चैनपुर, बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुर पारी पट्टीको डुङग्री गाडबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको एक जीप दुर्घटनामा पर्दा छ जनाको ज्यान गएको छ भने अन्य घाइतेको उद्धार हुन नसक्दा मृत्यु हुनेका संख्या अझै बढ्ने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
से १ ज १०७२ नम्वरको जीपमा क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा परेको जीप निकै गाह््रो ठाउँमा अड्किएकाले उद्धार गर्न पनि समस्या भइरहेको छ ।
सो दुर्घटनामा एक बालक, दुई महिला र एक जना पुरुषको मृत्यु भएको छ । मृतकको सनाखत भइसकेको छैन ।
उद्धारका लागि सदरमुकाम चैनपुरबाट नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली परिचालन भइसकेको छ भने प्रमुख जिल्ला अधिकारी सहितका टोली पनि घटनास्थलमा जाने तयारी भइरहेको बताइएको छ ।
घाइतेको गम्भीर अवस्था भएकाले उपचारका लागि हेलिकोप्टर बोलाउने तयारी भइरहेको पनि जिल्ला प्रहरी बझाङले जनाएको छ ।
ट्रयाक मात्र खोलेको सडकमा अनुमति बिना जीप सञ्चालन गर्ने प्रवृतिले बझाङमा गत हप्ता मात्र अर्काे जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । वर्षेनी यस्ता ग्रामीण सडकमा दर्जनौँ सवारी साधन दुर्घटना हुँदा दर्जनौ मानिसले अकालमा ज्यान गुमाउनु पर्ने र कतिपय मानिस अंगभंग हुने भइरहेका छन् ।