वन्यजन्तु अपराध नियन्त्रण राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ । वन्यजन्तुको चोरी शिकार तथा अवैध कारोवार नियन्त्रणमा संलग्न सरोकारवाला निकायको दुई दिने प्रथम राष्ट्रिय सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्धारा आयोजना गरिएको सम्मेलनमा वन्यजन्तु अपराध नियन्त्रण इकाई गठन भएका जिल्ला स्थितका डिभिजनल वन अधिकृत, प्रमुख संरक्षण अधिकृत, नेपाली सेना, नेपालप्रहरी, शसस्त्र प्रहरी लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

सम्मेलनको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्नु भएको हो । सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले वन्यजन्तुको चोरी शिकार र अवैध व्यापार संगठित अपराध भएकोले यसको नियन्त्रण गर्न निकै चुनौती भएको दावी गरे ।

उनले सबै सरोकारवाला निकायको सहकार्य, समन्वय र निकटताको सम्बन्धले मात्र यसलाई नियन्त्रण गर्न सकिने तर्क प्रस्तुत गर्दै चोरी शिकार नियन्त्रण र अवैध व्यापारलाई नियन्त्रण गर्ने विषय राष्ट्रिय मात्र नभएर अन्तराष्ट्र्रिय चाँसो र सरोकारको विषय भएको बताए ।

कार्यक्रममा विभागका महानिर्देशक मनबहादुर खड्का, उपमहानिर्देशक गोपालप्रकाश भट्टराई, वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केशी, डब्लुडब्लुएफका बरिष्ठ निर्देशक सन्तोष नेपाल लगायतले चोरी शिकार नियन्त्रणको विषयलाई राष्ट्रिय सरोकारको विषय बनाउन सके मात्र नेपालले थप उपलब्धी हासिल गर्ने बताए ।

सम्मेलनको पहिलो दिन वन्यजन्तु अपराध नियन्त्रण इकाईको अवधारणा र विकास सम्बन्धमा मन्त्रालयका सहसचिव डा. कृष्णप्रसाद आचार्य, केन्द्रीय स्तरको वन्यजन्तु अपराध नियन्त्रण इकाईको कार्य बारे उपमहानिर्देशक गोपालप्रकाश भट्टराई, वन र वन्यजन्तुको संरक्षणमा कानूनी जटिलता र समाधानको उपाय विषयमा पूर्व मूख्यन्यायधीश केशरी राज पण्डित र वन्यजन्तुको अपराधमा मानवअधिकार विषयमा सञ्जिवकुमार रेग्मीले कार्यपत्र प्रस्तुत गर्नु भयो । सो कार्यपत्रहरु सहभागीले छलफल गरेका छन् ।

सम्मेलन बुधवार पनि चल्ने भएको छ ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here