ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु, आँप बोकेको भारतिय ट्रक त्रिशुलीमा बग्यो

सुर्खेत । दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा आज तीन जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट जुम्ला जाँदै गरेको मिनी ट्रक दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ निगालपानीमा दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका निरीक्षक प्रेम क्षेत्रीका अनुसार तीन वटै शव जलेको अवस्थामा भेटिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिनुभयो । आज दिउँसो सडकबाट करीब ३०० मिटर तल ट्रक खसेको थियो । त्यसै गरी आजै भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी३२एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो ।

सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको छ । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आँप बोकेर काठमाडौँ जाँदै गरेको मिनीट्रक आज बिहान २ः२० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here