दुई सामुदायिक वनमा आगलागी

बाजुरा । बडीमालिका नगरपालिका–१ र ६ वडामा रहेका सामुदायिक वनमा सोमबार बिहान ४ बजे आगलागी भएको स्थानीयवासीले बताएका छन् ।

उक्त नगरपालिका–६ कोर्धमा रहेको बडीमालिका सामुदायिक वन र सल्लेनामा रहेको सल्लेना सामुदायिक वन र सोमबार बिहान ४ बजेबाट आगलागी भएको वडा नं १ का वडाध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो ।

बूढीगङ्गा नदीको छेउबाट आगो सल्केर वनको सल्लेरी सामुदायिक वनमा आगलागी भएको हो । आगलागीबाट उक्त वनको करीब दुई सय हेक्टर वनमा आगोले सखाप पारेको छ ।

त्यस्तै बडीमालिका सामुदायिक वनको २० हेक्टर जमीनमा आगलागी भएको डिभिजन वन कार्यालय बाजुराका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै वनमा आगलागी भएपछि जिल्लामा रहेको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय र डिभिजन वन कार्यालयका कर्मचारीहरुले आगो निभाउने कार्य भइरहेको कँडेलले बताउनुभयो ।

आगो नियन्त्रण लिने प्रयास भइरहेको भए पनि हावाहुरी लाग्न थालेपछि नियन्त्रण लिन निकै समस्या भएको डिभिजन प्रमुख कँडेलको भनाइ रहेको छ । आगो लागेको वन कार्यालयलाई स्थानीयवासीले खबर गरेपछि कार्यालयका प्रमुख कँडेलको नेतृत्वमा अग्नि नियन्त्रकहरु घटनातर्फ गएर आगो नियन्त्रण लिने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागी भएको करीब १४ घण्टा हुँदासम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट दुई सामुदायिक वनबाट करीब दश लाख बराबरको क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here