सिञ्जा । मुगु जिल्लामा अवस्थित रारा तालको नाम २०२० सालमा तत्कालिन राजा महेन्द्रले भ्रमण गरेपछि महेन्द्र तालमा फेरियो । त्यहाँ बसेर राजा महेन्द्रले तम्बाकुको सर्काे तान्दै ‘रारा कि अप्सरा’ भन्ने कविता पनि लेखे । जब राजा महेन्द्र काठमाडौँ राजदरबार फर्के अनि उहाँले नै रारा कि अप्सरा भन्ने कविता भारदारलाई सुनाए र अन्तिममा आफ्नै कवितालाई चुनौती दिँदै ‘स्वर्गकी अप्सरा रारा’ पनि भन्न भ्याए ।
राजा महेन्द्र काठमाडौँ फर्केपछि त्यतिबेला तालको वरिपरि मानव बस्ती व्यवस्थापनको पिरलोले छोडेन । प्रकृति प्रेमी महेन्द्रले हुटुको पूरै गाउँलाई उठाएर प्राकृतिक सम्पदाको संरक्षण गर्ने योजना बुने र कालान्तरमा हुटु गाउँ कोहलपुरको गावर चिसापानीमा सारियो । भूगोलको प्रचार प्रसार र विकासको क्रमसँगै रारा ताल वरीपरीको सुन्दर भूगोल अहिले राष्ट्रिय निकुञ्ज भएको मात्र छैन । देश विदेशीका लागि सुन्दर पर्यटकीय गन्तव्य पनि भएको छ ।
पछिल्लो समय नाग्मा, सिञ्जाको गोठि ज्यूला र मुगुको गमगढी बजारसम्म राष्ट्रिय सडक सञ्जाल र हवाई यातायात सञ्जालको राम्रो पहुँच हुँदा रारामा आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने गरेको छ ।
नेपालगञ्जबाट करीब दुई दिनको गाडी यात्राबाट मुगुको झ्यारी सल्लेरी भन्ने ठाउँमा पुगिन्छ । त्यस ठाउँबाट ‘स्वर्गकी अप्सरा’ रारा ताल घोडाबाट आधा घण्टामा पुगिन्छ । रारा राष्ट्रिय निकुञ्जको पछिल्लो एघार महीनाको तथ्याङ्कानुसार १५ हजार बढी आन्तरिक तथा बाह्य पर्यटक रारा अवलोकन गर्न आएका छन् ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख लालबहादुर भण्डारी गत वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राराको भ्रमण गरेपछि पनि पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको बताउनुहुन्छ । भण्डारी राराको सुन्दरता हेर्न आउनेको सङ्ख्या बढे पनि उचित पूर्वाधार नहुँदा पर्यटकलाई सुविधा दिन नसकिएको स्वीकार गर्नुहुन्छ । रारा आउने पर्यटक विशेष गरी काठमाडौँ, कास्की, इलाम, मोरङ, बाँके, सुनसरी धनकुटा, सप्तरी, धनुषा, जुम्ला, कालीकोट र सुर्खेतबाट सडक तथा हवाई मार्गबाट आउने गरेको बताइएको छ । यस वर्ष पर्यटक बढेको भण्डारी जिकिर गर्नुहुन्छ । रारा राष्ट्रिय निकुञ्जमा पर्ने ५ किमी लम्बाइ, ३ किमी चौडाइ र १६७ मिटर गहिराइको रारा तालले दिनमा तीन किसिमको रङ बदल्छ । तालको रङ बिहान कालो, दिनमा आकाशे रङ नीलो र बेलुका सेतो हुन्छ ।
कर्णाली प्रदेशले २०७५ लाई पर्यटन वर्ष घोषणा गरेयता निकै पर्यटकको घुइँचो बढेको छ । पर्यटकलाई राम्रो व्यवस्था भने गर्न नसकिएको स्थानीयवासी मछिन्द्रप्रसाद उपाध्याय गुनासो गर्नुहुन्छ । “होमस्टेका नाममा ठग्ने काम भएको छ”, उहाँ भन्नुहुन्छ, “यस्ता कुरामा नियन्त्रण गर्न सकेको खण्डमा यात्रुले दुःख त पाउँदैनन् नै यस क्षेत्रको पनि ठूलो प्रचारप्रसार हुन गई कायापलट नै हुने सम्भावना देखिन्छ । हामीले संसारै लोभिने किसिमको प्राकृतिक खजाना पाएका छाँैं, यस खजानासम्म पुग्न खान, बस्न राम्रो सुविधाका लागि या त सरकारले नै पूर्वाधार बनाइदिनुपर्छ या त यस्ता कार्यलाई प्रोत्साहनका लागि निजी क्षेत्रलाई हौस्याउनुपर्छ । यस्तो हुन सकेको खण्डमा स्थानीय तहले यही रारा देखाएर पूरै क्षेत्रको कायापलट गर्न सक्छ भन्ने मलाई महसुस भएको छ ।”
कोहलपुर नगरपालिका– ५ का पदम आचार्यले उल्टै होटेल व्यवसायीले व्यवस्था नगरेको गुनासोसमेत गर्नुभयो । व्यवस्था राम्रो भए एक वर्षमा लाखौँ पर्यटक आउने विश्वास उहाँको छ । रारा घुम्न आउनुभएका नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पसका प्रा डा गोपालप्रसाद शर्मा अधिकारी भन्नुहुन्छ, “रारा प्रकृतिको अनुपम खजाना हो । यो खजानालाई राज्यले अझ राम्रोसँग प्रयोग गर्न सकेको छैन ।”
रारा राष्ट्रिय निकुञ्जमा रहेको तालबाहेक यसका वरिपरि विभिन्न बहुमूल्य वनस्पति र वन्यजन्तुबाट पनि पर्यटकले मनोरञ्जन लिन सक्ने हुँदा यसको थप सुन्दरतामा निखार ल्याउन पूर्वाधार निर्माण गर्न राज्य हिच्किचाउन नहुने स्थानीयवासी बताउँछन् ।