भावी पुस्ताका लागि पनि प्राकृतिक सम्पदा जोगाऔँ: राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेबी भण्डारीले भावी पुस्ताले हेर्न, देख्न र उपभोग गर्नका लागि अहिलेका पुस्ताले प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धीको २४ औँ सम्मेलन (कोप — २४) मा नेपालका सहभागिता तथा उपलब्धी विषयमा मंगलवार राष्ट्रपति भवनमा भएको अन्तक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विकास मानव जीवनका लागि भएकाले वातावरणको विनाश गरेर भएको विकास दिगो नहुने भएकाले विकास र वातावरण संरक्षणका विषयलाई उत्तिकै महत्व दिन पनि जोड दिनुभयो ।

उहाँले भावी पुस्ताले प्राकृतिक सम्पदा हेर्न, देख्न र उपभोग गर्न पाउने अधिकारलाई वर्तमान पुस्ताले सुरक्षित राख्नुपर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रममा वन तथा वातारण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले कोप — २४ सम्मेलनमा नेपालले उठाएका एजेण्डा, सम्मेलनमा पारित भएका सम्झौता र त्यसले नेपाललाई भएका उपलब्धीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र प्रस्तुति पछि छलफलमा भाग लिँदै वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले नेपालले नीतिगत विकासका लागि काम गरिरहेको बताउनुभयो ।

जलवायु विज्ञ राजु पण्डित क्षेत्री, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले नेपालले जलवायु परिवर्तनबाट परेको असरलाई न्युनीकरणका लागि जलवायु वित्तका विषयमा अन्तराष्ट्रिय मञ्चमा दरिलो उपस्थिति देखाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

थप फोटो फिचरमा: फोटो सौजन्य प्रदीप सुनुवार

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here