पोखरा । अन्नपूर्ण क्षेत्रमा पदयात्रामा जाने पर्यटकको सुरक्षालाई दृष्टिगत गरी अन्नपुर्ण पदमार्गको माछापुच्छ«े आधारशिविरमा उद्धार केन्द्र स्थापना गरिएको छ ।
कोरिया टेलिकमको आर्थिक सहयोगमा अम हो गिल ह्युमन फाउण्डेशन कोरिया र नेपाल पर्वतारोहण संघको संयुक्त प्राविधिक सहयोगमा उद्धार केन्द्र स्थापना गरिएको हो ।
आधारशिविरमा स्थापना गरिएको केन्द्रमा पर्यटकलाई उद्धार गर्नका लागि आवश्यक सूचना लिन ड्रोन समेत राखिएको छ ।
पदयात्रामा रहेका पर्यटक बाटो बिराएर अलमलमा परेमा, कतै हराए, बिरामी परे, लडेर घाईते भए, हिउँमा पुरिने लगायतका समस्या परे सो ड्रोनले पर्यटकको अवस्था पत्ता लगाइ उद्धार गर्न सहज हुने नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामाले जानकारी दिएका छन् ।
यसका लागि पदयात्रामा जानेहरुलाई एउटा डिभाईस दिईने र सो डिभाईस सिधै केन्द्रमा रहेको कम्प्युटरसँंग ट्रयाकिङ गरिने विधि जडान गरिएको छ । अन्नपुर्ण आधार शिविरमा मात्रै वार्षिक रुपमा ६० हजार बिदेशी र २ लाख ५० हजारभन्दा बढी स्वदेशी पर्यटकहरु जाने गरेका छन् ।
अकस्मात हुने मौसम परिवर्तनले हिउँ, बर्षा हुँदा पदयात्रामा गएका पर्यटकले सास्ती भोग्नु परेको घटनालाई आधार मानेर यो कार्य सुरुवात गरिएको हो । गत दुई वर्ष अघि अन्नपूर्ण क्षेत्रमा अकस्मात हिउँपर्दा हिउँमा पुरिएर पाँच जना विदेशी पर्यटकको मृत्यु भएको थियो र प्रविधिको अभावमा अलपत्र परेका ती पर्यटकको समयमै उद्धार हुन सकेको थिएन ।