शुद्ध बन्यो त्रियुगाको पानी

उदयपुर । केही वर्षअघिसम्म नदी किनार वरपर फोहरमैला जम्मा गर्ने र फोहर फाल्ने तथा मनपरी दिसा, पिसाव गर्ने कारण दुर्गन्धित हुने गरेको त्रियुगा नगरपालिकास्थित गाईघाट क्षेत्रको त्रियुगा नदी अहिले स्वच्छ बनेको छ ।

नदीको पानी पिउनयोग्यसमेत बन्न पुगेको छ । पाँच वर्षअघि नै नगरपालिका क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएपछि नगरपालिकाको अगुवाइमा त्रियुगा नदी सरसफाइ अभियान तीव्ररुपमा सञ्चालन गर्दै आएको र जताततै फोहर गर्ने कार्यलाई निगरानी गर्ने र रोक लगाएपछि अहिले यस नदीको पानी स्वच्छ र पिउनयोग्य बन्न पुगेको छ ।

प्रत्येक महिना पहिलो हप्ता र अन्तिम हप्ता जनप्रतिनिधिको नेतृत्वमा त्रियुगा नदी क्षेत्र आसपास सरसफाइ अभियानलाई निरन्तर जारी राखेपछि अहिले नदीको पानी ५० वर्ष अगाडिको जस्तै स्वच्छ र सफा बन्न पुगेको नगरपालिकाका प्रमुख बलदेव चौधरीले बताउनुभयो । अब त्रियुगा नदी ५० वर्षअघिको अवस्थामा नै स्वच्छ भएर फर्कन पुगेका कारण अब यो स्वच्छतालाई सबैले कायम राख्न सबैले सहयोग गर्नुपर्ने धारणा राह्नुहुन्छ ।

त्रियुगा शान्तिधाम व्यवस्थापन समिति गाईघाटका अध्यक्ष गिरिराज खतिवडा भन्नुहुन्छ, “त्रियुगा नदी हिजो बाजे पुर्खाको पालादेखि पवित्र धाम पनि हो, विगतमा नदी क्षेत्र धेरै नै फोहर र पानी प्रदूषित बन्न पुगे पनि अहिले सरसफाइ अभियानबाट नदीको पानी स्वच्छ र नदी क्षेत्र सफा बनेको छ भने नदीको पानीले नुहाउन र नदीको जल विभिन्न शिवमन्दिरमा लगेर जल चढाउन सकिने भएको छ ।”

केही वर्षअघिसम्म यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दा नै त्रियुगा नदी आसपास किनार क्षेत्रमा जाने र फोहर गर्ने, दिसा, पिसाव गर्ने तथा गाईघाट बजार क्षेत्रका फोहर फाल्ने डम्पिङ स्थल बन्न पुग्दा त्रियुगा नदी क्षेत्र र नदीको पानी फोहर र प्रदूषित बन्न पुगेको त्रियुगा नगरपालिका–१२ दुर्गाटोलका रत्नप्रसाद पोखरेल बताउनुहुन्छ । अहिले त्रियुगा नगरपालिकाको सक्रियतामा प्रत्यक महिना दुईपटक नदी सरसफाइ गर्ने र यस क्षेत्रमा फोहरमैला तथा दिसा, पिसाव गर्न प्रतिबन्ध गर्ने र त्रियुगा नगरपालिकाले दैनिक अनुगमन गर्ने कार्य शुरु गरेपछि अब त्रियुगा नदी क्षेत्र स्वच्छ बन्न पुगेको र नदीको पानी स्वच्छ बनेको त्रियुगा नगरपालिकाकी उपप्रमुख देवीकुमारी चौधरीले बताउनुभयो ।

त्रियुगा नगरपालिका वडा नं ११ का ६८ वर्षीय चञ्चलाल बोट पनि त्रियुगा नदी स्वच्छ र सफा बनेपछि खुशी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हिजो हामी सानो छँदा त्रियुगा नदीको पानी स्वच्छ थियो, यस क्षेत्रमा जनसङ्ख्या कम थियो, हामी नदीको पानी खाने र नदीमा नै नुहाउने गर्दथ्यौँ । पछि यस क्षेत्रमा जनसङ्ख्या वृद्धि भएपछि नदी किनार क्षेत्र फोहर र पानी पनि दुर्गन्धित बन्न पुग्यो । नगरपालिकाको पहलमा तीन वर्षदेखि नदी सरसफाइ अभियानलाई निरन्तरता दिएपछि अब नदी क्षेत्र र नदीको पानी स्वच्छ बन्न पुगेको छ ।”

स्थानीय चूडामणि काफ्लेका अनुसार अहिले त्रियुगाको पानीले नुहाउन सकिने, पिउन सकिने र मठमन्दिरमा लगेर भगवान्को मूर्तिमा चढाउन सकिने बन्न पुगेको कारण सरसफाइको प्रभावकारीता बढेको काफ्लेले बताउनुभयो । जथाभावी फोहर फाल्ने र दिसा, पिसाव गर्ने कार्यले प्रदूषित बन्न पुगेको नदीलाई स्वच्छ राखेर पुरानै अवस्थामा ल्याउने कार्यलाई स्थानीयवासीले समेत सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here