रुकुम । स्थानीय निकायले जिल्लाका सबै विद्यालयलाई सोलार वितरण गर्ने अभियान सञ्चालन गरेको छ ।
जिल्लाको बाँफिकोट गाउँपालिकाले यहाँका विभिन्न विद्यालयमा सोलार सहयोग गर्ने भएको छ । गाउँपालिका भित्रका विद्युत नपुगेका सातवटा विद्यालयमा सोलार जडान गर्न लागिएको हो ।
विद्युत् नहुँदा विद्यालयको प्रशासनिक कामकाज कम्प्युटर मार्फत गर्न नसकिएको भन्दै त्यसमा सहजता ल्याउन सोलार प्रदान गर्ने भएको छ ।
जिल्लाका आधा दर्जन भन्दा बढी विद्यालयमा सोलार जडानका एक लाख रुपैयाँका दरले वितरण गर्न थालिएको छ । गाउँपालिकाले विनियोजन गरेको उक्त बजेटमा सम्बन्धित विद्यालयले दश प्रतिशत रकम थपेर सोलार जडान गर्ने बताइएको छ ।
विद्युत् नपुगेको र तत्काल विद्युत् पुग्ने अवस्था नभएका क्षेत्रमा रहेका विद्यालयका लागि सोलार जडान प्रक्रिया थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताउनुभयो । नवीकरणीय उर्जाबाट आएको बजेटबाट विद्यालयका प्रशासनिक कामकाजलाई कम्प्युटर मार्फत सञ्चालन गर्ने उद्देश्य बमोजिम सात विद्यालयमा सोलार जडान गर्ने निर्णय भएको भनाई गुरुङको छ ।
विद्यालयका आन्तरिक कामकाज कम्प्युटर मार्फत गर्ने तथा कतिपय विद्यालयमा डिजिटल हाजिरी जडानका लागि पनि सोलार जडान सहयोगी हुने बताइएको छ ।