पोखरा, डडेल्धुरा र इनरुवाका दुर्घटनामा परी सात जनाको मृत्यु

डडेल्धुरा । बुधवार भएका बिभिन्न दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नंको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक आज बिहान ५ः३० बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु भएको प्रारम्भिक जानकारीबाट खुल्न आएको छ । बसमा खाद्य सामग्री र व्यापारिक प्रयोजनका सामग्रीहरु बढी हुनु तथा यात्रु पनि क्षमताभन्दा बढी भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ । उद्धारकार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै स्थानीय सर्वसाधारण खटिएका छन् । घाइते कति छन् भन्ने यकिन हुनसकेको छैन ।

त्यसैगरी पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२६ बुढीबजारमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मङ्गलबार राति करीब ८ः४५ बजेको समयमा पोखराबाट दमौली जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते हुुनुभएका सोही ठाउँ निवासी ४२ वर्षीय टीकाराम तिमिल्सिनाको उपचारको क्रममा बुधवार मृत्यु जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
ग ६ प ३०२९ नंको मोटरसाइकलमा सवार तिमिल्सिना ठक्करबाट घाइते भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको लागि ल्याइएको थियो । ठक्कर दिने बस र चालकको पहिचान भइनसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा मङ्गलबार मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–१ झुम्काका २६ वर्षीय उमेश चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख १२३६ नंको ट्रकले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ५ प ५०३३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक चौधरी र पछाडि सवार उदयपुर गाईघाट नगरपालिका–१३ पुरानो बजारका २० वर्षीय सङ्गम राई घाइते भएका थिए ।
गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का घाइते राईलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । ट्रक र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here