लौठ सल्लाको बिरूवा रोपण, एक प्रहरी एक बिरुवा’ अभियान

रसुवा । क्यान्सर रोगको औषधिमा प्रयोग हुने उपयोगी मानिएको लौठसल्लाका बिरूवा उत्तरी रसुवाको गतलाङ क्षेत्रमा शनिबार रोपण गरिएको छ ।

‘एक व्यक्ति, एक बिरूवा रोपण’ अभियानलाई सार्थक पार्दै डिभिजन वन कार्यालय रसुवाको आयोजनामा आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत गतलाङगाउँको उच्च क्षेत्रमा २०० लौठसल्लाको बिरूवा रोपणकार्य सम्पन्न भएको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताउनुभयो ।

राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारी समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा रोपण गरिएको लौठसल्लाको बिरूवा संरक्षणका लागि स्थानीय समुदायलाई जिम्मा दिइएको गाउँपालिकाले जनाएको छ । रोपण गरिएको लौठसल्लाको बिरूवा हुर्किएपछि धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा मानिदै आएको पार्वती कुण्ड पुग्ने यात्रु एवं पर्यटकलाई थप मनमोहक बनाउने र पाहुनाको चहलपहल ह्वात्तै बढ्ने अपेक्षा राखिएको स्थानीयवासीले बताएका छन् ।

बिरूवा रोपणका लागि स्थानीय प्रशासक, सुरक्षा अङ्ग, स्थानीय तहका नेता तथा कार्यकर्ता, वन संरक्षण उपभोक्ता समिति, संरक्षणका लागि कार्यरत गैसस, सङ्घसंस्थासमेतको सहभागिता रहेको बताइएको छ ।

यस्तै हरियाली बढाई वातावरणको संरक्षण गर्न डिभिजन वन कार्यलय रसुवाले सरकारी निकायको परिसरमा समेत बिरूवा रोपण गर्ने कार्यलाई निरन्तरता दिएको छ । वन कार्यालयले उपलब्ध गराएको बिरूवा सहयोगबाट जिल्ला सरकारी वकिल कार्यालयको परिसरमा गत महीना मनाइएको गणतन्त्र दिवसको अवसर पारी विभिन्न प्रजातिका सयौँ बिरूवा रोपण गरी गणतान्त्रिक बगैँचा स्थापना गरिएको बताउँदै जिल्ला सरकारी वकिल बाबुराम भट्टराईले संरक्षणको कामसमेत निरन्तररूपमा भइरहेको जानकारी दिनुभयो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय बैतडीले ‘एक प्रहरी एक बिरुवा’ रोप्ने अभियान सञ्चालन गरेको छ ।

अभियानअन्तर्गत शनिबार ४०० बिरुवा रोपिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । वातावरण संरक्षण गर्ने उद्देश्यसहित जिल्लामा रहेका ४०० प्रहरीले सरकारी कार्यालय, सार्वजनिक स्थान र खाली रहेका क्षेत्रमा फलफूल तथा जडीबुटीका बिरुवा रोपेका हुन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत २५० प्रहरी र अन्य प्रहरी युनिटमा १५० गरी उक्त सङ्ख्यामा बिरुवा रोपिएका उहाँले बताउनुभयो ।

उक्त अभियानमा बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारी, समन्वय उपप्रमुख धनबहादुर बोहरा, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापालगायतको उपस्थिति थियो ।

वन विनाश र जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्नेदेखि वातावरणीय सन्तुलन बिग्रेकाले वृक्षरोपण गर्न आवश्यक भएकाले बिरुवा रोप्ने यो अभियान सञ्चालन गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताउनुभयो । “प्रहरीले मात्र होइन, सबैले एकएक बिरुवा रोपेर हुर्काउन सके पर्यावरण स्वच्छ राख्न सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो, “यो अभियान मात्र हो, सबै नागरिक जागरुक भएर वृक्षरोपणमा सहभागी भए वातावरणलाई सफा, स्वच्छ, निर्मल राख्नुका साथै भावी पुस्ताका लागि सम्पत्ति बन्नेछ ।”

जेठ अन्तिम साता बैतडी प्रहरी प्रमुख भएर आएका पाण्डेयले जिल्लालाई नमूनायोग्य बनाउने बताउनुभयो । प्रहरी र समुदाय मिलेर मात्र समुन्नत समाजको निर्माण हुने भएकाले सबैसँग हातेमालो गर्दै सामाजिक जिम्मेवारी निभाउने उहाँको भनाइ छ । प्रहरीले शान्ति सुरक्षासँगै समाजको वृहत्तर हितका लागि अन्य सामाजिक उत्तरदायित्व पनि निभाउँदै आएको छ । प्रहरीलाई डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएको हो ।

प्रहरीले चलाएको ‘एक प्रहरी, एक बिरुवा’ अभियानलाई जिल्लाका सरकारी एवं गैरसरकारी संस्थाका कर्मचारीले पनि साथ दिन सके उदाहरणीय काम हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो । बिरुवाको महत्व सर्वसाधारणलाई बुझाउन सके वन विनाश रोकिनुका साथै जलवायु परिवर्तनको असरलाई कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here