आगलागीमा परी २ जनाको मृत्यु, दर्जनौ घर नष्ट

सल्यान । सल्यानका बिभिन्न सामुदायिक वनमा आगलागी हुँदा आगो निभाउन गएका दुई जना सामुदायिक वनकर्मीको मृत्यु भएको छ ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रामकाडामा भएको भीषण अगलागीमा आगो निभाउने क्रममा मृत्यु हुनेमा सिमपानीका ५५ वर्षका पेन्टी बोहरा रहेको प्रहरीले पुष्टि गरेको छ । आगोमा परि सोहि ठाउँका ४० वर्षका खगेन्द्र बोहरा गम्भीर घाईते भएका छन् । घाईते बोहराको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ ।

यस्तै जिल्लाको शारदा नगरपालिका ९ दुवेरी पुनटोलका ६० वर्षका गोवर्धन पुनको आगो निभाउन क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय काफलखोली सामुदायिक वनमा लागेको आगलागीमा परि मृत्यु भएको हो । बैशाख २४ गते नजिकैको सामुदायिक लागेको आगो निभाउन गएका उनीहरु रातीसम्म पनि घर नफर्केपछि खोजीकार्य गर्दा आगोमा परी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक पञ्चलाल गोलेले बताउनु भयो ।

मृतक पुन आगलागीमा परी भिरबाट ३ सय मिटर तल लडेर जलेको अवस्थामा लास फेला परेका हो । वनमा लागेको डढेलोको रापले नजिकैको घरबारी समात्दा तुसारे सिमपानी नजिकै रहेको बस्ती रामकाँडामा ६ घर र चार गोठ गरि १० घरगोठ जलेर नष्ट भएका छन् । दिउँसो आगो लागेकोले गाईवस्तु, अन्नपात र लत्ता कपडा केही मात्रामा मात्र बचाउन सकेपनि घरगोठ भने जलेर नष्ट भएका छन् ।

त्यसैगरी डढेलोका कारण घर नष्ट हुनुका साथै घरमा भएका सम्पूर्ण सामग्री लत्ताकपडा, खाद्यान्न घरमा राखेको पैसा, गरगहना जलेर नष्ट भएको सामुदायिक वनका अध्यक्ष रामबहादुर बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार सो ठाउँमा मानवीय क्षति भने भएको छैन । कपुरकोट गाउँपालिकाको मुलपानीमा आगलागीले पनि स्थानीय ब्रिजलाल खड्काको घर जलेर नष्ट भएको छ भने शारदा नगरपालिका १० मदना नजिकै भएको आगलागीले पनि एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानका अधिकांश सल्लाका वन जंगल भएकाले आगलागी भएपछि निभाउन निकै हम्मे हम्मे हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here