हिउँ खेलिरहने रेञ्जर हिमाल

काठमाडौँ । पूर्वेली केटाले हेटौटा वन विज्ञानको स्नातक पढ्दापढ्दै लोकसेवा पास गरेपछि पोष्टिङ भयो मकालु बरुण राष्ट्रिय निकुञ्जमा । जागिर खानै पर्यो । झापाको गर्मीमा हुँर्कदा गहुँगोरो भएको छाला मकालु बरुणमा पलेटी कसेर लगातार पाँच महिना बस्दा नबस्दै अनुहार त रातो पो भएछ, मकालु बरुण राष्ट्रिय निकुञ्जका रेञ्जर हिमाल पाठकले जागिरे जीवनको सुरुवाती सम्झदै भने ।

उनी सम्झन्छन्, सुरु एक, दुई हप्ता त हावापानीले खासै ‘सुट’ गरेन । पछि त कस्तो रमाइलो लाग्न थाल्यो कि अब त यो ठाउँ नछोडौँ कि जस्तो भएको छु ।

मकालु हिमालका बारेमा रेञ्जर हिमालले विद्यालय पढ्दा ‘श्वामस्वेत’ तस्विर हेरेर किताबमा पढेका मात्र थिए । तर जागिर खान थालेपछि मकालु हिमाल र हिमाल वरीपरीका दर्जनौँ हिमश्रृखलालाई ‘कलरफूल’ रुपमा आँखै अगाडि देखे ।

कहिलेकाँही काठमाडौँ झर्दा उनले बबरमहल आसपास आफ्ना साथीसंगीका बीच मकालु हिमाल र वरीपरीका समुदायसँग बिताएका रमाइला क्षणको ब्याख्या गर्न थाले । उनलाई याद छ, स्नातकको थेसिसका लागि मकालु बरुणबाट काठमाडौँ झर्दा आफ्ना साथीहरुका बीच गजब्बले त्यहाँ बस्दाको पीडा लुकाएर रमाइला क्षण सम्झेका थिए ।

हिउँमा गस्ती गर्दै रेञ्जर हिमाल सहितको टोली

आइतवार नेपालकथासँग हिमालले भने, दुर्गमको त कुरा नगरौँ । तुम्लिङ्टार प्लेनमा झरेपछि ६ घण्टाको गाडीको यात्रा अनि एक घण्टाको पैदल मार्च नगरे त हेडक्वाटर नै पुगिन्न । तर पनि हिड्ने बानी भएर होला, निकै रमाइलो पो हुन्छ त यहाँ ।

हेटौडा क्याम्पसका साना साना कोठामा कस्तुरीका विनाको महत्व बारे लेक्चर सुनेको कुरा उनको मनमा ताजै थियो तर कस्तुरीको सक्कली रुप उनले मकालु बरुणमा गएर देखे अनि उनी खुसी हुँदै भन्छन्, म झापाको मान्छे, कस्तुरी मृगका बथान मेरो जीवनका अभिन्न अंग जस्तै हुन थालेका छन् । म दिक्क हुँदा गस्ती हिडिदिन्छु अनि हिमाल र कस्तुरी मृग हेरेर संसारलाई बुझ्ने गर्छु ।

उनी मकालु बरुणमै बसेको तीन वर्ष भन्दा बढी भइसक्यो । यो बीचमा उनले पर्सा राष्ट्रिय निकुञ्जतिर सरुवा माग्ने प्रयास पनि गरे । तर उनलाई मकालु बरुणको मायाले छाड्न सकेन ।

नेपालमा लकडाउन भएको खबर निकुञ्जमा भोलिपल्ट मात्रै थाहा भो । जहाँ निकुञ्जको हेडक्वाटर छ, त्यहाँ न फोन लाग्छ न इन्टरनेट छ । हेडक्वाटर नजिकै अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइट बन्दै छ । त्यहाँको अग्लो ड्याम साइटमा जाँदा कहिलेकाँही फोनले समात्छ । संयोगले लकडाउन घोषणा भएको भोलिपल्ट ड्यामसाइटमा गएर फोन लाग्यो अनि बल्ल पो थाहा भयो, नेपालको लकडाउनका बारेमा, हिमाली रेञ्जर हिमालाई ।

उनले भने, बाह्रै महिना मैले बाक्लो सिरक ओड्ने गरेको छु । हावापानीको यो स्वर्ग छाडेर जान पनि कतै मन छैन । तर पनि कति बस्नु एकै ठाउँमा ? उनले फेरी आफै प्रतिप्रश्न गरे ।

अवैध रुपमा बनाएको होटल भत्काउदै रेञ्जर हिमाल

लडकाउनका बेला उनको नेतृत्वमा गएको टोलीले निकुञ्जको कोर एरियामा अवैध रुपमा बनाएको एउटा होटल भत्काएर आयो । भत्काउनु भन्दा पहिले उनको मुटु काँप्यो डरले । तर पनि उनले त्यो घर भत्काएन भने अरु भत्काउने निकाय कुनै थिएन । त्यो ठाउँका लागि वन मन्त्रालयका प्रतिनिधि मात्र होइन, गृह मन्त्रालयको प्रतिनिधि पनि उनी नै थिए ।

उनले भने, मैले भत्काएन भने त्यहाँ त केहीदिन पछि होटल सञ्चालन हुन्थ्यो, त्यसैले मैले भत्काएर हिडे । डर त लाग्यो नि । खतरा छ त्यो ठाउँ ?

यो तीन वर्षको अवधिमा उनले धेरै ठाउँमा अनौपचारिक रुपमा ‘ज्यानकै धम्की’ समेत खप्नु पर्यो । ‘यो ठाउँ हाम्रो हो, हामीले जे पनि गर्न पाउनु पर्छ’ भन्ने मानसिकताका मानिसले निकुञ्ज कर्मचारीहरुसँग त्यस्तो व्यवहार देखाउने गर्छन् ।

समुदायका असल मानिसबाट निकुञ्ज कर्मचारीबाट कहिल्यै ‘थ्रेट’ छैन । उनले नेपालकथासँग भने, तर केही बदमासले हामीलाई सधै पिछा गरिरहने हुँदा कहिलेकाँही गाह्रो पनि पर्छ । जागिर खाँदा यही बाटोमा हिडेरै त जाने होला नि ? माथिबाट तल झर्दा बिचार गरेर आउनुपर्ला है ? यो ठाउँमा होसियार हुन पनि सिक्नुपर्छ है …भन्ने जस्ता दुश्मनी भाषा रेञ्जर हिमालले पचाइसके अब त ।

हिउँको फूल: मकालु बरुणमा यस्तै सुन्दर हिउँका फूलसँग खेल्न पाइन्छ

समुदायमा गएपनि बास नपाएको र एक गास नदिएको कसैले पनि छैन । उनले भने, समुदाय त कति ज्ञानी छ तर केही फटाहाले कहिलेकाँही गाह्रो पार्छन् ।

आँटिला हिमालले बदमासी गर्नेलाई कहिल्यै छुट दिएनन् । त्यसैले होला, मनोज शाह चिफ वार्डेन हुँदा होस् वा चन्द्रशेखर चौधरी, जटिल केस आयो कि हिमाललाई अघि सार्छन । मध्यवर्ती क्षेत्रका पदाधिकारीका लागि पनि रेञ्जर हिमाल ‘एक भरोसायोग्य कर्मचारी’ कहलिएका छन् ।

उनका बारेमा चिफ वार्डेन चौधरीले भने, हिमालजी समुदायसँग भिज्न सक्ने मान्छे हो । उसले ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने आँट गर्छ ।

गस्तीका क्रममा हिउँमाथि थकाई मार्दै संयुक्त गस्ती टोली

मध्य बैशाखमा हिउँ खेल्न पाउने अवसर उनै रेञ्जर हिमाललाई छ । लकडाउनका बेला उनी संयुक्त गस्तीमा थिए । याङ्ले खर्क नपुग्दै हिउँ बर्सियो । अनि हतार हतार सेक्टरमा ओत लाग्न फर्किएको अनुभव उनले सुनाए । लकडाउनकै बेला उनले लामो अवधिको दुई गस्ती भ्याइसकेका छन् ।

पछिल्लो पटक उनी ठूलो पोखरीतिर गस्तीमा थिए । अवैध रुपमा बनाएको होटल भत्काउँदै गर्दा आकाश कालो हुँदा हुँदै हिउ झर्न थाल्यो । अनि नजिकैको रेष्ट हाउसमा दुई रात बिताए । उनी सात दिनको लामो गस्तीबाट फर्केको दुई दिन मात्र भयो । उनले भने, हामीकहाँ तराईको जस्तो एकदिने गस्ती हुँदैन । हामी गस्ती जाँदा कम्तिमा हप्ता दिनको प्याकेज बनाएर हिड्छौँ ।

दुख्ख पनि होला अनि कस्तो आनन्द छ है त्यहाँको जनजीवन ? नेपालकथाको जिज्ञासामा उनले भने, अहिले हिउँ पर्दा मानिसहरु सबै तल झरेका छन् । माथि जनावर मात्र भेटिन्छन् । बित्ता बित्तामा थार, भालू, रेडपाण्डा, कस्तुरी मृगका बथान हिउँमा डुबेर हिडेको देख्दा हामीले पनि हिउँ खेलेर आयौँ । मलाई त हिमाल नै मन पर्न थाल्यो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here