हात्तीबाट सुरक्षित हुन अन्न भण्डार

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज वरीपरीका बस्तीमा हात्ती पसेर भण्डारण गरी राखेको अन्न नोक्सानी गर्न थालेपछि सामुहिक अन्न भण्डारणको व्यवस्था गर्न थालिएको छ ।


हात्तीले घरमा भण्डार गरिएको अन्न खोज्ने क्रममा घर भत्काउने र मानिसलाई समेत अशुरक्षा हुने गरेकोले बर्षेनी हात्तीले घर भत्काएर अन्नको क्षति व्यहोर्दै आएका किसानको सुरक्षाका लागि अन्न भण्डारको निर्माण गर्नु परेको बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन रमेशकुमार थापाले जानकारी दिए ।


उनले भने, ‘‘हात्तीले गर्दा मानिसको ज्यान जोखिममा त छदैछ, अर्काेतिर अन्नको खोजी गर्दै हात्तीले घर भत्काउन थालेपछि यस वर्षदेखि मधुवन नगरपालिका, बर्दिया डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज, खाता सामुदायिक वन समन्वय समिति र उज्यालो नेपालको सहकार्य एवं आइयुसिएन नेपालको प्राबिधिक सहयोग र ग्लोबल नेचर फण्ड (जिएनएफ) को आर्थिक सहयोगमा भक्रैया र पत्थरबोझीमा सामुहिक अन्न भण्डार निर्माण गर्न लागिएको हो ।’’


बर्दियामा रहेको उज्यालो नेपाल नामक संस्थाले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण लगायतका क्षेत्रमा काम गरिरहेको छ । सो संस्थाका सल्लाहकार समेत रहेका थापाका अनुसार उज्यालो नेपालले खासगरि हात्ती संरक्षण, मानव हात्ती द्वन्द्व न्यूनीकरण र मानव हात्ती सहअस्तित्वको क्षेत्रमा नयाँ नयाँ प्रविधि र रणनीतिका साथ ‘हात्ती मेरो साथी’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।


बर्दियाको खाता जैविक मार्गका १८ वटा गाउँमा गाउँस्तरीय हात्ती मेरो साथी समूह गठन गरी सहकारी संस्था मार्फत बचत तथा ऋण कार्यक्रम र घुम्ती कोष मार्फत समूहका सदस्यहरुका लागि जीविकोपार्जन तथा आयआर्जनका कार्यक्रम पनि सञ्चालन भइरहेको उनले जानकारी दिए ।


त्यसैगरी हात्ती मेरो साथी सञ्चालक समितिका अध्यक्ष धनिराम थारुका अनुसार सो अभियानका सदस्य तथा भक्रैया र पत्थरबोझी गाउँका सबै व्यक्तिहरुको दुर्घटना बीमा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here