काठमाडौँ । सन् २०१९ मा बजेट नभएर र गत वर्ष बजेट भएर पनि कोरोना सङ्क्रमणका कारण हुन नसकेको एक सिँगे गैँडाको राष्ट्रिय गणना यो वर्ष भने हुने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार राष्ट्रिय गैँडा गणना यस वर्ष चैत ९ गतेदेखि थालिने भएको छ । विभागका इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार चिवतन पर्सा कलष्टरमा आगामी चैत ९ गतेबाट यस कार्यको शुभारम्भ गरिने भएको छ । गैँडा पाइने अरु दुई वटा राष्ट्रिय निकुञ्ज बर्दिया र शुक्लाफाँटामा चैतको दोस्रो हप्ताबाट सुरु गरिने जानकारी आचार्यले दिए ।

नेपालमा पर्सा, चितवन, बर्दिया र शुक्लाफाँटामा गरी चार वटा संरक्षित क्षेत्रमा एक सिँगे गैँडा पाइने गरेका छन् । चितवन र पर्सामा एकै साथ गैँडा गणना गरिँदै छ भने बर्दिया र शुक्लामा फरक फरक समयमा गणना थालिनेछ ।
पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुर क्षेत्र र चितवन राष्ट्रिय निकुञ्जमा एकै पटक गणना गरिने कार्यक्रम रहेको इकोलोजिष्ट आचार्यले बताए । चितवन राष्ट्रिय निकुञ्जमा चारै तर्फ गैँडाको बासस्थान भएपनि पर्सामा भने प्रतापपुर क्षेत्रमा गैँडा देखिने गरेका छन् । बर्दियामा कर्णाली नदी क्षेत्रमा देखिने गैँडा र शुक्लफाँटामा सीमित क्षेत्रमा देखिने भएकाले बर्दिया र शुक्लफाँटामा केही समय पछि गणना सुरु गरिने भएको हो ।

महानिर्देशक डा. दिपक खराल
विभागका महानिर्देशक डा. दिपक खरालका अनुसार चैत महिना भरीमा गणना सकेर बैशाखको पहिलो साता गणनाबाट प्राप्त गैँडाको संख्या सार्वजनिक गरिने कार्यक्रम छ । महानिर्देशक खरालले नेपालकथासँग भने, अहिलेको मौसम उपर्युक्त छ । निर्धारिम समयभित्रै गणनाको कार्य सम्पन्न गरेर नेपालले एक सिँगे गैँडाको संख्या सार्वजनिक गर्नेछ ।
यस अघि किन रोकिएको थियो गणना ?
सन् २०१८/२०१९ मा नेपाल सरकारले गैँडा गणनाका लागि पर्याप्त बजेट विनियोजन गरेको थिएन । तत्कालिन विभागका महानिर्देशक मनबहादुर खड्काले अर्थ मन्त्रालयका गैँडा गणनाका लागि बजेट व्यवस्थापनका लागि दर्जनौँ पटक फायल पुर्याए तर अर्थ मन्त्रालयका अधिकारीहरु गैँडा गणनाका लागि थप बजेट दिन मन्जुर नभएपछि सो कार्य सम्पन्न हुन नसकेको हो ।

संरक्षण साझेदार संस्थाहरुले विभागलाई सहयोग गर्ने बचन दिएपनि महानिर्देशक खड्काले सबै खालका काममा दाताको मुख ताकेर काम गर्न उचित नभएको निष्कर्षमा पुगेर नेपालको गैँडा गणनाका लागि दातासँग हात नथाप्ने बरु अर्काे वर्ष गर्ने निर्णय गरेका थिए ।
गत वर्ष गणनाका लागि सरकारले बजेट विनियोजन गर्यो । फिल्डमा चाहिने आवश्यक सामान तथा उपकरण खरिद गरियो र चैत ११ गतेबाट चितवन पर्सा कलष्टरमा गणनाका तयारी भइरहेको बेला चैत १० गतेबाट कोरोनाको प्रभाव रोक्न सरकारले लकडाउन गर्यो । लकडाउनका कारण गत वर्ष तयारी पूरा भएर पनि अन्तिम अवस्थामा गणनाका काम स्थगित गर्नु पर्यो ।
कसरी गरिन्छ त गैँडाको गणना ?

गणनामा प्रत्यक्ष सहभागी हुने प्राविधिक कर्मचारी, हात्तीका माउते तथा गणकलाई तालिम दिइन्छ । विभागले त्यसका तयारी गरिरहेको विभागका इकोलोजिष्ट आचार्यले जानकारी दिएका छन् । गणनामा दुई सयबढी कर्मचारी परिचालन हुने छन् । जसमध्ये १५० हाराहारी चितवन ब्लकमा परिचालन हुनेछन् । यस क्षेत्रमा गणनामा ४० हात्ती परिचालन गरिनेछ । बर्दिया र शुक्लाफाँटामा भने सात/आठवटा हात्ती परिचालन गर्दा पनि पुग्ने भएकाले सोही अनुसार योजना बनाइएको आचार्यले बताए ।
गैँडा पाइने क्षेत्रको पहिचान गरी ती क्षेत्रलाई बिभिन्न भागमा बाँडेर हात्तीका सहायताले स्वीप अपरेसन विधिले गणना गर्ने गरिन्छ । यो विधिमा प्रत्येक गैँडालाई आँखाले देखेर मात्र (हेड टु हेड काउन्ट) गणना गरिने भएकाले हात्तीका माउते, निकुञ्जका कर्मचारी, गणक लगायतका सहभागी व्यक्तिहरुले गैँडाको पहिचानमा सतर्कतापूर्वक ध्यान दिनु जरुरी ठानिन्छ । हात्तीको सहयोगमा गणक तथा प्राविधिकहरुले क्यामरा, दुरविन लगायतका उपकरणबाट गैँडाको पहिचान गर्ने गरिन्छ ।
सहयोगीको सहयोग यथावत
सदा झैँ यो वर्षको गैँडाको राष्ट्रिय गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जेडएसएल नेपाललगायत सङ्घसंस्थाको सहयोग यथावत रहेको इकोलोजिष्ट आचार्यले जानकारी दिए । उनले भने, विभागलाई आवश्यकता अनुसार संरक्षण साझेदार संस्थाहरुले आर्थिक, प्राविधिक सहयोग गर्दै आएका छन् । यो पटक पनि आवश्यकता अनुसार सहयोग हुने भएको छ ।
के छ प्रक्षेपण ?
सन् २०१५ मा भएको गैँडा गणनामा चितवनमा सबैभन्दा बढी गैँडा गणना भएका छन् । कुल ६४५ गैँडा मध्य चितवनमा मात्र ६०५ गैँडा रेकर्ड भएका थिए । त्यसैले गैँडाको लागि जे हो चितवन नै हो भन्ने गरिन्छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका भनाईमा चितवनमा प्राकृतिक कारणले गैँडा मर्नेको संख्या पनि धेरै भएकाले ठूलो मात्रामा गैँडा बढेको नदेखिन सक्छन् । जन्म भन्दा मृत्युको संख्या बढी भयो भने त यो पटकको गणनामा संख्या धेरै वृद्धि नहुन पनि सक्छ । अर्काेतिर चितवनमा लगातार दुई वर्षको बाढीले गैँडा बगाएर लगेको यथार्थता पनि छ ।
बर्दियामा बबई उपत्यकामा गैँडाको संख्या खासै देखिएको छैन भने शुक्लाफाँटामा त नियमित अनुगमनबाट गैँडाको संख्या एकिन जस्तै भइरहेको बताइएको छ । त्यसैले चितवनमा कालगतिले मर्ने गैँडाको संख्या पछिल्ला वर्षमा वृद्धि हुनु, बाढीले बगाएर लग्नु जस्ता कारणले चितवनमा गैँडाको संख्या धेरै बढ्न नसके यस पटकको गणनामा सन् २०१५ कै हाराहारी गैँडाको संख्या भए अचम्म मान्नु नपर्ने अवस्था आउन सक्छ ।


























