अध्यागमनको कर्मचारी विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा ललितकुमार झाले पदीय मर्यादा विपरीतकार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा निज विरुद्ध आरोप पत्र दायर गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत झा मुखियाको पदबाट सार्वजनिक सेवामा प्रवेश गरी पदोन्नति हुँदै सोही कार्यालयमा नायब सुब्बाको पदमा कार्यरत रही हाल इलाका प्रशासन कार्यालय बर्दिवास महोत्तरीमा कार्यरत छन् ।

निजको सार्वजनिक सेवामा प्रवेशदेखि हालसम्मको आयव्यय विश्लेषण गरी हेर्दा जम्मा रु दुई करोड २८ लाख ६४ हजार २०८ आर्जन गरेको देखिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ । तर सो अवधिमा निजले आफू र परिवारको नाममा आर्जन गरेको सम्पत्ति, छोराछोरीको शिक्षामा गरेको लगानी र मौज्दात रु तीन करोड ८५ लाख ४३ हजार २३४ देखिएको आयोगले जनाएको छ ।

निजको वैध आय बाहेक रु एक करोड ५६ लाख ७९ हजार २६ बराबरको स्रोत नखुलेको सम्पत्ति विवरण अमिल्दो एवं अस्वाभाविक देखिएको र कसुर गरेको पुष्टि हुन आएकाले आयोगले झा उपर बिगो रु एक करोड ५६ लाख ७९ हजार २६ कायम गरी निजकी श्रीमती सुचितादेवी झा समेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कार्यकारी अधिकृत रेग्मीविरुद्ध आरोपपत्र

आयोगले आजै सङ्खुवासभाको चैनपुर नगरपालिकाका कार्यकारी अधिकृत उत्तम रेग्मीविरुद्ध पनि आरोप पत्र दायर गरेको छ । रेग्मीले नगरपालिकाको विकास बजेटबाट सो कार्यालयमा कार्यरत कर्मचारीको नाममा अनियमित रूपमा रु सात लाख छ हजार ९०९ झिकी हिनामिना गरेको अभियोग छ ।

आयोगले रेग्मीसहित मतियारको कार्य गर्न संलग्न रहेका हिमालयन इन्स्टिच्युट अफ टेक्नोलोजी कम्पनीका सञ्चालक यज्ञप्रसाद ढकाल, इन्स्टिच्युट अफ रिसर्च एण्ड डेभलपमेन्टका सञ्चालक दुर्गाप्रसाद दाहाल तथा एभरेष्ट टेक्नोलिङस प्रालिका सञ्चालक अञ्जिता गौतमले समेत भ्रष्टाचार कसुर गरेको देखिएकोले कानूनबमोजिम सजाय माग दाबीका साथ विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

त्यस्तै आयोगले सुर्खेतको लेकवेँशी नगरपालिका–७ स्थित श्री आदर्श माध्यामिक विद्यालयको रु दुई लाख अठतीस हजार ५३० रकम नक्कली कागजातका आधारमा झिकी हिनामिना गरेको अभियोगमा तीन जनाविरुद्ध पनि आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ

प्रधानाध्यापकको प्रशासनिक जिम्मेवारी समेत सम्हालेका भीमबहादुर ज्ञामी, तत्कालीन खातावाला तथा लेखा शिक्षक भक्तबहादुर ज्ञामी तत्कालीन स्रोत व्यक्ति दलबहादुर सिंहको मिलेमतोमा सो रकम हिनामिना गरिएको आयोगले जनाएको छ । आजै पर्साको वीरगञ्जस्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयमा करार निमावि शिक्षकका रुपमा कार्यरत कासिम अन्सारीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अध्यापन गरिरहेको देखिएकाले अन्सारी विरुद्ध पनि सजाय माग दाबीका साथ विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here