डोटी । बडिकेदार गाउँपालिका–९ विपीनगरस्थित कापडी गाडमा निर्माणाधिन सालमुनि हाइड्रो पावरको काम अन्तिमचरणमा पुगेको छ ।
उक्त विद्युत् पावर हाउसको विद्युत् उत्पादन क्षमता ३।३३ मेगावाट छ । करीब एक अर्बको लगानीमा निर्माणाधिन सो विद्युत् गृहमा अहिलेसम्म करीब रु ८० करोड खर्च भएको विद्युत् आयोजनाका टनेल ईन्चार्ज मीन पोख्रेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ सबै काम अन्तिम चरणमा पुगेको छ, आशा गरांै तोकिएकै समयमा काम सकिने छ ।” सनमानदेवी हाइड्रो पावर तथा स्वयम्भू कन्ट्रक्सनले सो आयोजनाको निर्माणकार्य थालेको हो । यही वैशाख अन्तिम सम्ममा निर्माणकार्य सक्ने लक्ष्यअनुसार उक्त विद्युत् गृहको काम तीव्र गतिमा भइरहेको छ । विद्युत्गृहको भवन बनिसकेको छ ।
हाल सो विद्युत्गृहको एक हजार २०० मिटर सुरुङ खन्ने कार्य सकिएको छ । स्वयम्भू कन्ट्रक्सन र नेपाल सरकारबीच उक्त सालमुनी हाईड्रोपावरबाट उत्पादन गरिएको विद्युत् राष्ट्रिय प्रशासरण लाइनमा जोड्ने र पछि नेपाल सरकारले नै उक्त विद्युत् आवश्यक क्षेत्रमा बिक्री वितरण गर्ने सम्झौता भएको छ । सम्झौतानुसार ३० वर्षसम्म उक्त विद्युत् बिक्रीबाट आएको रकम निर्माण गर्ने कम्पनीले लिने छ ।
टनेल इन्चार्ज पोख्रेलले भन्नुभयो, “शुरुमा रु ८०/९० करोड लाग्ने सोचेपनि अहिले एक अर्ब नै लाग्ने देखिएको छ, काम निर्धारित समयमै गर्छौँ ।” विद्युत् उत्पादन हुने भएपछि स्थानीयवासी निकै खुशी भएको स्थानीय रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बत्ती नभएर अध्यारो भएको हाम्रो ठाउँमा केही समयमै झिलिमिली हुने भयो हामी त्यसैमा खुशी छौं ।”
गाउमै रोजगारी पाएपछि कामका लागि भारत जानेक्रममा केही कमी आएको स्थानीय लोकेन्द्रबहादुर छेडालले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् निर्माणले सबैलाई खुशीनै बनाएको छ, घरको खाना खाएर काम गर्न जान्छन्, रोजगारी मिलेको छ,यो भन्दा अरु के नै चाहियो । ”उक्त क्षेत्रमा विद्युत् आपूर्तिका लागि सव स्टेशन धमाधम निर्माण भइरहेको छ ।





































