तेल उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पती प्रालिमा आज बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो ।

बिहान २ः३० बजेदेखि शुरु भएको आगलागीलाई बारा पर्साको विभिन्न स्थानबाट आएको बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले नियन्त्रण गर्ने प्रयासमा लागेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले आगोलाई नियन्त्रण गर्न वीरगञ्ज, पोखरीया, सिमरा, अमलेखगञ्ज कलैयाबाट बारुणयन्त्र बोलाइएको बताउनुभयो ।

तेलमा लागेको आगोलाई नियन्त्रण गर्न फम नामक रसायनको प्रयोग बारुणयन्त्रकर्मीले गरे पनि फमको उपलब्धता काम भएकाले नियन्त्रणमा समस्या देखिएको प्रजिअ भट्टराईले जानकारी दिनुभयो । उहाँले वीरगञ्जमा फम नभेटिएको कारण भारतको मोतिहानी तथा काठमाडौँबाट मगाइने प्रयास भइरहेको बताउनुभयो ।

आगलागीबाट हुने क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । राति उद्योगमा कोही नभएको बेला बिजुलीको तारमा सर्ट भई आगलागी भएको हुन सकिने प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here