा गरिएको यो आलुको उत्पादन यस वर्ष ६०० मेट्रिक टन भएको छ । उत्पादित आलुमध्ये २०० मे टन आलु बीउको रुपमा भण्डारण गर्न लागिएको छ ।

“रैथाने जातको थारू आलुको बीउ हराउन थालेपछि यसको प्रवद्र्धन गर्न पहल गरिएको हो, उपसचिव जोशीले भन्नुभयो, “प्रदेश सरकारले तराईका कैलाली र कञ्चनपुरमा थारू आलु र पहाडी जिल्लामा रैथाने जातका जौं, फापर, बेथे, लट्टेजस्ता बालीको संरक्षण सम्वद्र्धन कार्यक्रम सञ्चालनको प्रयास गरेको छ ।”

उन्नत जातका आलुको तुलनामा खानामा स्वादिलो हुनु, रोग किराको समस्या कम देखिनु, भण्डारण गर्न त्यति समस्या नहुनु र विकासे आलुको मूल्यको तुलनामा यसको मूल्य पनि बढी हुनु यो आलुको विषेशता हो । व्यापारिक उद्देश्य राखेर उन्नत जातका कर्डिनल, टिपिएस, खुमल रातोलगायतका आलुको खेती विस्तार हुन थालेपछि थारू आलुको बीउ हराउने अवस्थामा पुगेको स्थानीय किसान भागीराम चौधरी बताउनु हुन्छ ।

“थारू आलु पहिले गाउँमा धेरै जग्गामा गरिन्थ्यो,” कैलारी गाउँपालिकाका किसान चौधरीले भन्नुभयो, “पछिल्ला वर्षमा यसको बीउ पर्याप्त मात्रामा नपाइने समस्या सिर्जना हुँदा यसको खेती चाहेर पनि कतिपयले गर्न सकिरहेका छैनन् ।”

हिउँदे याममा हुने शीतलहरका कारण देखिने डढुवा रोगको प्रकोप अन्य आलु बालीको तुलनामा यस आलुमा कम देखिने गरेको कैलाली भजनी नगरपालिका कलकत्ता कृषक समूहका सदस्य खुशीरानी चौधरी बताउनुहुन्छ । २६ जना कृषक सहभागी उक्त समूहले पाँच बिघा जग्गामा यस वर्ष सो आलुको खेती गरेको छ ।

तरकारी बजारमा उन्नत जातको आलु यामको समयमा प्रतिकिलो रु २५ देखि ३० मा कारोवार हुँदा थारू आलु प्रति किलो रु ४५ देखि ६० मा कारोवार हुने गरेको छ । उन्नत जातका विकासे आलुको तुलनामा दानाको आकार सानो हुने र उत्पादकत्व पनि केही कम हुने यो आलुको प्रवद्र्धनका कार्यक्रम सञ्चालनसँगै यसको खेती विस्तार हुने विश्वास गरिएको छ ।

यो आलुको खेती प्राङ्गारिक मल र विषादीको प्रयोगबिना गर्न सकिने कृषकको भनाइ छ । यो आलु खाने बानी परेका पारखी यसको मौसममा कृषकका खेतबारीमा नै पुग्ने गरेको भेटिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here